२७ फाल्गुन २०८१ मंगलबार
image/svg+xml
राजनीति

गठबन्धन कसरी र कुन तहमा हुन्छ भन्ने कुराको ‘मोडालिटी’ तयार भएको छैनः कांग्रेस प्रवक्ता

पत्रकार भेटघाटमा बोल्दै कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महत। तस्बिर: नागरिक

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले स्थानीय तह निर्वाचन लक्षित गठबन्धनबारे अहिलेसम्म कुनै तयारी नभएको बताएका छन्। तर, गठबन्धनको सम्भावनालाई नकार्न नसकिने उनको भनाइ छ।  

नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा नेता महतले गठबन्धनको विषयमा अहिले केही भन्नुपर्ने आवश्यकता नभएको बताए। ‘गठबन्धनको सम्भावनालाई अहिले नकार्न सकिँदैन, तर कसरी हुन्छ, कुन तहमा हुन्छ भन्ने कुराको ‘मोडालिटी’ अहिले तयार भएको छैन,’ उनले भने, ‘अरुको प्रस्ताव कस्तो आउँछ, त्यसमा निर्भर गर्छ, यी तमाम कुरामा निर्भर हुन्छ, नेतृत्वमा तहमा छलफल हुन्छ।’  

स्थानीय तहको परिस्थितीका आधारमा पनि पार्टीको केन्द्रीय समितिले नीति बनाउने र सोही नीति अनुसार अगाडि बढ्ने प्रष्ट्याए। ‘तर जुनसुकै मोडलबाट गएपनि लक्ष्य के हो भने बढी सिट जित्ने र हरेकको त्यही लक्ष्य हुन्छ, के गर्दा बढी सिट हुन्छ, त्यसकारण गठबन्धन गर्न हुन्छ÷हुँदैन भन्ने बहसमा हामी कोही पनि नपर्न र अहिले शुद्ध निर्णय प्रक्रियामा नपुगुञ्जेलसम्म हामीले पार्टीलाई ज्यादाभन्दा ज्यादा बलियो पार्ने, बढीभन्दा बढी जनतालाई नेपाली कांग्रेससँग जोड्ने काम गर्नुपर्छ,’ नेता महतले भने।

गठबन्धनका विषयमा अहिले भावनामा बगेर मात्र केही नहुने उनको धारणा छ। पार्टीको केन्द्रीय समिति बैठक यही चैत ११ गते बस्ने र कसरी जाने भन्ने दिशा निर्देश सोही बैठकले गर्ने प्रवक्ता महतले जानकारी दिए। पार्टीले सुरु गरेको ‘घर घर जाऔं, कांगे्रस जिताऔं’ भन्ने अभियान गठबन्धनसँग सम्बन्धित नभएको बताए। एमसिसी पास गर्दा गठबन्धनको विषयमा कुनै सहमति नभएको नेता उनको दाबी छ। स्थानीय तहको निर्वाचन नजिक आइसकेकाले कांग्रेसले यही चैत महिनाभित्रमा उम्मेदवारको टुंगो लगाउन कोसिस गर्ने बताए।

‘अन्तिम दर्ता गर्ने समयमा पनि कसले टिकट पाउने भनेर कुर्दैनौं, चैत महिना भित्र नै यसको टुंगो लगाउने कोशिस हामीले गर्छौ, त्यसको लागि निर्णय गर्ने अधिकार पनि विभिन्न तहमा प्रत्यायोजित छ, विकेन्द्रित छ,’ उनले भने, ‘पार्टीले चाही संयन्त्र बनाएर त्यसलाई सम्बोधन गर्नेछ।’  

पार्टीमा लागेका र बलिया व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने तर टिकट वितरणमा कसैमाथि पनि पक्षपात गर्न नहुने नेता महतले जोड दिए। ‘यसमा यो पक्ष, उ पक्ष भनेर पार्टीका साथीहरु र कदापी पार्टी नेतृत्व नलाग्नु होला, जित्नु पर्छ निर्वाचनमा जाने भनेको जित्नको लागि हो,’ उनले भने, ‘जितेपछि मात्र हामी देशको साधन, स्रोत जनताको पक्षमा सदुपयोग गर्न सक्छौं, जनताको सेवामा हामी समर्पित हुन सक्छौं।’  

सत्तामा पुगेर पार्टीको नीति, कार्यक्रम लागु गर्ने र जनताप्रति समर्पित हुनका लागि पार्टी निर्माण गरेको उल्लेख गर्दै कांग्रेस कुनै क्लब नभएको प्रवक्ता महतले प्रष्ट्याए।  

अर्को प्रसंगमा एमसिसीले नेपालको अन्तर्राष्ट्रिय जगतमा नेपालका छवि गिरेको बताए। नेपाली कांगे्रेसका कारण यर्थात कुरा स्थापित भएको जिकिर गरे। ‘अन्ततः सत्यको जित भएको छ, यो कार्यान्वयन हुन्छ, कार्यान्वयन भएपछि धेरै कुरा खुल्छ, नेपालको बारेमा अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि गिरेको छ,’ उनले भने, ‘नेपालको नेतृत्व कस्तो हो, पार्टी कस्ता हुन्, मन्त्रिपरिषदबाट पारित गर्छन्, आफै बस्छन्, निर्णय गर्छन्, माग गर्छन्, आफै राष्ट्रघाती भन्छन्, ‘आफै सठडकमा उफ्रिन्छन् भनेर नेपालको बेइज्जत भएको छ।’  

एमसिसीका विषयमा विपक्षी दलले भ्रमको खेती गरेको महतले आरोप लगाए। ‘हामी सत्तामा रहँदा पनि सत्ता बाहिर रहँदा पनि एउटै कुरा गर्छौ, सत्यको पछि हामी उभिन्छौं, विपी कोइरालाले धेरै अगाडि भन्नु भएको थियो, जब सत्यको मुख बन्द हुन्छ, झुटोको थुतुनो चल्छ,’ उनले अगाडि थपे। एमसिसी अनुदान विकास सहयोग मात्र भएको र यो नेपालको आवश्यकता अनुसार सहयोग स्वरुप आएको बताए। प्रधानमन्त्री शेरबहादुर देउवाका कारण एमसिसी पारित भएको र यसले कांग्रेसको पनि देश/विदेशमा इज्जत बढाएको प्रवक्ता महतको जिकिर छ।

प्रकाशित: ५ चैत्र २०७८ १३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App