११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

धरानमा जनप्रतिनिधिका पाँच वर्षः तीन प्रमुख भए, चुनावी एजेन्डा ज्युँका त्युँ

२०७४ सालको स्थानीय निर्वाचनका बेला धरानका राजनीतिक दलहरूको प्रमुख चुनावी एजेन्ण्डा थियो, नगरवासीलाई खानेपानीको सहज आपूर्ति गरिदिने।

त्यतिबेला धरानको खानेपानी समस्या हल गर्ने लक्ष्य लिएर एसियाली विकास बैंक (एडिबी) को ऋण तथा अनुदान सहयोगमा २२ मिलियन डलर बराबरको एकीकृत सहरी विकास आयोजना (आइयुडिपी) सुरु भइसकेको थियो। खानेपानीलाई चुनावी एजेन्डा बनाउँदै राजनीतिक दलहरूले भनेका थिए–आयोजना सफल बनाउँछौँ। दैनिक १६ घन्टासम्म पानी वितरण गर्छौं।’

खानेपानी अभाव धरानको मुख्य समस्या हो। एडिबीबाट ऋण तथा अनुदान सहयोग आउँदा सहरी विकास मन्त्रालयले कुन योजना लिने भनेर प्रस्ताव माग गर्दा धरानका राजनीतिक दलले एकमुख भएर खानेपानी आयोजना मागेका थिए। २२ मिलियन डलरको प्रोजेक्ट आएको र सबै राजनीतिक दलले चुनावी एजेन्डा नै बनाएपछि अब पानीको समस्या हल हुन्छ भन्ने नगरवासीले आशा गरेका थिए।

मेयर तिलक राई : उपमेयर मञ्जु भण्डारी सुवेदी

निर्वाचन भएको पाँच वर्ष पूरा हुनै लाग्यो। यो बीचमा धरानले एक कार्यवाहकसहित तीन प्रमुखको नेतृत्व पायो, तर नगरवासीले चुनावी प्रतिबद्धता जसरी पानी पाउन सकेनन्। अहिले नगरवासी आफैँ निजी ट्यांकरबाट पानी किनेर पिउन बाध्य छन्। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा धरानमा खानेपानीको चरम अभाव छ। नेताहरू भोट माग्न आउने तयारी गरिरहँदा जनता भने धारामा पानी आउने आशामा छन्।

२०७४ को निर्वाचनमा मेयर र उपमेयरमा एमालेबाट तारा सुब्बा र मञ्जु भण्डारी सुवेदीले जितेका थिए। मेयर सुब्बाको एक वर्ष कार्यकाल पूरा भएकै दिन निधन भएको थियो। त्यसबेला खानेपानी आयोजना पूरा भएकै थिएन। सुब्बाको निधनपछि झन्डै डेढ वर्ष उपप्रमुख भण्डारीले कार्यवाहक मेयरका रूपमा नगरको नेतृत्व गरिन्।

उनको कार्यकालमा पनि आयोजना न पूरा भयो, न जनताले सहज रूपमा खानेपानी पाए। २०७६ मा मेयर पदमा भएको उपनिर्वाचनबाट धरानमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी भए। उनको कार्यकाल सकिन एक महिना बाँकी छैन। उनले न आयोजना असफल भएको भन्न सकेका छन्, न त जनतालाई खानेपानी खुवाउनै सके।

धरान ११ का मतदाता एनसी राई वर्तमान मेयर तिलक राईले खानेपानी खुवाउने प्रतिबद्धता गरेर चुनाव जितेको स्मरण गर्छन्। तर, खानेपानीको हाहाकार रहेको भन्दै उनी आक्रोश पोख्छन्। ‘उहाँले पनि बोलेजस्तो पानी खुवाउने प्रतिबद्धता पूरा गर्न सक्नुभएन। पानी मात्र खुवाइदिएको भए राहत हुन्थ्यो,’ उनी भन्छन्, ‘चुनावका बेला प्रमुख एजेन्डा बनेको र पानी जस्तो आधारभूत आवश्यकता पनि पूरा नगर्दा जनप्रतिनिधिको कार्यकाल राम्रो भयो, सफल भयो कसरी भन्नु?’

