२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

सत्ता गठबन्धनमा भागबन्डा

सत्तारूढ पाँच राजनीतिक दल स्थानीय तह निर्वाचनमा भागबन्डालाई अन्तिम रूप दिने कसरतमा जुटेका छन्। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन मिति नजिकिँदै आएका बेला सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा नेपालका शीर्ष नेता भागबन्डामा सहमतितर्फ उन्मुख भएका हुन्।

नगरपालिका, गाउँपालिकामा उम्मेदवार टुंगो लगाउने जिम्मा गठबन्धनमा रहेका दलका तल्ला निकायलाई नै छाडेका शीर्ष नेताहरूले ६ महानगरपालिका भने भागबन्डा गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको शीर्ष नेताहरूको बैठकमा कांग्रेसले तीन महानगरपालिकामा नेतृत्वका लागि उम्मेदवारी दिने सहमति भएको छ।

सहमतिअनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा मेयरको उम्मेदवार उठाउनेछ। काठमाडौंको उपमेयरमा नेकपा एस, ललितपुरको उपमेयरमा माओवादी केन्द्र र विराटनगरको उपमेयरमा जसपाले उम्मेदवारी दिने सहमति भएको छ।

भरतपुर, पोखरा र वीरगन्ज महानगरपालिकाको नेतृत्व गठबन्धनमा रहेका अन्य दलले लिने भएका छन्। भरतपुर महानगरपालिकाको मेयरमा माओवादीले उम्मेदवारी दिने सहमति भएको छ।

चितवनका कांग्रेस नेता तथा कार्यकर्ताले भरतपुर महानगरको मेयर नछाड्न केन्द्रीय नेतृत्वलाई दबाब दिए पनि अन्तिममा माओवादीलाई नै छाड्न नेतृत्व तयार भएको हो। भरतपुरको उपमेयरमा कांग्रेसले उम्मेदवारी दिनेछ। पोखरा महानगरपालिकाको मेयरमा नेकपा एसले उम्मेदवारी दिनेछ। पोखरामा पनि कांग्रेसले उममेयरमा चित्त बुझाएको छ। वीरगन्ज महानगरको नेतृत्वका लागि जसपाले उम्मेदवारी दिनेछ। त्यहाँको उपमेयर पनि कांग्रेसले पाएको छ।

११ उपमहानगरपालिकाका मेयर र उपमेयरको भागबन्डा पनि अन्तिम चरणमा पुगेको छ। सरकारको नेतृत्व गरेको कांग्रेसले पाँच उपमहानगरपालिकाको नेतृत्व पाउने भएको छ। बाँकी उपमहानगरपालिकाको नेतृत्व सत्ता गठबन्धनमा रहेका अन्य दलले पाउने छन्। कांग्रेसले कलैया, धनगढी, धरान, बुटबलसहित र माओवादीले घोराही र नेपालगन्ज वा जितपुर–सिमराको नेतृत्व लिनेछन्।  नेकपा एसले इटहरी, हेटौंडा र तुलसीपुरमध्येबाट दुई तथा जसपाले घोराही, जनकपुर र नेपालगन्जमध्येबाट दुईवटामा मेयर पाउने छन्।

गठबन्धनमा रहेकामध्ये चार दलले जितपुर–सिमरा, घोराही, तुल्सीपुर, हेटौंडा, इटहरी, बुटवल र नेपालगन्जमध्ये कम्तीमा एक/एक भागबन्डा गर्ने सहमति भएको एक नेताले जानकारी दिए। ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा भागबन्डा करिबकरिब सहमतिनजिक पुगेको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

प्रकाशित: ७ वैशाख २०७९ ०२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App