५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादीको निर्वाचन कमाण्डरमा नेपाल

एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी (एस)ले स्थानीय तह निर्वाचनका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाललाई कमाण्डर तोकेको छ।

पार्टीको सचिवालय बैठकले अध्यक्ष १ हजार १ सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गर्दै नेपाललाई कमाण्डर बनाएको हो। शनिबार र आइतबार बसेको बैठकले घोषणा पत्रको मस्यौदा पारित गरेको छ।

महासचिव वेदुराम भुसालका अनुसार सचिवालयको बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जारी गर्ने घोषणापत्रको मस्यौदा सुझावसहित पारित गरेको छ। बैठकले केन्द्रीय कमिटीका सबै सदस्य, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र जेष्ठ कम्युनिस्ट मञ्चका सबै पदाधिकारी र सदस्यहरू, केन्द्रीय परिषद्का सदस्यहरू, प्रदेशका पदाधिकारी, जिल्ला कमिटीका अध्यक्ष, जनसंगठनका केन्द्रीय पदाधिकारीसमेत रहेका छन्।

महासचिव भुसालका अनुसार महासचिवकै संयोजकत्वमा निर्वाचन परिचालन केन्द्रीय सचिवालय समेत गठन गरेको छ। सचिवालयमा प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य छन्।

स्थानीय तह निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं छनोटका लागि पार्टी नीति र कार्यक्रम प्रति प्रतिवद्ध रहेको, पार्टीमा योगदान गरेको विद्रोहमा भूमिका खेलेको, पार्टीप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको लगायतका मापदण्ड तयार पारिएको छ।

त्यस्तै, उम्मेदवार बन्नका लागि जनतामा स्थापित एवं लोकप्रियतालाई समेत मापदण्डको रूपमा राखिएको छ। उम्मेदवार बन्न स्वच्छ छवि भएको र सुशासनको पक्षपाती, कार्यक्षमता राम्रो भएको र समावेशीलाई ध्यान दिने मापदण्ड पनि तयार पारिएको छ। यसरी उम्मेदवार छनोटको प्रक्रियालाई समेत बैठकले निर्धारण गरेको छ।

तीमध्ये वडा सदस्यको लागि पार्टी वडा कमिटीको सिफारिसमा पालिका कमिटीले सिफारिस गर्ने छन्। वडाध्यक्षको लागि पार्टी वडा कमिटी र पालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले निर्णय गर्नेछन्। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंगो पालिका कमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले गर्ने छन्।

त्यस्तै महानगरपालिका र उपमहानगर पालिकाका प्रमुख र उपप्रमुखको लागि सम्बन्धित पालिका कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले उम्मेदवार तय गर्नेछ। उम्मेदवार छनोटमा विवाद भए एक तह माथिल्लो कमिटीले छानविन गरी अन्तिम टुंगो लगाउनेछ।

त्यस्तै सिफारिस गर्ने क्रममा सर्वसम्मत नाम पठाउने र सर्वसम्मत नभएमा आकांक्षी मध्ये कम्तीमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने कार्यविधि तय भएको छ। यसरी सिफारिस भएका नामको निर्णय कमिटीको पूर्ण बैठक वा सचिवालयको बैठकबाट गर्नुपर्नेछ।

त्यस्तै बैठकले गठबन्धन गर्दा आफूले पाएका स्थानमा मात्र सिफारिस भएका नाम मध्येबाट उम्मेदवार चयन गर्ने र गठबन्धन गर्दा अर्को दलले पाएका स्थानमा उम्मेदवार नरहनेसमेत निर्णय बैठकले गरेको छ। बैठकले उम्मेदवारको सिफारिस र निर्णयका लागि समय तालिकासमेत निर्धारण गरेको छ। त्यसका लागि पार्टीले चैत ३० भित्र वडा कमिटीले नाम सिफारिस गरिसक्नुपर्ने जनाएको छ।

त्यस्तै पालिका कमिटीले वैशाख २ भित्र निर्णय गरी नाम सिफारिस गरिसक्ने, जिल्ला कमिटीले वैशाख ४, प्रदेश कमिटीले बैशाख ६ र केन्द्रीय कमिटीले बैशाख ८ गतेभित्र निर्णय गरिसक्ने तालिका बनाइएको छ।

प्रकाशित: २८ चैत्र २०७८ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App