कालोपत्र सडक नभएको वडा

भौतिक विकास निर्माणमा पूर्व अर्थात् प्रदेश– १ कै नमुना सहर हो धरान। हङकङको कपी गरेर भानुचोकमा निर्माण गरिएको घन्टाघर धरानको प्रतीक बनेको छ भने जनताकै सहभागितामा निर्माण भएको चिल्ला पक्की सडक, सिँगारिएका घरहरूले युरोपकै झल्को दिन्छ। तर, यही धरान उपमहानगरको वडा २० मा अहिलेसम्म पक्की सडक बनेको छैन।

साबिक विष्णुपादुका गाविस २०७० सालमा धरानमा गाभिएपछि उपमहानगरपालिका बनेको थियो। विष्णुपादुकावासी एकैचोटि उपमहानगरवासी भएका थिए। साबिक विष्णुपादका गाविस सिंगै अहिले धरानको वडा २० भएको छ। विष्णुपादुका कृषि क्षेत्र हो। विष्णुपादुका जस्तो पौराणिम महत्व बोकेको मन्दिर यहाँ भएकाले धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको ठाउँ पनि हो।

त्यसैले गाउँबाट धरान सहरवासी भएपछि साबिक विष्णुपादकावासीले पक्की सडक बन्ने जषौंदेखिको सपना पूरा हुने आशा गरेका थिए। सहरवासी भएको आठ वर्ष बित्दा पनि उनीहरूको सपना पूरा भएको छैन। धरानको भौतिक विकास साबिक धरान अर्थात् सहर केन्द्रित मात्र भएको गुनासो ग्रामीण क्षेत्रका जनताको छ।

हरेक निर्वाचनमा उम्मेदवारले विष्णुपादुकामा पक्की सडक निर्माणको कुरा गर्छन्। चुनाव जितेपछि प्रतिबद्धता बिर्सन्छन्। पूर्वशिक्षक एवं धरान वडा– २० भञ्ज्याङ निवासी ओम सुच्च राई कालोपत्रे सडक बने आवतजावत गर्न मात्र होइन, कृषिजन्य उत्पादन ढुवानी गर्न स्थानीयलाई सहज हुने बताउँछन्।

‘यहाँको मुख्य पेसा नै कृषि हो, कृषि उत्पादन धरान बजार लैजान सजिलो हुन्थ्यो। बिरामीलाई बिपी प्रतिष्ठानमा उपचारका लागि लैजान, केटाकेटी धरान पढ्न झर्न, किनमेल गर्न सजिलो हुन्थ्यो,’ उनी भन्छन्, ‘वर्षामा यो बाटो हिलोले हिँड्नै सकिँदैन, अरूबेला धुलोले हैरान बनाउँछ ।’ संसदीय निर्वाचन, स्थानीय निर्वाचन र गएको उपनिर्वाचनमा पनि कालोपत्रे सडकको माग स्थानीयले राजनीतिक दलका उम्मेदवार, नेताहरूसँग गरे पनि पूरा नभएको उनले बताए।

विष्णुपादुकावासीको अर्को प्रमुख माग छ, कृषि बजार। कृषि बजार आफ्नै वडामा निर्माण भए कृषकले फाइदा पाउँथे। अहिले उनीहरूले आफ्नो कृषि उत्पादन धरान ११ को मंगलबारे चोक वा धरान १३ को कृषि उपज बजारस्थलमा पुर्‍याउनुपर्छ। जसले गर्दा कृषकलाई भन्दा बिचौलियालाई बढी फाइदा पुग्ने राई बताउँछन्। ‘यहाँ कृषि बजारको अभाव छ, हाम्रै ठाउँमा कृषि बजार भए कृषकले फाइदा पाउँथे, यो माग पनि वषौंदेखिको हो, पूरा भएकै छैन,’ उनले थपे, ‘विष्णुपादुका धरानको पर्यटन क्षेत्र भनेर घोषणामै सीमित भयो।’

