२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमालेबाट पोखरा मेयरमा दाबीः सांसददेखि केन्द्रीय सदस्यसम्म

नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार मंगलबार टुंगो लगाउँदैछ। त्यसका लागि पोखरा महानगर कमिटीको बैठक बोलाइएको छ। दिउँसो २ बजे बस्ने बैठकले सकभर सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रियाबाट उम्मेदवारको टुंगो लगाउने एमाले पोखरा महानगर कमिटी उपाध्यक्ष तेजनारायण अधिकारीले जानकारी दिए। ‘सर्वसम्मत भए एकजनाको नाम सिफारिस हुन्छ नभए एक महिलासहित तीनजनाको नाम सिफारिस हुन्छ,’ उनले भने।

एमालेबाट मेयरको उम्मेदवार बन्न दर्जन बढीको नाम चर्चामा छ। त्यसमा प्रदेशसभा सदस्यदेखि पार्टी केन्द्रीय सदस्य र स्थानीय तहका जनप्रतिनिधिसम्मले लबिङ गरिरहेका छन्। केहीले भने नाम चर्चामा ल्याउनकै लागि मात्र उम्मेदवार बन्ने भन्दै नाम सार्वजनिक गरेका छन्।

एमालबाट उम्मेदवार बन्न पोखरा महानगरपालिकाकी हालकी उपप्रमुख मञ्जुदेवी गुरुङ र अर्की नेत्री मीनाकुमारी गुरुङले दाबी गरिरहेका छन्। मेयरमा उम्मेदवार दाबी गर्ने यी दुईजना मात्र महिला हुन्। त्यसबाहेक कृष्णबहादुर थापा, मनबहादुर गुरुङ, भीम कार्की, राजीव पहारी, बालकृष्ण काउछा, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, दीपक पौडेल, माधव बास्तोला, रश्मि आचार्य, दर्शन लामा, पुष्प अधिकारीलगायत छन्।

मेयरमा दाबी गर्ने वर्तमान उपमेयर मञ्जु अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय सचिवालय सदस्य हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनीसमेत रहेकी उनी एमालेको बलियो उम्मेदवारका रूपमा चर्चामा छिन्। उपमेयर हुँदा विवादरहित ढंगले काम गरेका कारण उनलाई धेरैले रुचाएको एमालेजनमा चर्चा हुन्छ। उम्मेदवारका रूपमा चर्चामा आएकी मीनाकुमारी पनि बलियो उम्मेदवार रहेको एमालेनिकट स्रोतले बताएको छ। उनलाई एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङको समर्थन रहेको बताइन्छ। एमाले केन्द्रीय सदस्यसमेत रहेकी उनी पूर्वमुख्यमन्त्रीसमेत रहेका पृथ्वी सुब्बाको सम्धिनी भएकाले पनि उनी उम्मेदवार हुन सक्ने धेरैको आकलन छ।

एमालेबाट केन्द्रीय सदस्यहरू कृष्णबहादुर थापा, भीम कार्की र राजीव पहारीले महानगरको मेयरको दाबी गरेका छन्। त्यस्तै एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले पनि मेयरको उम्मेदवार बन्ने दाबी गरेका छन्। थापा, पहारी र गुरुङ गण्डकी प्रदेशसभा सदस्य पनि हुन्। कार्की भने पुराना तथा इमानदार नेताका रूपमा चिनिन्छन्। मेयरको उम्मेदवार दाबी गर्ने बालकृष्ण काउछा माओवादीबाट एमाले प्रवेश गरेका नेता हुन्। पार्टीको केन्द्रीय सदस्य तथा कास्की सहइन्चार्जसमेत रहेका उनी रामबहादुर थापानिकट मानिन्छन्। त्यस्तै अर्का आकांक्षी तेजनारायण अधिकारी एमाले पोखरा महानगर कमिटीका उपाध्यक्ष हुन्। त्यसैगरी अनेरास्ववियुका पूर्वकेन्द्रीय उपाध्यक्षसमेत रहेका रश्मि आचार्यले पनि दाबी छाडेका छैनन्। उनी हाल पार्टीको गण्डकी प्रदेश कमिटीका उपसचिव हुन्। यस्तै पोखरा–१३ का वडाध्यक्ष तथा एमाले कास्कीका उपसचिव दर्शन लामा, एमाले गण्डकी प्रदेश सचिवालय सदस्य  

