५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

मतदाता भन्छन्ः जनताका वास्तविक प्रतिनिधि चुनिनुपर्छ

स्थानीय तह निर्वाचन

स्थानीय तहको निर्वाचन तयारीसँगै जिल्लामा चुनावी चटारो सुरु भएको छ। सरकारले आगामि वैशाख ३० गते स्थानीय तहमा निर्वाचन गर्ने तयारी गरेसँगै राजनीतिक दल छलफलमा जुटेका छन् भने मतदाता ‘आफ्नै प्रतिनिधि’ छान्ने यो अवसरलाई फेरि उपयोग गर्दैछन्।  

लामो ‘ग्याप’ पछि झन्डै पाँचवर्ष अघि निर्वाचन हुँदा स्थानीय तहले जनप्रतिनिधि पाएका थिए। ती जनप्रतिनिधिको अवधि सकिएर निर्वाचन मार्फत स्थानीय तहमा नयाँ जनप्रतिनिधि चुनिनेछन्। स्थानीय तहमा अब कस्ता प्रतिनिधि ल्याउने भनेर मतदाताबीच बहस सुरु भएको छ। पाँचवर्षे कार्यकाल सकिन थालेका जनप्रतिनिधिको कार्यक्षमता मूल्यांकन गर्दै अब चुनिने प्रतिनिधिबारे नागरिकस्तरमा बहस सुरु भएको छ। राजनीतिक दल सम्भावित उम्मेद्वार छान्ने र चुनावी रणनीति बनाउनमा जुट्न थालेका छन्। सम्भावित उम्मेदवार पनि आफुलाई ‘योग्य व्यक्ति’को रुपमा चिनाउन थालेका छन्।

जनताका समस्या बुझने उम्मेदवार  

झन्डै दुइदशकपछि स्थानीय तहमा निर्वाचन हुँदा अघिल्लोपटक मतदाता निकै नै हौसिएका थिए। आफ्नै प्रतिनिधि पाउने हुँदा मतदातामा उत्साह थियो। जनप्रतिनिधिबाट निकै नै ठुलो अपेक्षा मतदाताले गरेका थिए। तर, निर्वाचनपछि चुनिएर पाँचवर्ष गुजारेका जनप्रतिनिधिको कामप्रति मतदाता उत्तिसारो सन्तुष्ट छैनन। मतदाता भन्छन, ‘जनप्रतिनिधि जनताका प्रनिनिधि बन्न सकेनन, नेताको चाकडीमा भुले, नेताका प्रतिनिधि बने।’  

कास्कीको माछापुच्छ«े गाउँपालिका–३ का मतदाता बसन्तराज दवाडी अहिलेका कतिपय जनप्रतिनिधिको काम गर्ने शैली परम्परागत भएको बताउँछन्। ती जनप्रतिनिधि पञ्चायती शैलीका भएको दवाडीको भनाई छ। ‘केही नाम मात्रका जनप्रतिनिधि भए, उनीहरुसँग प्रजातान्त्रिक र लोकतान्त्रिक शैली भएन,’ दवाडीले भने, ‘लामो समयपछि जनप्रतिनिधि पाउँदा हामी खुसी थियौ। तर, ती मध्ये कतिपय जनताका हुन सकेनन्, दल र नेताको चाकडीमा सिमित भए।’  

परम्परागत ढर्राका ती जनप्रतिनिधि नेताको चाकडीमा भुलेर झन्डै पाँचवर्षे कार्यकाल बिताएको उनले बताए। ‘नेताको चाकडी भन्दा जनताको हित चाहने उम्मेदवार अब छानिनुपर्छ। गास, बास, कपास, स्वास्थ्य र शिक्षालाई सहजीकरण गर्ने खालका जनप्रतिनिधि आवश्यक छ,’ उनले भने, ‘जनताका आवश्यकता पुरा गर्ने खालका जनप्रतिनिधि आवश्यक परेको हो। जनताका समस्याप्रति उनीहरु जानकार हुनुपर्छ।’

रुपा गाउँपालिकाका मतदाता ज्ञानेन्द्र पौडेल पनि जनताको सुखदुख बुझ्ने जनप्रतिनिधि चाहिएको बताउँछन्। रुपा गाउँपालिका–१ स्थित कालिका माविका प्रअ समेत रहेका पौडेलले भने, ‘राजनीति धेरै वर्ष बेहो¥यौ, तर, अबका जनप्रतिनिधि ‘मेरो’ र ‘हाम्रो’ भन्दा पनि ‘राम्रो’ हुनुपर्छ। चाहेमा काम गर्न सक्ने व्यक्ति हुनुपर्छ। जनताको सुख र दुख बुझने हुनुपर्छ।’ पाँचवर्ष अघि चुनिएका जनप्रतिनिधिबाट अपेक्षा गरे अनुसार हुन नसकेको उनले बताए।  