वडा २० का अध्यक्ष मणिराम राई नगर गौरवको योजना आफ्नो वडामा कहिल्यै पर्न नसकेको गुनासो गर्छन्। स्वर्गीय मेयर तारा सुब्बा, कार्यवाहक मेयर मञ्जु भण्डारी र वर्तमान मेयर तिलक राईलाई गुहार्दा पनि नगर गौरवको योजना आफ्नो वडामा नपरेको उनले बताए। ‘नगरको नेतृत्व तीन खालको पायौँ, सबैलाई गुहार्ने काम गरे, तर नगर गौरवको योजनाको बजेट हाम्रो वडामा परेन,’ उनले भने, ‘भौतिक पूर्वाधार विकास सन्तोषजनक छैन। सीमित स्रोत–साधन भएको वडाको बजेटबाट ठूला योजना पूरा गर्न सम्भव भएन।’ भञ्ज्याङ निस्कने बाटो कालोपत्रे गर्न तीन वर्षअघि नै प्रदेश सरकारको बजेटबाट टेन्डर भए पनि कोरोनाको बहानामा काम हुन सकेन। यसपालि पनि थोरै रकममा ठेक्का लागेको तर काम सुरु नभएको उनले बताए।

वडालाई पर्यटन तथा कृषि क्षेत्र भनेर घोषणा गरिए पनि उपलब्धि हासिल नभएको वडाध्यक्ष राईको स्विकारोक्ति छ। वडामा विष्णुपादुका धार्मिकस्थल, सिद्धपोखरी, कन्या डाँडा, सुलिकोट, झण्डी डाँडा, चिण्डे डाँडा, भ्यु टावरलगायत पर्यटकीय केन्द्र भए पनि एकीकृत विकास गर्न र लगानी भित्र्याउन नसकिएको उनले बताए। ‘परम्परागत कृषि प्रणाली भएकाले उपलब्धि धेरै भएन, पर्यटन विकासको एकीकृत योजना र लगानी भित्रिएन, विकास भयो भनेर भन्ने अवस्था छैन,’ वडाअध्यक्ष राईले भने।

‘जनप्रतिनिधि असफल भए’

त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका सहप्रध्यापक एवं विश्लेषक डा. राजेन्द्र शर्मा चुनावमा उठ्दै गर्दा जनप्रतिनिधिले गरेका वाचा पूरा गर्न पूर्ण रूपमा असफल देखिएको बताउँछन्। शर्माको नजरमा धरानमा अहिलेका जनप्रतिनिनिधले व्यवस्थित बसपार्क निर्माण कार्य शुभारम्भ गर्नु, फोहोर प्रशोधन केन्द्र निर्माण गर्नु र सर्दु, सेउती खोलामा पक्की पुल निर्माण हुनुलाई मात्र सकारात्मक काम भएको मान्न सकिन्छ। ‘जनतालाई राहत दिने काम गर्न सकेनन्, चुनावमा उठ्दै गर्दा गरेका वाचा पूर्णरूपमा असफल देखियो,’ डा. शर्माले भने, ‘न जनतालाई पानी खुवाउन सके, न ६ लेनको जोगबनी–किमाथांका सडक कताबाट जान्छ भनेर निकास दिन सके। सुकुम्बासी, अव्यवस्थित बसोबासको समस्या पनि हल भएन।’

डा. शर्माका अनुसार खानेपानी आयोजना असफल भएको कलंकको भारी राजनीतिक नेतृत्वसँगै जनप्रतिनिधिले पनि बोकेका छन्। पानी नपाएर जनता काकाकुल अवस्थामा पुगेको उनले बताए। कोसी राजमार्गको ६ लेन सडक धरानको मुख्य बजार भानुचोक हुँदै घर भत्काएर लैजाने कि बाइपास गरेर सेउती करिडोर हुँदै लैजाने भन्ने निर्णय पनि अहिलेका जनप्रतिनिधिले नदिएको शर्माको भनाइ छ। धरानमा एयरपोर्ट बनाउने चुनावी एजेन्डा पनि अब समाप्त भएको छ।

धरानमा पाँच वर्षमा तीनजना नेतृत्व फेरिएकाले काम हुन नसकेको हो कि भन्ने प्रश्नमा उनी भन्छन्, ‘एकै जनाले पाँच वर्ष नेतृत्व गरेको छिमेकी पालिकामा उत्साहजनक काम छैन। नेतृत्व परिवर्तन भएर काम गर्न सकिन भन्नु बहाना मात्र हो। योजना बनाएर काम गर्नेलाई एक, डेढ वर्ष पर्याप्त हो। बोर्डमा अल्पमतमा परेको कारण अप्ठेरो भयो होला, तर पाँच वर्ष एकल नेतृत्व चलेको पनि उत्साहजनक देखिन्न।’

