खानेपानीमन्त्री उमाकान्त चौधरीले आउँंदो वैशाख ११ गतेभित्र काठमाडौं उपत्यकाभित्र मेलम्चीको खानेपानी वितरण सुरु गर्ने प्रतिबद्धता जनाएका छन्। त्यसका लागि गएको चैत्र २९ गते काठमाडौं उपत्यकामा पानी पथान्तरण गरिसकिएको जानकारी उनले गराए।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७ औं वार्षिकोत्सव कार्यक्रमको सोमबार राजधानीमा उद्घाटन गर्दै मन्त्री चौधरीले मेलम्ची खानेपानीको पहिलो चरणको कार्य सम्पन्न भई २०७७ साल र्चैत्र १५ बाट क्रमिक रुपमा पुरानो र नयाँ दुवै प्रणालीबाट वितरण कार्य सुरु गरिएकोमा २०७८ असार १ र त्यसपछिको प्राकृतिक प्रकोपका कारण आयोजनामा गम्भीर क्षति पुगी आयोजना सञ्चालनमा अवरुद्ध भएको बताए।
मेलम्ची खानेपानीको विकल्पको रुपमा मन्त्रालयले सिस्नेरी, ठोस्ने र महादेव खोला जलाशययुक्त आयोजना अध्ययन गरिरहेको बताउदै उनले खानेपानीको मुहान संरक्षण र व्यवस्थापन गर्दै लानुपर्नेमा जोड दिए।
कार्यक्रमका सभापति काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मेलम्चीको पानी वैशाखभित्रै भक्तपुरमा पठाउनुपर्ने माग राखे। मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बोर्डले मेलम्चीको पानीको विकल्पको रुप सिस्नेरी आयेजनालाई अगाडि ल्याएको बताए। खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मेलम्चीबाट पानी पथान्तरणको कार्य हाल पूरा भएकोले उपत्यकाभित्र खानेपानी वितरणमा थप सहजता हुने बताए।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले उपत्यकाको खानेपानी संवेदनशीलता एवम् आम उपभोक्ताको हितलाई प्राथमिकतामा राखी बोर्डले सेवा प्रदायक काठमाडौं उपत्यका खानेपानी लिमिटेडमार्फत मौजुदा उत्पादन तथा वितरण प्रणाली, चुहावट नियन्त्रण, गुणस्तर, स्रोत परिचालन, मुहान संरक्षण, सरसफाई व्यवस्थापन एवम् सुधारलगायतका कार्यहरुमा सहकार्य गर्दै आइरहेको बताए।
प्रकाशित: ५ वैशाख २०७९ १३:३४ सोमबार