हालका जनप्रतिनिधिले विकास निर्माणमा पहूँचको मात्र उपयोग गरेको उनले बताए। ‘वर्षाैअघिका काम मैले गरेको भनेर ठोकुवा गरे, जुन पहिल्यै भईसकेका थिए। जनप्रतिनिधिको कामको मूल्यांकन अब हुनेछ। जनताको भावना अनुसार उनीहरुले काम गरेको भए अबको चुनावमा निर्वाचित हुन सहज हुन्थ्यो, तर, त्यो हुन सकेन,’ उनले भने।  

पुरानै एजेन्डा  

स्थानीयतहको निर्वाचनमा होमिने राजनीतिक दल पुरानै एजेन्डा बोकाएर उम्मेद्वारलाई अघि सार्दैछन। पाँचवर्षे अवधिमा सबै काम पुरा नभएकोले अपुरा काम पुरा गर्ने अबको दलको एजेन्डा हुने उनीहरुको भनाई छ। अन्नपूर्ण गाउँपालिकाका कांग्रेस सभापति मनपति भण्डारी भन्छन, ‘आगामि निर्वाचनमा पनि जनताका आधारभूत आवश्यकताका विषय नै बोकेर होमिने हो। स्वास्थ्य, शिक्षा, खानेपानी, यातायातका समस्यालाई टड्कारो रुपमा उठाउनेछौ,’ भण्डारीले भने, ‘पुराना एजेन्डा पनि यिनै हुन्। पाँचवर्षको अवधिमा ती सबै पुुरा हुन सकेनन, जादुको भरमा काम हुने होईन, केही अधुरा रहन्छन, अब पुरा गर्छाै।’  

उनका अनुसार अघिल्लो पटक चुनाव जितेपछि गरेका र गर्न बाँकी कामको फेहरिस्त लिएर चुनावी मैदानमा खटिने कांग्रेसको तयारी छ। कृषिमा आधुनिकीकरण, सडकको स्तरोन्नती, खानेपानीको थप बिस्तार, कोरोनाले थलिएको पर्यटनको प्रवद्र्धनजस्ता एजेन्डा आफुहरुसँग रहेको उनले बताए।  

कास्कीकै अर्काे स्थानीयतह मादी गाउँपालिकाका हालका अध्यक्ष बेदबहादुर गुरुङ पाँचवर्षे कार्यकालको अनुभव लिएर अघि बढ्ने बताउँछन। एमालेबाट निर्वाचित गुरुङले अबको निर्वाचनमा पुरानो कामको अनुभवसहित अघि बढ्ने बताए। ‘अबको पाँचवर्षमा मादी गाउँपालिकालाई कहाँसम्म लैजाने भनेर योजना बनाएका छौ, त्यही अनुसार अघि बढ्ने हो,’ उनले भने, ‘चारवर्ष अघि पनि यस्तै योजना बनाएर यहाँसम्म आएका हौ। अब पाँचवर्षको योजना बनाएर अघि बढ्ने हो।’

आफुले स्थानीय सरकारको पहिलो कार्यकालको अवसर पाउँदा जनतासँग अपेक्षा धेरै भएपनि ती सबै पुरा हुन नसकेको उनले बताए। संघीयताको जग बसाल्ने क्रममा योजना, नीतिमा जोड दिँदादिँदै पनि ९० प्रतिशत काम पुरा गर्न आफु सफल भएको उनको दाबी थियो। 

‘पाँचवर्षको अवधि नै पूर्णता होईन, तरपनि ९० प्रतिशत काम ग¥यौ। कामको जग बसालेका छौ, त्यो जगमा टेकेर अबको टिम अघि बढ्नेछ,’ उनले भने, ‘जुनसुकै टिम आएपनि मादीको समृद्धिलाई पुरा गर्नेगरि हामीले बसाएको जग टेकोस भन्ने चाहेका छौ।’  

