१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचन अयोगले मतदाता शिक्षाकाे बजेट अझै पठाएन

आउँदो स्थानीय तहको निर्वाचनमा चुनावमा प्रतिश्पर्धी दलहरु आफैंले मतदाताहरुलाइ अनुशिक्षित गर्नुपर्ने अवस्था देखिएको छ। निर्वाचन अयोगले अहिलेसम्म मतदाता शिक्षाका लागि सम्वन्धित जिल्ला निर्वाचन कार्यालयहरुमा बजेट र कार्यक्रम नपठाएको पाइएको छ।

‘अहिलेसम्म प्राप्त भएको कार्यक्रममा मतदाता शिक्षा सम्वन्धी शीर्षक देखिएन’जिल्ला निर्वाचन कार्यालय स्रोतले भन्यो, ‘थप भएर आएको अवस्थामा निर्देशिका अनुसार कार्यक्रम अघि बढाइन्छ’। मतदाताहरुलाइ मतदानको प्रकृया सहजीकरणका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिन्छ। मत बदर हुने क्रम रोक्न मतदाता शिक्षा अनिवार्य रहेको गैर सरकारी संस्था महासंघ ताप्लेजुङका अध्यक्ष खड्गबिक्रम सुबेदी बताउँछन्। 

निर्वाचन आयोगले मतदाता शिक्षाको कार्यक्रम नपठाएको अवस्थामा आफ्ना मतदातालाइ मतदान गर्ने बिधि र प्रकृया सिकाउने दायित्व दलहरुकै हुने उनले बताए। स्थानीय तहको निर्वाचनको मतपत्र लामो हुने भएकोले पनि मतदान गर्ने प्रकृया सहजीकरणका लागि मतदाता शिक्षा अनिवार्य मानिन्छ। 

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका सूचना अधिकारी बिपिन दुलालका अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनमा मतदातालाइ सहि तरिकाबाट मतदान गर्न सक्षम बनाउन र बदरमतको प्रतिशतलाइ शुन्यमा झार्न मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो। जस अनुसार जिल्ला भरीका ५ स्थानमा नमूना मतदान गराइएको थियो। नमूना मतदानमा ४ सय १ जनाले सहभागिता जनाएका थिए। यस्तै १ सय ६ वटा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी ३ हजार ५ सय ९७ जनालाइ सहभागिता गराइएको थियो। सो बेला सडक नाटक समेतको कार्यक्रम तय भएपनि सो कार्यक्रम भने सम्पन्न हुन नसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

यस्तै १० हजार ५ सय थान पोष्टर र १० हजार ६ सय ५० थान हाते पुस्तिका प्रकाशन गरी बितरण गरिएको थियो। २ हजार ८ सय थान मतदानका क्रममा अपनाइने रणनीति बारे बारम्बार सोधिने प्रश्नहरुको उत्तर खोज्ने कार्यक्रम समेत सञ्चालन भएको थियो। यति अभियान सञ्चालन हुँदा समेत यहाँ बढीमा अढाइ प्रतिशत सम्म मत बदर भएको अभिलेख छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा मैवाखोलामा २.४९ प्रतिशत मत पूर्ण बदर थियो। 

त्यसपछि आठराइ त्रिबेणीमा २.२० प्रतिशत र पाथीभरा याङ्वरक गाउँपालिकामा १.४६ प्रतिशत मत बदर भएको थियो। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालका अनुसार मेरिङ्देन गाउँपालिकामा १.३३ प्रतिशत,सिदिङ्वा गाउँपालिकामा १.३० प्रतिशत, फक्ताङ्लुङ गाउँपालिकामा ०.९० प्रतिशत,सिरिजङ्गा गाउँपालिकामा ०.८८ प्रतिशत,मिक्वाखोला गाउँपालिकामा ०.४३ प्रतिशत र फुङ्लिङ नगरपालिकामा ०.२२ प्रतिशत मत पूर्ण रुपले बदर भएको थियो।

प्रकाशित: १३ चैत्र २०७८ १२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App