दीपक पौडेल, युवा नेता दिलीप न्यौपाने, युवा संघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा पार्टीका प्रदेश कार्यालय सदस्य माधव बास्तोलाले पनि मेयरको उम्मेदवार बन्ने दाबी गरिरहेका छन्।

एमालेबाट राजनीति गर्ने व्यवसायीहरूले पनि मेयरको उम्मेदवार बन्न दाबी गरिरहेका छन्। जसमा सर्वाधिक चर्चामा रहेका सञ्जीवबहादुर कोइराला छन्। नेपाल उद्योग वाणिज्य महासंघका गण्डकी प्रदेश अध्यक्षसमेत रहेका उनी पार्टीनिकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका स्थायी कमिटीका सदस्य तथा पार्टीका प्रदेश सदस्य हुन्। त्यस्तै पर्यटन व्यवसायी पुष्प अधिकारीले पनि मेयरको टिकट पाउन लबिङ गरिरहेका छन्। उनी रूपाकोट रिसोर्टका सञ्चालक हुन्।

एमालेमा मेयरका लागि हानथाप भइरहँदा उपमेयरका लागि भने कमैले दाबी गरेका छन्। उपमेयरमा दाबी गर्नेहरू अहिले वडाध्यक्षकै लागि पनि लबिङ गरिरहेको एमालेनिकट स्रोत बताउँछ। उपमेयरका लागि पोखरा–१९ का वडाध्यक्ष शोभामोहन पौडेलले उम्मेदवारी घोषणा गरेका छन्। सुरुमा मेयरको उम्मेदवार बन्ने भनेर हल्ला चलाएका उनले मेयरमा टिकट पाउने सम्भावना नदेखेपछि उपमेयरको दाबी गर्न थालेका छन्। त्यस्तै अञ्जु क्षेत्री र राधिका शाही योगीले पनि उपमेयरका लागि लबिङ गरिरहेका छन्। तर उपमेयरको टिकट पाउने निश्चित नभएकाले भित्रभित्रै वडाध्यक्षका लागि पनि लबिङ गरिरहेको एमालेका जिल्ला स्तरका एक नेताले बताए। ती नेताका अनुसार मेयरको टिकटमा दाबी गरिरहेका मध्येबाटै एकजना उपमेयरको उम्मेदवार बन्न सक्ने सम्भावना प्रबल छ।

एमालेमा मेयरको उम्मेदवार बन्न पृथ्वी सुब्बा गुरुङ वा खगराज अधिकारीको आशीर्वाद चाहिन्छ। दुवै केपी ओलीनिकट भए पनि गण्डकी प्रदेशमा यी दुईबीच चरम गुटबन्दी छ। गुरुङ पार्टीको उपमहासचिव हुन् भने अधिकारी संगठन प्रमुख हुन्। अहिले मेयरमा टिकट कसको पक्षले लिने भन्नेमा दुई पक्षबीच लडाइँ चलिरहेको छ। ‘बाहिर गठबन्धनलाई परास्त गर्न मिलेर जाने लाइन भए पनि कुन पक्षको उम्मेदवार बनाउने भन्ने दुई पक्षबीच लडाइँ छ,’ निकट स्रोत बताउँछ। तर दुवै पक्ष जित्ने उम्मेदवार चयन गर्नेमा भने दृढ छन्। उम्मेदवार चयन गर्न एमालेले पार्टीमा काम गरेको निरन्तरता, भुगोल चिनेकोबुझेको, जनता र कार्यकर्तासँग जोडिएको, पार्टी काममा दिएको योगदान, लोकप्रियता आदिलाई आधार मान्ने मापदण्ड तय गरेको छ। ‘यसपटक हार्ने छुट छैन। त्यसैले जसले जित्छ उसैले टिकट पाउँछ,’ एमाले महानगर कमिटी उपाध्यक्ष अधिकारीले भने।

मेयरका आकांक्षी सञ्जीवबहादुर कोइराला भने यो गुट र त्यो गुटभन्दा पनि लोकतान्त्रिक ढंगले उम्मेदवार छनोट हुनुपर्ने बताउँछन्। ‘हामी लोकतन्त्रमा छौं, त्यसैले लोकतान्त्रिक ढंगले उम्मेदवार छनोट हुनुपर्छ। कसैको आशीर्वाद पाएकै भरमा टिकट लिएर जितिँदैन। जित्न त कार्यकर्ता र जनताको मत जित्नुपर्छ,’ उनले भने।

प्रकाशित: २९ चैत्र २०७८ ०१:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App