१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गर्‍यो: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको बताएका छन्।

अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै अध्यक्ष ओलीले अनुहारभरी रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पारे पनि एउटा सोझो भ्यागुतो जस्तो गभर्नरलाई सरकारले कारबाही गरेर निर्लज्जता प्रकट गरेको बताएका हुन्।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र जोगाउन प्रयास गरिरहेको गभर्नरलाई, अर्थतन्त्र बुझेका मान्छे अधिकारीलाई सरकारले गभर्नरबाट निलम्बन गरेर बलिको बोको बनाउने काम गरेको आरोप समेत लगाए।

उनलाई निलम्बन गरेर सरकारले माओवादी केन्द्रको भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा छानवीन समिति बनाएको भन्दै ओलीले आपत्ति पनि जनाए। त्यसैगरी अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धमा ज्यान धरापमा पारेर हिँडेकाहरुलाई अनादर र उपेक्षा गर्दै आफ्नै भाई नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्य बनाउने काम गरेर नातावाद र कृपावादको चरम नमुना प्रस्तुत गरेको दाबी गरे।

उनले क्रान्तिकारी हुँ भन्नेहरुले आफू र आफन्तबाहेक अरुलाई नहेर्ने गरेको यो पछिल्लो उदाहरण भएको अध्यक्ष ओलीको भनाइ थियो। अध्यक्ष ओलीले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्ने बेला आफ्नो पार्टीलाई थर्काएको आरोप समेत लगाए।

सत्तापक्षसँग मात्रै परामर्श गरेर जारी गरिएको निर्वाचन आचारसंहिता हस्ताक्षर गर्ने बेला आयोगले आफ्नो पार्टीका प्रतिनिधिहरुलाई हस्ताक्षर नगरे नगर्नुस् भनेर थर्काएको उनको गुनासो थियो। नेपालको इतिहासमा पहिलो पटक निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपक्ष दलहरुसँग परामर्श नगरी जारी गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

निर्वाचन आयोगले अनुरोध गरेर निर्वाचन सम्पन्न गर्नुपर्नेमा कारबाहीको डण्डा पो देखाउने गरेको अध्यक्ष ओलीले बताए। अध्यक्ष ओलीले आफ्नो दलसँग परामर्श नगरी निर्वाचन आचारसंहिता जारी भएपनि त्यसको पूर्ण पालना गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताए। 

प्रकाशित: २६ चैत्र २०७८ ०७:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App