८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

आ–आफ्नै अडानमा गठबन्धन दल

गोरखामा गठबन्धन दलहरूबीच चुनावी तालमेलबारे छलफल नै हुन सकेको छैन। यसअघिको निर्वाचनमा ११ मध्ये नौ पालिका जितेको कांग्रेस गठबन्धन भएको हकमा ती नौवटै आफूले पाउनुपर्ने अडानमा छ। दुईवटा गाउँपालिका जितेको नेकपा माओवादी केन्द्र सबै तहमा आफू दोस्रो शक्ति भएकाले नगरसहित थप पालिका आफूले पाउनुपर्ने दाबी गरेको छ।

पहिलो र दोस्रो शक्तिको रूपमा रहेका कांग्रेस र माओवादीबीच नै कतिवटा पालिका लिने भन्नेमा छलफल हुन सकेको छैन। गठबन्धनभित्रको तेस्रो शक्तिको रूपमा गोरखामा रहेको जनता समाजवादी पार्टीले तीनवटा पालिकाका प्रमुख र उपप्रमुखका साथै २५ वटा वडाध्यक्षमा आफ्नो दाबी प्रस्तुत गरेको छ।

गठबन्धनकै अर्को दल नेकपा एकीकृत समाजवादीले हैसियतअनुसार प्रतिनिधित्व पाउनुपर्ने माग गरेको छ। जिल्लाको मात्र नभएर देशभरको अवस्थालाई ध्यान दिएर तालमेल गर्नुपर्ने माग एकीकृत समाजवादीको छ।

दलहरूको आआफ्नै अडानका कारण गठबन्धनभित्र भागबन्डा मुस्किल पर्ने देखिएको छ। कांग्रेस र माओवादीबीच गठबन्धन भएको खण्डमा सबै पालिकामा बलियो बन्ने देखिन्छ। अघिल्लो चुनावको मतान्तर हेर्ने हो भने कांग्रेस र माओवादीको गठबन्धनले सबैजसो स्थानीय तहमा नतिजा आफ्नो पक्षमा पार्न सक्छ। तर दुवै पार्टीभित्र एकअर्कोसँग गठबन्धन नगर्न जिल्ला स्तरका नेतालाई कार्यकर्ताको चर्को दबाब छ।

‘गठबन्धनको विपक्षमा हामी छैनौँ तर यसअघि जितेको ठाउँमा हामीले दाबी गर्नु स्वाभाविक हो’, कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले भने। गोरखामा कांग्रेसले ४५ वटा वडा, ९ वटा पालिका जितेकाले दाबी स्वाभाविक भएको उनले बताए। ‘कसले कति पालिका, वडा लिने भन्नेमा हाम्रो छलफल हुन बाँकी छ’, सभापति न्यौपानेले भने, ‘संगठनको अवस्थाअनुसारको सिट कांग्रेसले पाउनुपर्छ, मैले केन्द्रीय सभापतिलाई पनि यो विषयमा जानकारी गराइसकेको छु।’

माओवादी केन्द्रका अध्यक्ष लेखबहादुर थापाले सातआठ पालिकामा माओवादी केन्द्रको दाबी रहेको बताए। ‘कांग्रेस र माओवादीको अवस्था जिल्लामा उस्तैउस्तै हो, थोरै तलमाथि होला, कांग्रेसको समानुपातिक मत केन्द्रको चुनावमा धेरै छ भने प्रदेशको चुनावमा माओवादीको धेरै देखिन्छ’, उनले भने।  माओवादीले पनि आफ्नो संगठन बलियो रहेकाले आधाभन्दा बढीमा पदमा दाबी गरेको छ। गठबन्धनभित्र छलफल गरेर जाने विषयलाई माओवादी केन्द्रले पनि प्राथमिकतामा राखेको जनाएको छ।  

जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले एउटा नगरसहित तीनवटा पालिकामा दाबी रहेको बताए। ‘कांग्रेस, माओवादीलगायतका दलले यसअघि जितेको ठाउँ दाबी गरेकाले गठबन्धनमा सिट बाँडफाटको विषय टुंगिएन’, भट्टले भने। उनले आफ्नो दाबीबाट जनता समाजवादी पार्टी पछि नहट्ने बताए। ‘ठुला दल टसमस हुने अवस्था नदेखिँदा गठबन्धनभित्र पनि भागबन्डाको विषय टुंगिएको छैन’, उनले भने।

नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष यादव बस्नेतले भूगोल, क्षेत्र र पार्टीको अवस्था हेरेर गठबन्धन दलसँग सिट माग्ने बताए। ‘शक्ति सन्तुलन के छ भन्ने सबैलाई थाहा छ। हामीले जिल्लामा मात्र हेरेर भन्दा पनि गठबन्धनको मर्मलाई ध्यान दिनुपर्छ’, बस्नेतले भने, ‘गठबन्धनका दलहरू एकले अर्कोलाई सहयोग गरेर अघि बढ्नुपर्छ।’ गोरखामा कांग्रेसले धेरै स्थानीय तह जितेकाले गठबन्धनले कांग्रेससँग माग्नुपर्ने जस्तो देखिएको तर गण्डकी प्रदेशका अन्य धेरै जिल्लामा एमालेले धेरै स्थानीय तह जितेको बताउँदै उनले भने, ‘एमालेबाट हामी छुट्टिएकाले गठबन्धनले अब नेकपा एससँग अन्य जिल्लामा माग्नुपर्ने अवस्था आउन सक्छ।’ जिल्लाको मात्र नभई समग्र अवस्थालाई हेरेर दलहरूले निर्णय लिनुपर्नेमा उनले जोड दिए।

स्थानीय आवश्यकताअनुसार गठबन्धन गर्न सकिने केन्द्रको सर्कुलरपछि कांग्रेस र माओवादी दुवैले एमालेसँग पनि सहकार्यका आधारबारे आन्तरिक छलफल गरिरहेका छन्। गठबन्धनबाहेकका दलसँग तालमेल नगर्न निर्देशन आएसँगै एमालेसँगको छलफललाई दुवै दलले गोप्य राखेका छन्। एमालेले पनि गठबन्धन गर्न नदिने रणनीति बनाएको छ। अहिले सत्तामा सँगै रहेका दलमध्ये एउटालाई फुटाएर केही स्थानीय तह लिएर जिल्लामा छुट्टै गठबन्धन गर्ने योजनामा एमाले छ।

प्रकाशित: ३० चैत्र २०७८ ००:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App