२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पोखराः मेयरको उम्मेदवार छान्न एमालेमा मतदान हुँदै

प्रतिष्पर्धामा खगराज र पृथ्वी सुब्बा समूह

पोखरा महानगरपालिकामा नेकपा एमालेको मेयरको उम्मेदवार छान्न चुनाव हुने भएको छ। उम्मेदवारका आकांक्षी धेरै भएपछि एमालेले मतदानबाट उम्मेदवार छान्न लागेको हो। 

नेकपा एमाले पोखरा महानगर कमिटिका सदस्यहरुको मतबाट उम्मेदवार चयन गरिने महानगर कमिटीका अध्यक्ष दीलिप न्यौपानेले जानकारी दिए। एमाले महानगर कमिटीमा ११० सदस्य रहेका छन्।

महानगरपालिकाको मेयरका लागि एमालेबाट १२ जनाले दाबेदारी प्रस्तुत गरेका छन्। त्यस्तै उपमेयरका लागि ९ जनाले उम्मेदवारी दर्ता गरेका छन्। यसअघि उपमेयरका लागि ११ जनाले नाम दर्ता गराएपनि आज भएको उम्मेदवारी दर्तामा २ जनाले उम्मेदवारी दर्ता नगरेको एमाले महानगर कमिटिले जनाएको छ।

 मेयरका लागि एमालेबाट प्रदेश सांसदहरु कृष्णबहादुर थापा र राजिव पहारी, मीनाकुमारी गुरुङ, रश्मी आचार्य, भीम कार्की, दीपक पौडेल, पुष्पज्योति ढुंगाना, दर्शन लामा, बालासिंह काउछा मगर, प्रा.डा.विश्वकल्याण पराजुली, पुष्पराज अधिकारी र सावित्री भण्डारीले नाम दर्ता गराएका छन्। मेयरका लागि आकांक्षा राख्ने थापा गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य हुन्। पहारी प्रदेशसभा सदस्य तथा एमाले कास्कीका सहईञ्चार्ज हुन्। त्यस्तै, गुरुङ एमालेका केन्द्रीय सदस्य तथा कास्की सहईञ्चार्ज हुन् भने आचार्य अनेरास्ववियुका पूर्व उपाध्यक्ष तथा एमाले गण्डकी प्रदेशका उपसचिव हुन।  

यसैगरी, कार्की एमालेका केन्द्रीय सदस्य, पौडेल एमाले गण्डकीका सचिवालय सदस्य, ढुंगाना हाइड्रो व्यवसायी, लामा पोखरा–१३ का वडाध्यक्ष, काउछा मगर एमाले केन्द्रीय सदस्य तथा कास्की सहईञ्चार्ज हुन्। त्यस्तै, प्रा.डा.पराजुली समाजशास्त्री हुन् भने अधिकारी पर्यटन व्यवसायी हुन्। मेयरका लागि आकांक्षा देखाउने अर्की महिला भण्डारी जिल्ला समन्वय समिति (जिसस) कास्कीका उपप्रमुख हुन्।

एमालेबाट उपमेयरका लागि ३ महिला सहित ९ जनाले नाम दर्ता गराएका छन्। नाम दर्ता गराउनेमा शोभामोहन पौडेल, जीवनप्रसाद आचार्य, शुष्मा पौडेल, तेजनारायण अधिकारी, टीकाराम पंगेनी, देवका पहारी त्रिपाठी, हरिमाया गुरुङ, बैनबहादुर अधिकारी क्षेत्री, सञ्जीवबहादुर कोईराला, बामदेव ढुंगाना र बलराम गायक छन्। उपमेयरका लागि नाम दर्ता गराउने पौडेल पोखरा–१९ का वडाध्यक्ष, आचार्य पोखरा–१६ का वडाध्यक्ष हुन्।  

त्यस्तै उपमेयरका लागि नाम दर्ता गराएकी शुष्मा पौडेल पत्रकार तथा अधिवक्ता हुन् भने अधिकारी एमाले पोखरा महानगर कमिटीका उपाध्यक्ष, पंगेनी लेखनाथ क्षेत्रमा प्रभाव राख्ने नेता हुन्। त्यस्तै, पहारी र गुरुङ पुराना कम्युनिष्ट नेतृहरु हुन् भने अधिकारी जिसस कास्कीका प्रमुख हुन्। कोईराला नेपाल उद्योग वाणिज्य महासंघका गण्डकी प्रदेश अध्यक्ष तथा एमाले निकट नेपाल राष्ट्रिय उद्योग महासंघका स्थायी कमिटी सदस्य हुन्  यसैगरी, ढुंगाना रेडक्रस कास्कीका निवर्तमान अध्यक्ष हुन् भने गायक पिछडा वर्गको उत्थानमा खटिएका युवा नेता हुन्।

उपमेयरमा नाम दर्ता गराएरपनि व्यवसायी सञ्जीवबहादुर कोइराला र बैनबहादुर अधिकारी क्षेत्रीले उम्मेदवारी दिएनन्। कोइरालाले उम्मेदवारी दर्ताको समय थाहा नहुँदा उम्मेदवारी दर्ता गर्न नपाएको बताए। ‘पूर्व सूचना दिइनुपथ्र्यो। तर हामी आकांक्षीलाई उम्मेदवारी दर्ताको समयबारे जानकारी नै दिइएन। पछि आउँदा उम्मेदवारी दर्ता नै गर्न दिइएन,’ उनले भने।

अर्का आकांक्षी अधिकारीले भने टिकट नपाउने निश्चितजस्तै भएपछि उम्मेदवारी नै दर्ता गरेनन। उनले विहीबार साँझको छलफलपछि नै उम्मेदवारी दर्ता नगर्ने बताइसकेका थिए। नभन्दै उनले शुक्रबार विहान उम्मेदवारी दर्ता गरेनन्। शुक्रबार दिउँसो चुनाव गर्ने तयारी भएपनि अझै सहमतिको प्रयास भईरहेको नेताहरुले बताएका छन् ।  

गुरुङ र अधिकारी पक्षबीच प्रतिश्पर्धा

पोखराको उम्मेदवार चयनमा पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारी हाबी छन्। गुरुङ पार्टीको उपमहासचिव र अधिकारी संगठन विभाग प्रमुख हुन्। उनीहरुको आशिर्वाद नपाएसम्म उम्मेदवार हुन नपाइने भएपछि आकांक्षीहरु लबिङमा ब्यस्त छन्। श्रोतका अनुसार दुबै समूहले प्यानल बनाएर प्रतिष्पर्धा गर्ने तयारी गरेका छन्। मतदानबाट मेयरमा ३ र उपमेयरमा ३ जना छनौट गरेर उपल्लो निकायमा पठाउने तयारी छ।

पृथ्वी सुब्बा गुरुङ प्यानलबाट मेयरमा पुष्पज्योति ढुंगाना, मीनाकुमारी गुरुङ र दीपक पौडेल तथा खगराज प्यानलबाट कृष्ण थापा, दर्शन लामा र सावित्री भण्डारी परेका छन । अन्यले भने एकल रुपमा प्रतिष्पर्धा गर्नेछन्। उपमेयरमा भने प्यानल बनाउने प्रयास भइरहेको छ।

प्रकाशित: २ वैशाख २०७९ ०७:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App