उनको बुझाईमा गाउँलेका समस्या साझा छन। सडक, खानेपानीको पहुँच, विद्यालय, स्वास्थ्यमा पहुँच, घरघरमा विद्युतीकरण मतदाताका साझा समस्या हुन। ‘गाउँलेका समस्यालाई सहजीकरण गर्दै जाने हो। अपुरा काम आगामि दिनमा पुरा हुनेछन, स्वास्थ्य, शिक्षासँगै समृद्धिमा लैजाने नै हाम्रो एजेन्डा हो,’ उनले भने, ‘अहिलेको जगमै टेकेर आगामि दिनमा काम हुनेछ।’  

पार्टीको रणनीति

अघिल्लो स्थानीयतहको चुनावमा कास्कीका एक महानगर (पोखरा) सहित पाँचवटा स्थानीय तहमध्ये चारवटामा एमाले र एउटामा मात्र कांग्रेसले जित हात पारेको थियो। हिजो जितेको ठाउँमा अहिले पनि जित्न र पराजय बेहोरेको ठाउँमा अहिले विजयी हुनेगरि योजना बनाएको दलले बताएका छन्।  

माओवादी केन्द्रका कास्की संयोजक बखानसिंह गुरुङ भन्छन् ‘हामी अहिले आन्तरिक तयारीमा छौ। उम्मेदवारको मापदण्ड बनाउने क्रममा छौ।’ निर्वाचन तयारी लागि पार्टीको प्रशिक्षण चलिरहेको उनले बताए। उनले आगामि निर्वाचनमा जित्ने खालका सक्षम र लोकप्रीय उम्मेदवार तय गर्ने बताए। ‘जित्ने र लोकप्रीय उम्मेदवार हुनुुपर्छ, सही उम्मेदवार चयन गर्नु पनि ठुलो लडाई जित्नु हो,’ उनले भने, ‘विपक्षी दलले अघि सार्ने उम्मेदवार हेरेर माओवादीले व्यक्ति तय गर्नेछ।’ यसअघि विजयी भएका स्थानीय तहका जनप्रतिनिधिले अपेक्षाकृत रुपमा काम गर्न नसकेको उनले बताए। माओवादी मुल पक्ष बनेर आउन नसक्दा जनताका काम हुन नसकेको उनको भनाई छ।  

एमाले कास्की उपाध्यक्ष तेजनारायण अधिकारी चुनावी रणनीतिका लागि घोषणापत्र बनाउने तयारी भईरहेको बताए। पोखरा महानगरको नेतृत्व एमालेबाटै निर्वाचित मेयर मानबहादुर जिसीले लिएपनि केही काम बाँकी रहेको र ती कामलाई थपेर आगामि निर्वाचनमा रणनीति बनाउने उनले बताए। ‘बाँकी रहेका कामलाई अबको चुनावमा थपेर अघि बढ्ने हो। स्मार्ट सिटीको काम एमालेको प्राथमिकतामा पर्छ,’ अधिकारीले भने, ‘अपुरा कामलाई पुरा गर्नेमा हाम्रो ध्यान हुनेछ।’  

उनको बुझाईमा पोखरा सुन्दर सहर भएकोले जनताको अपेक्षा बढि थियो। ‘ती सबै कुरा पाँचवर्षमा पाउन नसकेका होलान,’ अधिकारीले भने, ‘जनताले विकासको चाहना गरेका छन्, सबै काम एकैपटक हुन नसकेका पनि हुन, तर, अब ती पुरा हुनेछन्।’ उनको बुझाईमा महानगरभित्रका ग्रामिण क्षेत्रका वडालाई कनेक्टिङ सडकमार्फत सहरसम्म जोडिनु नै सबैभन्दा ठुलो सफलता हो। कोभिडका कारण सोचेजति काम हुन नसकेको उनले बताए।  

कांग्रेस कास्कीका सहसचिव नविन सिग्देल अहिले सबै स्थानीय तहसम्म पुग्ने गरि कांग्रेसले चुनावी अभिायान चलाएको बताउँछन। सम्भावित उम्मेद्वारको नाम र चाहना पनि बाहिर आउन थालेको उनले बताए। ‘पार्टीले चुनावमा कसरी अघि बढ्ने भनेर छलफल थालेको छ। रणनीति बनाउने क्रममा छौं,’ उनले भने, ‘उम्मेदवार चयनबारे पार्टीस्तरमा छलफल सुरु भएको छ। यो छलफल अझै केही समय रहन्छ।’  

