coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

वाम तालमेलबारे एमालेमा दुई धार

वैशाख ९ मा पार्टी स्थापना दिवस पारेर चुनावी घोषणापत्र सार्वजनिक गरिने

स्थानीय तहको निर्वाचनमा वाम तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा एमालेभित्र दुई धार देखिएको छ। स्थानीय तहको निर्वाचन लक्षित केन्द्रीय तहका बैठकमा वाम तालमेल वा स्थानीय तहको अनुकूलतामा तालमेल भन्नेबारे दुई धार देखिएको हो।

सोमबार बसेको पोलिटब्युरो बैठकमा बोल्ने अधिकांश नेताले सत्ताधारी गठबन्धनलाई पराजित गर्न स्थानीय तहमै तालमेल गर्न छुट दिनुपर्ने आवाज उठाए। तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालमा वाम पार्टी नै नभएको भन्दै तालमेल हुन नसक्ने बताए। पोलिटब्युरो बैठकमा सहभागी नेताहरूले स्थानीय तहको निर्वाचन एमालेविरुद्ध घेराबन्दी भएकै कारण तालमेलको ढोका खुला राख्नुपर्ने बताएपछि ओलीले गठबन्धन वा तालमेल नहुने संकेत गरेका हुन्। ओलीले एमाले सरकार ढाल्ने कुनै पनि तत्वसँग तालमेल नहुने बताएका थिए।  

उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) को नाम नलिई सो पार्टीलाई गठबन्धनमा सहभागी नगराउने संकेत पनि गरे। उनले एमालेबाट ढोका फोरेर, सिसा फुटाएर बाहिर जानेलाई चुकुल नखोल्ने भन्दै त्यस्तो संकेत गरेका हुन्।

पार्टीको पोलिटब्युरो बैठकमा वाम एकताको प्रस्ताव आएपछि नेताहरू दुई धारमा विभाजित भएका थिए। बैठकमा घनश्याम भुसाल, रघुजी पन्त र ठाकुर गैरेले स्थानीय तहमा तालमेल गरेर जानुपर्ने सुझाएका थिए। तर महेश बस्नेत र हिक्मत कार्कीले वाम तालमेल गरेर अलमल्याउने काम गर्न नहुने बताएका थिए। उनीहरूले एमालेलाई सिध्याउन लाग्नेहरूसँग तालमेल नहुनेमा जोड दिए। ओलीनिकट नेता कर्ण थापाले पनि भुसाल, पन्त र गैरेको भनाइलाई खण्डन गरेका थिए।

बैठकमा नेताहरूले एमाले वाम एकताको मूल प्रवाह भएकाले त्यसको नेतृत्व पनि एमालेले नै गर्नुपर्ने बताएका थिए। ‘एमाले वाम एकताको मूल प्रवाह हो। नेकपा विभाजन हुनुको वैचारिक तथा सैद्धान्तिक कारण छैन र निर्वाचनमा वामपन्थी विजय सुनिश्चित गर्न पनि गठबन्धन र वाम एकता आवश्यक छ,’ बैठकमा भुसालले भनेका थिए। नेताहरूले बहुसंख्यक जनता वाम एकताको पक्षमा रहेको बताएका थिए। तर पार्टी अध्यक्ष ओलीले वाम पार्टी नै नभएकाले एकता नै नहुने बताएका थिए। ‘अहिले कसैसँग एकता हुँदैन, देशमा वाम नै छैन, केको एकता?’ ओलीले भनेका थिए, ‘अहिले वामपन्थी एकता हुँदैन। चुनावी एकता हुन्छ।’

बैठकपछि प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बैठकमा वाम एकता र तालमेलको कुरा उठेको जानकारी दिए। तर उनले हल्लाखल्ला गरेर वाम तालमेल नहुने बताए। ‘अधिकांश साथीले चुनावी तालमेलबारे ठोस निर्णय होस् भन्नुभएको थियो। तर हामी अहिले हल्लाखल्ला गरेर वाम एकता भनेर जादैनौं,’ गुरुङले भने।  

