४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चुनावको मुखमा दल बदल्दै उम्मेदवार आकांक्षीहरू

स्थानीय तहको चुनावको मिति नजिकिँदै जाँदा उम्मेदवारका आकांक्षीहरुले धमाधम दल बदलिरहेका छन्। पहिलेदेखि रहेको पार्टीमा टिकट पाउने सम्भावना कम हुनासाथ रौतहटमा अर्को दलमा प्रवेश गर्नेको क्रम निरन्तर चलिरहेको छ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय सदस्य कन्थमुनिप्रसाद जयसवाल नेकपा एमालेमा प्रवेश गरेका छन्। रौतहटको गरुडा नगरपालिकाको लागि एमालेबाट मेयर पदको उम्मेदवार बन्ने आकांक्षासहित जयसवाल एमाले प्रवेश गरेका हुन्।

लोसपाबाट मेयर पदको टिकट पाउन कसैले रोक्न नसक्ने भए पनि एमालेमा प्रवेश गरेपछि टिकट पाउनेमा जयसवाल प्रतिस्पर्धामा आएका छन्। नेकपा एमाले विभाजित भएपछि गरुडा नगरपालिकाका झन्डै सम्पूर्ण पदाधिकारी नेकपा एसमा गएपछि गरुडा नगरपालिकामा एमालेको नेतृत्व प्रभु साहका पक्षले गर्न थालेका छन्।

निर्वाचनको मिति नजिकिँदै जाँदा कन्थमुनिप्रसाद जयसवालले मेयर पदमा विजयको सपनासहित एमालेमा समाहित भएका हुन्।

२०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नयाँ शक्ति पार्टीबाट राजपुर नगरपालिकाको मेयर पदका उम्मेदवार शेख खदिर नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।

राजपुर नगरपालिकाका निर्वाचित मेयर सेख सकिल अहमदले आफ्नो पार्टी परित्याग गर्ने घोषणा गरेका छन्। जेलमा रहेका पूर्वमन्त्री महम्मद आफताब आलमका छोरालाई राजपुर नगरपालिकाको मेयर पदको उम्मेदवार बनाउने निर्णय गरिएपछि नगरपालिकाका निर्वाचित मेयरले पार्टी बदल्ने घोषणा गरेका छन्।

राजपुर नगरपालिकाका मेयर सकिल नेकपा एमालेमा प्रवेश गर्ने तयारी भइरहेको बताइएको छ। मेयर सकिल अझै कुनै पार्टीमा प्रवेश गरि नसकेको भए पनि मेयर पदकै लागि पार्टी परित्यागको घोषणा गरिसकेका छन्।  

रौतहटकै माधव नारायण नगरपालिकाको वडा नम्बर ३ र ६ का वडाध्यक्षहरुले आफू निर्वाचित भएको पार्टी परित्याग गरिसकेका छन्।  

आफू निर्वाचित भएको पार्टी कमजोर भएको तथा आफूलाई टिकट नदिने सम्भावना पार्टीमा बढेपछि रौतहटमा दर्जनौँ निर्वाचित जनप्रतिनिधि र उम्मेदवारले पुरानो पार्टी परिवर्तन गरिसकेका छन्।

चुनावको मिति नजिकिँदै जाँदा उम्मेदवारका धेरै आकांक्षीहरुले दल परिवर्तन गर्ने सम्भावना रहेको छ।

प्रकाशित: २२ चैत्र २०७८ १५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App