स्थानीय तहका जनप्रतिनिधिमार्फत गाउँमा विकास भित्रिने भएकोले मतदाताले युवा उम्मेदवारको भूमिका देखेको सिग्देल बताउँछन। ‘परम्परागत ढर्राका भन्दा युवापुस्ताले मात्र जनताको चाहना बुझने भएकोले त्यही अनुसार उम्मेदवारको खोजि मतदाताले गरेका छन्,’ उनले भने।  

कांग्रेस कास्कीका सचिव भानु ढकाल पनि पहिलो चरणमा नेताहरु मतदाताको घरघरमा पुग्न थालेको बताउँछन। ‘अहिले मतदाताको घरसम्म पुग्ने काम भईरहेको छ। अब लोकप्रीय र चुनाव जित्ने खालका उम्मेदवार छनोट हुनेछन्। प्रचारप्रसारको तयारी पनि गर्देछौ,’ ढकालले भने। उम्मेदवार चयन गर्ने बेलामा कांग्रेसभित्र न्यायपूर्ण हिसाबले टिकट नदिने गुनासो आउने गरेकोमा अहिले त्यसमा ब्यापक परिवर्तन गर्ने उनले बताए। ‘चुनावको बेला सेवक र जितेपछि शासक ठान्ने अहिलेका जनप्रतिनिधिको शैली कांग्रेसका उम्मेदवारमा लागु नहुने गरि तय गर्छाै,’ उनले भने।  

अधिकार नपाउँदा स्थानीय तहले काम गर्न सकेनन

स्थानीय निर्वाचनमार्फत दलहरुले सक्षम जनप्रतिनिधिलाई अगाडि बढाउन् भन्ने जनचाहना रहेकोले त्यही अनुसार दलहरु सचेत हुनुपर्ने बुद्धिजिवी बताउँछन्। मैदानबाट नै राजनीति बुझेका नेता नेतृत्वमा आउनुपर्छ भन्ने मतदाताको चाहना रहेको पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल बताउँछन।

‘नेताको नजिक रहेर भन्दा राजनीतिमा भिजेको र जनताको पीरमर्का, दुखसुख बुझेको नेता हुनुपर्छ भन्ने अहिलेको जनचाहना हो,’ दाहालले भने, ‘दलहरुले पनि त्यही अनुसार उम्मेदवार चयन गरेर भूमिका निभाउनुपर्छ।’ उम्मेदवार स्थानीय तहमा कत्तिको भिजेको छ, विकास निर्माणमा कत्तिको अग्रसरता देखाउँछ भन्ने अहिले आवश्यकता रहेको उनले बताए।  

स्थानीय तहका जनप्रतिनिधिले जनताको आँगन र पीढिंमा रहेर काम गरे नगरेको हेरिने उनले बताए। कुन दल, समुह, र आर्थिक रुपमा कत्तिको बलियो छ भनेर हेर्नु भन्दा जनताको सुखदुखमा जानकार भए नभएको हेर्नुपर्ने उनले बताए। हिजो ‘घरघरमा सिहंदरबार’ भनेर सपना बाँड्दा जनताले ठुलो अपेक्षा जनप्रतिनिधिबाट गरेको भएपनि त्यो अनुसार नपाएको उनले बताए। ‘सिंहदरबारको अधिकार गाउँमा ल्याउने भनेर ‘घरघरमा सिंहदरबार’ भनियो, दूूर्भाग्य केन्द्रले त्यो अधिकारलाई गाउँलाई दिएन, केन्द्रीकृत मानसिकता नै रह्यो,’ उनले भने, ‘गाउँमा अघिकार नपुग्नुमा जनप्रतिनिधिको मात्र दोष होइन, केन्द्रकै कारण पनि जनप्रतिनिधिले चाहेजति गर्न सकेनन।’  

गाउँमा सामान्य देखि माथिल्ला तहसम्मका समस्या हुने र ती समस्या समाधानमा नेतृत्वको भूमिका खोजिने भएकोले त्यही अनुसार उम्मेदवार तय गर्नुपर्ने प्राध्यापक दाहालले बताए। ‘चुनाव जितेर आउने प्रतिनिधिबाट समाजका आवश्यकता पुरा होस भन्ने मतदाताले चाहेका छन। मतदाताले स्थानीय तहको प्रतिनिधि चिनेको हुन्छ, त्यही भएर बढी अपेक्षा राख्छ,’ उनले भने, ‘स्थानीय सरकार नै जनताको वास्तविक सरकार हो। त्यसैले जनताको समस्याप्रति जानकार व्यक्ति नै अहिलेको आवश्यकता हो।’

प्रकाशित: ९ चैत्र २०७८ ०८:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App