coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

स्थानीय तहको चुनावी तयारीः माहोल बनाउँदै गाउँमा नेता

चुनावी माहोल बनाउन कैलालीको लम्कीमा आम भेला गर्दै नेपाली कांग्रेसका नेताहरु। तस्बिरः नागरिक

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँको माहोल सपार्न अहिले राजनीतिक दलका नेताहरू गाउँ तथा टोल केन्द्रित भएका छन्। अहिले राजनीतिक दलहरुले टोल गई टोल भेला गर्नुका साथै गाउँ तथा नगरमा आम भेलाको तयारी गर्न थालेका छन्। स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै यहाँका सक्रिय राजनीतिक दलका नेताहरु मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्नुका साथै चुनावी माहोल बनाउन गाउँ टोल छिरेका हुन्।  

‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नारा बोकेर आइतबारबाट कांग्रेसले देशैभर अभियान थालिसक्यो। यस्तै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीलगायतका राजनीतिक दलका नेता तथा कार्यकर्ता स्थानीय तहको निर्वाचनका लागि माहोल सपार्न अहिले गाउँगाउँ छिरेका छन्। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनरायण शाह ‘मनु’ ले अहिले कांग्रेस टोल समिति गठन गरेर वडास्तरिय कार्यक्रममा गाउँ गाउँ छिरेको बताए। उनले भने,‘हामी चुनावी रणनीति बनाउँदै मतदाताका पीर मर्का बुझ्न फेरि गाउँ छिरेका छौँ।’ टोल टोलमा आफूहरुका संयन्त्र भए पनि उनीहरुको पीडा समस्या र थप ऊर्जा दिन कांग्रेस नेताहरु टोल, गाउँ तथा पालिका स्तरसम्म छिरेको उनले बताए।  

यस्तै निर्वाचनको मिति घोषणा भए लगत्तै नेकपा एमाले पनि गाउँ छिरेको छ। अहिले नेकपा एमाले कैलालीका सबै वडामा पुगेर टोल कमिटी गठन गरिरहेको छ। एमाले कैलालीका नेता रणबहादुर चन्दका अनुसार नेकपा एमाले अहिले चुनाव केन्द्रित प्रशिक्षण अभियान लिएर गाउँगाउँ छिरेको छ। ‘हामी चुनाव केन्द्रित प्रशिक्षण अभियान लिएर गाउँगाउँ छिरेका छौँ’, नेता चन्दले भने,‘वडा सकेर पालिकाहुँदै क्षेत्र र जिल्लामा जाने तयारीमा छौँ।’ एमाले कैलालीले जिल्ला कमिटीको बैठक राखेर चैत १५ गतेसम्म जिल्लाका सबै पालिकासम्म चैत १५ गतेसम्म वडा कमिटी गठन गरेर मतदाताकहाँ पुगिसक्ने कार्यक्रम रहेको उनले बताए। ‘हामी चैत १५ गतेसम्म जिल्लाका सबै पालिकामा रहेका मतदाताको घरदैलो गर्दै अभियान सक्ने लक्ष्यसहित गाउँ छिरेका छौँ’, उनले भने,‘यो अभियान द्रुत गतिमा चलिरहेको छ।’  

नेकपा माओवादी केन्द्रले भने सुदूरपश्चिम स्तरीय भेलाको तयारी गरेको छ। सोमबार केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रम गरेर चुनावी अभियानमा जाने बताइएको छ। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षीराम आचार्यका अनुसार केन्द्रीय अध्यक्षको प्रशिक्षणपश्चात आफूहरु गाउँ टोलमा गएर चुनाव लक्षित कार्यक्रम गर्ने बताए। ‘हामी कमरेड प्रचण्डको प्रशिक्षणपछि बुधबारदेखि नै गाउँ केन्द्रित हुनेछौँ’, उनले भने,‘सोमबारका दिन भने कमरेड प्रचण्डको प्रशिक्षणमा चुनावी रणनीति हुनेछ, सोही सन्देशलाई लिएर हामी गाउँ छिर्नेछौँ।’  

यता राष्ट्रिय प्रजातन्त्र पार्टीले सुदूरपश्चिममा आफ्नो गतिविधि बढाएको छ। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले गाउँ टोल भेला गर्दै टोलसम्म आफ्नो संगठन विस्तार गरिरहेको छ। यसअघि सुस्ताएको राप्रपा अहिले भने पुनः व्युँतिएको कार्यकर्ता बताउँछन्। ‘अहिले राप्रपाको गाउँमा जनलहर राम्रै देखिएको छ’, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बमले भने,‘गाउँमा जनलहर राम्रै भएपछि हामीले पनि गाउँ टोलसम्म पुगेर मतदाता तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरिरहेका छौँ।’  

गाउँगाउँमा राजनीतिक दलका नेताहरु चुनाव लक्षित कार्यक्रम लिएर गएपछि गाउँको माहोलै तातेको कांग्रेस कैललाी जिल्ला सदस्य तथा युवा नेता भोजबहादुर बमले बताए। उनले भने,‘अहिले गाउँका चिया पसलदेखि चौक चौतारासम्म आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनकै चर्चा परिचर्चा चलिरहेको छ।’ गाउँमा विभिन्न राजनीतिक दलका कार्यकर्ताहरु चुनावी रणनीति लिएर गएको बताउँदै उनले भने,‘हामीले पनि चुनावी रणनीति लगेर मतदाता आफ्नो पक्षमा पार्न माहोल तताइरहेका छौँ।’ स्थानीय तहमा अहिले सञ्चालन गरिरहेको सरकारको समीक्षा गर्दै आगामी रणनीति र मतदाताका पिर मर्का बुझिरहेको उनले बताए। ‘हामी मतदाताका पीर मर्का र उनीहरुलाई एकतावद्ध गर्दै चुनावी माहोल बनाउन गाउँ छिरेका छौँ’, उनले भने,‘कांग्रेससँगै अहिले सबै राजनीतिक दल गाउँ केन्द्रीत बनेकाले गाउँको माहोलै फरक देखिएको छ।’

निर्वाचन नजिकिँदै गर्दा पालिकाका अधिकांस जनप्रतिनिधिहरु पनि चुनावी गृहकार्यमा जुट्न लागिसकेको उनले बताए। ‘गाउँमा रहेको वडादेखि पालिकासम्मका जनप्रतिनिधिहरु पार्टीको चुनावी गृहकार्यमा जुटिसकेका छन्’, उनले भने, ‘पार्टीको निर्देशनअनुसार सबै जनप्रतिनिधिदेखि नेता तथा कार्यकर्तासम्म चुनावी माहोल बनाउन लागेका छन्।’

प्रकाशित: २९ फाल्गुन २०७८ १४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App