उनका अनुसार रिपोर्टिङ, राजनीतिक प्रतिवेदन, विभागको गठन, स्थानीय तह उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्रको तयारी, निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय निर्णयको अनुमोदन लगायत अजेन्डा केन्द्रीय कमिटी बैठकमा पेस गरिने भएको छ। बैठकले केन्द्रीय कमिटी बैठकको प्रस्ताव अनुमोदन गरेको छ। चैत ९ र १० गते बस्ने केन्द्रीय कमिटी बैठकका लागि ११ प्रस्ताव पोलिटब्युरोबाट पारित भएका छन्। यसअघि नै एमाले सचिवालय बैठकले नगरपालिकाको प्रमुखउपप्रमुखको उम्मेदवारको सिफारिस जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने मापदण्ड बनाएको छ। महानगर र उपमहानगरको उम्मेदवार भने प्रदेशको सिफारिसमा केन्द्रले गर्ने तय भएको छ।

लोकप्रियता, जनाधार, पार्टीप्रतिको निष्ठालगायत ६ वटा मापदण्डका आधारमा उम्मेदवार तय हुने एमालेले जनाएको छ।

प्रचार विभाग प्रमुख गुरुङका अनुसार स्थानीय तहमा वडाध्यक्ष र वडा सदस्य वडा कमिटीले सिफारिस गर्ने र त्यसको निर्णय पालिका कमिटीहरूले गर्नेछन्। त्यसैगरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तय गर्न गाउँ कमिटीले सुझाव दिने र त्यसैका आधारमा सम्बन्धित जिल्ला कमिटीले सिफारिस गरेपछि प्रदेश कमिटीले निर्णय गर्ने गरी मापदण्ड बनाइएको हो। नगरपालिकाका मेयरउपमेयरको प्रदेश कमिटीले नै निर्णय गर्नेछ। उपमहानगरपालिका र महानगरपालिकाको मेयरउपमेयर भने प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्नेछ। विगतको कामको मूल्यांकन, उनीहरूको कार्यक्षमता, विकास र सुशासनप्रतिको उनीहरूको दृष्टिकोण उम्मेदवार चयनका मुख्य मापदण्ड भएको एमालेले जनाएको छ।

एमालेले वैशाख ९ मा पार्टी स्थापना दिवसमा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। सोमबारको पोलिटब्युरो बैठकले सो निर्णय गरेको हो। एमाले चुनावी घोषणापत्र बनाउन विज्ञहरूको समिति नै बनाएको छ। सो समितिले काम गरिरहेको छ। एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले गरेका राम्रा कामहरूको उल्लेख गर्दै आगामी योजनाबारे उल्लेख गरिएको छ।

कांग्रेसबाहेकको गठबन्धन!

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा कांग्रेसबाहेक पनि गठबन्धनको तयारी गरेर जानुपर्ने प्रस्ताव गरेको खुलेको छ। नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालसँग यस्तो प्रस्ताव गरेको खुलेको हो।

‘कांग्रेसले आफ्नो पार्टीबाट निर्णय नगर्दासम्म तत्काललाई माओवादी र नेकपा एसले मात्र भए पनि चुनावी तयारी गर्दै गरौं भन्ने दाहालको प्रस्ताव थियो,’ नेकपा एसका अध्यक्ष नेपालले सोमबार काठमाडौंको एक कार्यक्रममा भनेका थिए। उनले काठमाडौंको शंकरापुर नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय तहको निर्वाचन नजिकै आएकाले नेकपा एस र माओवादी केन्द्रबीच तालमेलको कुरा गरेको बताएका थिए।

अध्यक्ष नेपालका स्वकीय सचिव एवं नेकपा एसका केन्द्रीय सदस्य मोहन गौतमका अनुसार गठबन्धन नहुने वा कांगे्रेसबाहेकको गठबन्धन हुनेबारे अध्यक्ष नेपालले कुनै धारणा राखेका छैनन्। ‘उहाँले प्रचण्ड (दाहाल) सँग भएको कुराकानीको सन्दर्भ उठाउँदै गठबन्धनको विषयमा आफूहरू पनि चिन्तित रहेको बताउनुभएको हो,’ उनले भने।

प्रकाशित: ८ चैत्र २०७८ ००:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App