२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

जसपा घोषणापत्रः महानगरमा रेलदेखि शौचालय बनाउन अनुदानसम्म

जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र जारी गर्दै सबै पालिकामा स्थानीय विशिष्टताका आधारमा चक्रपथ निर्माण गर्ने र सबै महानगरपालिकामा नगर रेल सेवा सुरु गर्न सम्भाव्यता अध्ययन गर्ने प्रतिबद्धता जनाएको छ। साथै सबै पालिकामा एउटा बसपार्क बनाउने पनि घोषणा गरेको छ।

शुद्ध पिउने पानीको सुविधा नपुगेका घरबस्तीमा खानेपानी सुविधा पुर्‍याउने भन्दै सार्वजनिक खानेपानी आयोजनाबाट वितरित खानेपानीको बिलमा २०० रूपैयाँसम्म निःशुल्क गर्ने पार्टीले प्रतिबद्धता गरेको छ। घोषणापत्रमा भनिएको छ, ‘आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न १० हजार रूपैयाँ अनुदान दिइनेछ।’

जसपाले नगरका सबै वडा कार्यालय, स्कुलहरू तथा अस्पताल क्षेत्रमा पहिलो वर्षमै र टोलटोलमा क्रमशः इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ। पार्टीले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्ने घोषणा गरेको छ। घोषणापत्रमा भनिएको छ, ‘एकल, असहाय वा परिवारबाट उपेक्षित ज्येष्ठ नागरिकका लागि स्याहारसुसार गर्ने व्यवस्थासहितको विशेष आवास गृहको निर्माण गरिनेछ र हरेक वडामा एकएक ज्येष्ठ नागरिक भेटघाट कक्ष बनाइनेछ।’

वडा र पालिका कार्यालयहरूलाई आधुनिक प्रविधियुक्त बनाउन सबै कर्मचारीलाई न्यूनतम कम्प्युटर शिक्षाको तालिम दिने पार्टीले जनाएको छ। सेवाग्राहीहरू वडा तथा पालिका केन्द्रसम्म आइपुग्न एक घन्टाभन्दा बढी पैदल यात्रा गर्नुपर्ने भए जन्म, मृत्यु, विवाह दर्ताजस्ता आधारभूत सेवा घरघरमा गएर दिइने पार्टीले जनाएको छ।

टाढाका टोलबस्तीमा भने घुम्ती सेवा शिविर सञ्चालन गर्ने पार्टीले जनाएको छ। जसपाले भ्रष्टाचारमा शून्यसहनशीलता कायम गर्ने प्रतिबद्धता जनाएको छ। सरकारी कर्मचारी, राजनीतिक नेतृत्वले भ्रष्टाचार गरेको प्रमाण भेटिए तुरुन्त कानुनी कारबाही गर्ने जसपाको प्रतिबद्धता छ। पार्टीले मनोरञ्जन तथा सामाजिक क्रियाकलापका लागि पार्कहरू बनाउने र ठाउँठाउँमा यथेष्ट खुला ठाउँ राख्ने जनाएको छ। साथै सार्वजनिक जग्गाको संरक्षण गर्ने पार्टीले प्रतिबद्धता गरेको छ।

जसपाले माध्यमिक विद्यालय तहसम्मको शिक्षालाई व्यावहारिक रूपमा नै निःशुल्क बनाउने बताएको छ। एक पालिका एक मोडल स्कुलको अवधारणालाई कार्यान्वयन गर्नेसमेत पार्टीले जनाएको छ। ‘आधारभूतभन्दा माथिल्लो तहमा अंग्रेजी, नेपाली र कम्तीमा एक प्रादेशिक भाषासहित बहुभाषिक नीति लागु गरिनेछ,’ घोषणपत्रमा भनिएको छ, ‘विद्यालय र घरबस्तीको दूरी एक घन्टाभन्दा बढी भएका विद्यार्थीहरूका लागि विद्यालय हाताभित्रै होस्टल निर्माण अभियान प्रारम्भ गरिनेछ।’

हरेक गाउँपालिकाहरूका केन्द्रमा कम्तीमा विशेषज्ञ सेवासहितको एउटा स्वास्थ्य संस्था, स्वास्थ्य प्रयोगशालाको व्यवस्था तथा प्रत्येक पालिकामा गर्भवती महिलाका लागि ‘बर्थिङ सेन्टर’ स्थापना गर्ने पार्टीले प्रतिबद्धता गरेको छ। नगर, उपमहानगर तथा महानगरपालिकाहरूमा जनसंख्याको अनुपातमा बहुविशेषज्ञ सेवासुविधासहितको अस्पताल स्थापना गर्ने पार्टीले जनाएको छ।

पाँच वर्षभित्र सबै स्तरका पालिकाहरूका नागरिकको स्वास्थ्य बिमा गर्ने जसपाको घोषणा छ। साथै अति विपन्न वर्गहरूको हकमा त्यस्तो बिमा शुल्क स्थानीय तहले उपलब्ध गराउने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ। हरेक बिहान र बेलुका एकएकपटक सबै वडा कार्यालयबाट नगरपालिकाको कार्यालय आउन र जान निःशुल्क नगर यातायात सेवा सञ्चालन गर्ने पार्टीले जनाएको छ।

‘गर्भवती, १० वर्षमुनिका बालबालिका र ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई एम्बुलेन्सलगायत नगरभित्र चल्ने यातायात सेवामा भाडा लाग्नेछैन,’ घोषणापत्रमा भनिएको छ, ‘नगरभित्र चल्ने यातायात सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरिनेछ ।’ दलित, अल्पसंख्यक, शारीरिक अपांगता भएका व्यक्तिले उत्पादनमूलक तथा रोजगारीमूलक उद्यम गर्न १ करोडसम्मको ऋणको ब्याजमा ५ प्रतिशतभन्दा माथि ब्याज अनुदान दिने पार्टीले जनाएको छ।

जसपाले स्थानीय तहको चुनावका लागि पार्टीका नारा ‘स्थानीय तहलाई भ्रष्टाचार मुक्त बनाऔं विकास र समृद्धिको अभियान अघि बढाऔं’, ‘पहिचान, संघीयता, सुशासन र सदाचार, स्थानीय सरकार समृद्धिको मूल आधार’ लगायत तय गरेको छ।

प्रकाशित: ८ वैशाख २०७९ ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App