२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

धनगढी उपमहानगरपालिकाको मेयरमा सबैको आँखा

एक दर्जन बढी नेता उम्मेदवारको दौडमा

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरका लागी बिभिन्न राजनीतिक दलका दर्जन बढी नेताहरुले चाहाना राखेका छन । मेयरको चाहाना राखेकाहरुले उम्मेदवारका लागी तिव्र रुपमा लविङ गरिरहेका छन । धनगढी उपनगरपालिकामा राजनीतिक दलका उम्मेदवारको टुंगो नलाग्दै चुनावी सारगर्मी ह्वात्तै बढेको छ । कस्ले चुनावमा वाजी मार्ला भनेर चिया पसल देखि सवैतिर चर्चा परिचर्चा हुन थालेको छ । प्रदेशको अस्थाई राजधानी समेत रहेको यस प्रदेशको उपमहानगरपालिकाको निर्वाचनलाई याहाँ बिशेष चासोको रुपमा हेरिएको छ ।  

पाँच दलिय गठबन्धनमा धनगढी उपमहानगरपालिकाको मेयर कुन राजनीतिक दललाई दिने भनेर अहिले सम्म सहमती भैसकेको छैन । नेपाली काग्रेस कैलाली जिल्ला कमिटीका महामन्त्री केशव मिश्र केन्द्रमा सत्ता गठबन्धन बिच स्थानिय तहमा जुन राजनीतिक दलको मेयर, उपमेयर रहेका छन, त्यसमा उसै दललाई प्राथमिकतामा राखेर भागबण्डा गर्ने सैद्धान्तिक सहमती भएकाले धनगढी उपमहानगरपालिकामा मेयर र उपमेयर नेपाली काग्रेसले पाउने पक्का जस्तै भएको बताउछन । तर कैलालीमा सत्ता गठबन्धनका राजनितीक दल बिच सहमती जुट्न अझै वाँकी छ ।

यस अघि गत निर्वाचनमा मेयर र उपमेयर दुवै पदमा नेपाली काग्रेसले जितेको थियो । मेयरमा नृप बहादुर वडले जितेका थिए भने उपमेयरमा शुशिला भट्ट बिजयी भएका थिए । मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल दोश्रो भएका थिए । हमाल यस पटक पनि मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेर प्रचार प्रसारमा सक्रिय भएका छन। विबेकशिल पार्टी बाट राजिनामा दिएका उनले गत फागुन १९ गते सयौ समर्थकहरुको सहभागिता रहेको एक समारोहक बिच उनले उम्मेदवारी घोषणा गरेका थिए । त्यस यता उनी मत माग्न घर घर पुगिरहेका छन । हमालले नगरपालिका बाट कुनै लाभ नलिने घोषणा गरेका छन ।  

नेपाली काग्रेसबाट नृप वहादुर वडले मेयरमा पुन दोहोरिने ईच्छा राखेका छन । भने उपमेयर भट्ट र नेता कृष्णबहादुर महरा पनि उम्मेदवारको दौडमा रहेका छन । मेयर वडको नै टिकट पाउने बढी संभावना रहेको नेपाली काग्रेसका एक नेताले बताए ।

यसैगरि नेकपा एमालेबाट गत निर्वाचनमा मेयरमा पराजित भएका एमाले कैलाली जिल्ला कमिटीका उपाध्यक्ष दुर्गा जोशी र एमालेका नेता रणबहादुर चन्दको नाम चर्चामा रहेको छ । यसैगरि एमालेमा राजेश खाती, जिवन बम, कमल रानाले मेयरको उम्मेदवारमा दावी गरेका छन ।

२०७४ सालको निर्वाचनमा मेयर पदमा करिव ९ हजार मत ल्याउदै जोशी चौथो स्थानमा खुम्चिएका थिए । सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितीका अध्यक्ष समेत भएका जोशी पुन एक पटक मेयरमा चुनाव लड्ने मौका दिनुपर्ने भन्दै टिकटको लागी लविङमा लागेका छन । यसैगरि बिद्यार्थी राजनीति देखि पार्टीमा सक्रिय रहेका युवा नेता चन्द पनि मेयरको संभावित उम्मेदवार हुन।एमाले जिल्ला कमिटीमा सचिव हुदै उपाध्यक्ष भएका चन्द गत पौष २७ गते रतन थापा सँग ४ मतले पराजित भएका थिए । बिद्यार्थी राजनीति देखि पार्टीमा योगदान गरेका उनले अहिले सम्म लाभको पद नपाएकाले उनको संभावना पनि वलियो रहेको नेकपा सुदूरपश्चिम प्रदेश समितीका एक नेताले बताए ।

यसैगरि नेकपा माओवादी केन्द्रमा युवा नेता रमेश धामी, शान्ती अधिकारी, वडा नं ३ का वडा अध्यक्ष वल बहादुर ऐर, निर्मल शाहको मेयरको उम्मेदवारको लागी दौडमा रहेका छन । अधिकारी ०७४ सालको निर्वाचनमा  उपमेयरको पदमा पराजित भएकि थिइन् ।   नेकपा एकिकृत समाजवादी पार्टीबाट मेयर पदमा धनगढी नगर कमिटीका अध्यक्ष मदन रेग्मी र राजेश भण्डारीको नाम चर्चामा छ।  नेपाली काग्रेस यस पटक पनि चुनाव जित्ने आशाामा रहेको छ भने नेकपा एमालेले नेपाली काग्रेसको किल्ला भत्काउने रणनती बनाईरहेको छ । गत निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी हुदै दोश्रो भएका स्वतन्त्र उम्मेदवार हमाल पनि नतिजा आफ्नो पक्षमा ल्याउन सक्रिय रुपमा लागेका छन । गठबन्धन बनेमा  धनगढीको उपमहानगरपालिकाको मेयरका लागी गठबन्धनको उम्मेदवार, एमालेको उम्मेदवार र स्वतन्त्र उम्मेदवार हमाल बिच त्रिपक्षिय कडा प्रतिस्पर्धा हुने बिश्लेषण गरिएको छ ।  

प्रकाशित: १ वैशाख २०७९ १२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App