‘दीर्घकालीन सोचको अभाव’

उपमहानगरपालिकाका योजना महाशाखा प्रमुख एवं इन्जिनियर सुरज श्रेष्ठ पनि सडक निर्माण, फोहोर प्रशोधन केन्द्र निर्माण, बसपार्क निर्माण सुरु हुनुलाई उपलब्धि मान्नुपर्ने बताउँछन्। धरानलाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र बनाउने नारा पूरा गर्न दीर्घकालीन सोचसहित काम हुन नसकेको उनको भनाइ छ। ‘सडक विस्तार गर्ने, पार्क बनाउने जस्ता पूर्वाधारका काम भइरहेकै छन्, तर फाट्टफुट्ट भयो,’ उनले भने, ‘प्रभाव पर्ने किसिमको पर्यटन, स्वास्थ्य, शिक्षाको हब बनाउन दीर्घकालीन सोचसहितको काम भएन।’

धरानको विकासका लागि एकीकृत कार्ययोजना बनाएर अघि बढ्न नसक्नु कमजोरी रहेको श्रेष्ठको ठम्याइ छ। पर्यटन केन्द्र बनाउने नारा भए पनि विष्णुपादुका धार्मिक स्थल जाने बाटो निर्माण गर्न नसकिएको उदाहरण उनले सुनाए। ‘पर्यटन सम्भावना छ। तर त्यो अनुसारको एकीकृत कार्ययोजना बन्न सकेन। यति वर्षमा यति पर्यटक भित्र्याउने भन्ने भएन,’ उनले भने, ‘शिक्षा, स्वास्थ्यको हब बनाउने कुरा पनि नारामा मात्र सीमित भयो, एकीकृत कार्ययोजना बनाइएन।’

धरानले ४० किलोमिटरभित्रै छिमेकी सहर इटहरी र विराटनगर महानगरसँग हरेक किसिमले प्रतिस्पर्धा गर्नुपर्नेछ। तर, धरान महँगो सहर मानिन्छ। धरानको थोक विक्रेता व्यापारी इटहरी स्थानान्तरण भएका छन्। धरानभन्दा इटहरीमा सस्तो मूल्यमा सामान पाइन्छ भन्ने आम नागरिकमा सोच छ। ‘यहाँको व्यापार, व्यवसाय इटहरी गयो भनेर चिन्ता गरिन्छ, तर महँगी नियन्त्रणतर्फ ध्यान दिनुपथ्र्यो। इटहरीमा जस्तै सुलभ मूल्यमा सामान पाउने वातावरण बनाउनुपथ्र्यो, त्यसका लागि नेतृत्वले भिजन ल्याउनुपर्छ,’ श्रेष्ठले भने, ‘नीति नियम र कोअर्डिनेसनले पनि धेरै काम हुन्छ। धरानलाई भिजन राख्ने नेतृत्व चाहिन्छ ।’

‘कोभिड महामारीले काम गर्न सकिनँ’

२०७६ मंसिर १४ गते भएको उपनिर्वाचनबाट मेयर भएका तिलक राई कोरोना महामारीका कारण काम गर्न असहज भएको बताउँछन्। निर्वाचित भएको तीन महिना (फागुन) देखि कोरोना महामारी सुरु भइहालेको र आर्थिक मन्दी सुरु भएकाले काम गर्न अप्ठेरो भएको जिकिर उनको छ। ‘मंसिर १४ मा चुनाव भयो। २०, २२ गते पदवहाली गरेँ, तर फागुनदेखि कोरोना आइहाल्यो। जुन ढंगले काम गर्नुपर्ने थियो, मैले गर्न पाइनँ,’ मेयर राईले भने, ‘कोरोनाले आर्थिक मन्दी भयो, आम्दानी हुन सकेन। यद्यपि मैले समन्वयकारी भूमिका निर्वाह गरेँ। वाद विवाद केही भएन।’

