८ वैशाख २०८१ शनिबार
राजनीति

सुनकोसी गाउँपालिकामा कांग्रेसले गठबन्धन नगर्ने

सुनकोसी गाउँपालिकास्थित नेपाली कांग्रेसले गठबन्धन अस्विकार गर्ने भएको छ। गठबन्धन विना नै नेपाली कांग्रेस बलियो पार्टी रहेको भन्दै गाउँपालिका भित्रका सात वटै वडाका सभापतिहरुको भेलाले गठबन्धन नगर्ने निर्णय लिएको हो।

जिल्लास्थित गठबन्धन भित्रका दलहरुले गठबन्धन गर्ने भन्दै पहिलो चरणको बैठक गरी गठबन्धनको विरोधमा अभिव्यक्ति नदिन निर्देशन गरेपनि सुनकोसी गाउँपालिका नेपाली कांग्रेसका सभापतिहरु गठबन्धनको विपक्षमा उभिएका हुन्।

सात वटा वडामध्ये वडा नं. ५ का सभापति अर्जुनविक्रम थापा जेष्ठ रहेकाले थापाकै सभापतित्वमा सात वटै वडाका सभापतिहरुको सयुक्त बैठक बसि गठबन्धन आवश्यक नरहेको ठहर गरेको हो।

हाम्रो गाउँपालिका तथा वडामा कुनै पनि पार्टीसँग गठबन्धन नगरी वडा तथा गाउँपालिकामा एकल उम्मेदवार हुनेछ, वडा नं. १ का कांग्रेस सभापति रामकुमार श्रेष्ठले भने, हामी गठबन्धन गर्दैनौ, त्यो जानकारी जिल्ला प्रदेश सबैतिर पठाउने तयारी गरेका छौँ। उनले सुनकोसी गाउँपालिकामा कांग्रेस एक्लै बलियो पार्टी भएकाले गठबन्धन नगर्ने निर्णय वडा सभापतिहरुको भएको बताए।

नेपाली कांग्रेसको तर्फबाट सुनकोसी गाउँपालिका अध्यक्षका आकांक्षी उम्मेदवार रहेका कपिल कोइरालाले गठबन्धन बिनै गाँउपालिका कांग्रेसले जित्न सक्ने थुप्रै आधार रहेको बताए। आगामी वैशाख ३० गते सम्पन्न हुने भनिएको स्थानिय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन गर्ने केन्द्रीय निर्णय भएपनि सुनकोसी गाउँपालिका भित्रका सबै वडाहरु त्यसको पक्षमा नदेखिएकाले एकल लड्ने तयारी भएको उनले बताए।

यसअघि २०७४ सालको निर्वाचनमा गाउँपालिका प्रमुख उपप्रमुखमा माओवादीले जित हासिल गरेको भएपनि यसपटक माओवादीको मतदाता कमजोर रहेको कांग्रेसको दाबी छ। माओवादीको मतदाता एमालेमा प्रवेश धेरै गरेका छन्, हामी ०७४ को निर्वाचनमा दोस्रो भएका हौ, नेता कपिल कोइरालाले भने, हाम्रो मत बलियो भएकाले एक्लै निर्वाचनमा जाने निर्णय राम्रो हो।

नेपाली कांग्रेस जिल्ला सभापति उपेन्द्रकुमार पोखरेलले पार्टीको केन्द्रिय निर्णय अनुसार गठबन्धन गर्ने विषयमा छलफल भइरहेको बताए। जिल्लास्थित अन्य पालिकामा समेत गठबन्धन गर्ने नगर्ने विषयमा अझै अन्यौलता रहेको देखिएको छ।

कांग्रेस दुधौली नगर सभापति बलराम कार्कीले नगरभित्रका अधिकांश वडाहरुबाट वडाअध्यक्ष आफूले पाउनु पर्ने माग भएको बताए। यस्तै गोलञ्जोर गाँउपालिका सभापति मोतिराम सापकोटाले माओवादीसँग गठबन्धन नगर्ने पक्षमा नेता कार्यकर्ता रहेको र गठबन्धन गर्ने नै निर्णय पार्टीको भएपनि प्रमुखसहित बहुमत वडाअध्यक्षहरु कांग्रेसको भागमा पर्नुपर्ने जनाए।

प्रकाशित: ३ वैशाख २०७९ १२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App