मेयर राई आफूले राजनीतिक दलहरू र कर्मचारीसँग समन्वय गरेरै अघि बढेको बताउँछन्। विगतका राम्रा कामलाई अघि बढाएको र नराम्रो काम गर्न आफूले नदिएको उनको दाबी छ। ‘बसपार्क निर्माणको काम अघि बढ्यो। सर्दु जलाधार विषय एक ढंगले अघि बढ्यो। बाटोघाटो अघि बढ्यो,’ मेयर राईले भने, ‘पानी पहुँचभन्दा बहिर भयो। खानेपानी आयोजनाको डिपिआर र निर्माणमा त्रुटि छ। डेढ करोड लिटर पानीले पुग्छ वा पुग्दैन, यत्रो ऋण थेग्न सक्छौँ सक्दैनौ भनेर पहिला नै हेर्नुपथ्र्यो।’

‘केन्द्रसँग धरानको पहुँच बनाएँ’

उपमेयर मञ्जु भण्डारी भने आफूले धरानमा संघीयताको जग बसाएको र केन्द्रसँग धरानको पहुँच बनाउन सफल भएको दाबी गर्छिन्। स्वर्गीय मेयर तारा सुब्बा हुँदा सुरु भएको विजयपुर सडक र जनपथ सडक निर्माणको काम आफू कार्यवाहक मेयर हुँदा केन्द्रको बजेट ल्याएर सम्पन्न गरेको उनले बताइन्। ‘सहरी विकास मन्त्रालयबाट बजेट आयो, पहिला केन्द्रमा पहुँच थिएन, कार्यवाहक मेयर भएपछि मैले पहुँच बनाएँ,’ उनले भनिन्, ‘पुरानो बजारको कैलाश पथ, त्रिभुवन पथमा पनि केन्द्रबाट बजेट आयो। बिसौं वर्षदेखि अल्झिएको बसपार्क म कार्यवाहक हुँदा बजेट सुनिश्चित भएर निर्माण सुरु भयो।’

साबिक विष्णुपादका र साबिक पाँचकन्यालाई पनि खानेपानी वितरण गर्न खानेपानी मन्त्रालयबाट ढलसहितको एकीकृत सहरी विकास आयोजना धरानका लागि स्वीकृत भएको र डिपिआर चाँडै बन्ने उनले बताइन्। कोशीबाट पानी ल्याएर इटहरीसम्म वितरण गर्न सम्भावना छ वा छैन भन्ने सम्बन्धमा सर्भे सुरु भएको छ। ‘लेउती सुरुङ मार्ग बनाएर त्यहाँबाट पानी ल्याउन सकिन्छ,’ उनले भनिन्, ‘खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न पहल गरिरहेकी छु।

धरानकै खहरे खोलाहरूमा खहरे करिडोरहरू निर्माण भइरहेको छ, पहिला खहरे कस्तो थियो, अहिले करिडोर बनेर सिँगारिएको छ, जनताले केही न केही परिवर्तनको महसुस गरेका छन् ।’ सबै वडामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरेको, बर्थिङ सेन्टर तयार भएको, खोप केन्द्र व्यवस्थित भएको उनको भनाइ छ।

उपमेयर भण्डारीका अनुसार, उनी कार्यवाहक भएका बेला औद्योगिक ग्राम निर्माणमा पहल गरेर स्वीकृत भई बजेट समेत आएको आयो। तर उपनिर्वाचनबाट नयाँ मेयर भएपछि ग्राम निर्माणलाई बेवास्ता गरेकाले काम रोकिएको उनले बताइन्। ६ लेन सडकको विवाद पनि मेयरकै कारण टुंगिन नसकेको उनले आरोप लगाइन्। ‘उहाँले काम गर्न सक्नुभएन।

६ लेन सडकको विवाद ४ लेनको बनाउने र बाइपास लैजाने भनेर वडा वडामा छलफल भएको थियो, तर नयाँ मेयर आएपछि छलफल गर्नै चाहनु भएन,’ उपमेयर भण्डारीले भनिन्, ‘पर्यटकीय क्षेत्रको विकास गर्न डिपिआर बनायौँ। कोकाह ड्याम रिक्रिएससन बनाउने, सप्तरंगी पार्कको डिपिआर, विजयपुरगढीको पुरातात्विक विकास गर्न डिपिआर बनेको छ। विष्णुपादुकाको महिमा अनुसार विष्णुको १० अवतारको मूर्ति बनाउने प्रोजेक्ट टिडिएफले स्वीकृत गरेर डिपिआर बनाउने भनेको छ।’

प्रकाशित: ३ वैशाख २०७९ ०४:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App