६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

जंगे प्रचण्ड र माधव अहिले बुंगे भएः ओली

प्रेस चौतारीको पोखरामा शुक्रबार सुरु भएको महाधिवेशनमा बोल्दै ओली। तस्बिरः उमेश पुन/नागरिक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जंगे पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल अहिले बुंगे भएको टिप्पणी गरेका छन्।

नेकपा एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको शुक्रबारदेखि पोखरामा सुरु भएको महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएका बेला जंगे बनेका प्रचण्ड र माधव नेपाल अहिले बुंगे भएको टिप्पणी गरेका हुन्।

एकताबद्ध नहुँदा के हुन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै ओलीले, ‘प्रचण्डलाई दशा लाग्यो। माधव नेपाललाई पनि दशा लाग्यो। त्यहि भएर हुँदाखाँदाको एकताबद्ध छाडेर पार्टी विभाजित गरे। त्यसबेला जंगे थिए, अहिले बुंगे भए।’ प्रचण्ड र माधवले अहिले कांग्रेसको आश गरेर बस्नुपरेको भन्दै उनले थपे,‘अहिले ढोका बाहिर चिहाएर बस्छन्, कतै ढोकाबाहिर प्रसाद ल्याउँछन् कि भनेर।’ उनले एकताबद्ध भएर प्रेस चौतारीमा उभिन पत्रकारलाई आग्रह समेत गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतको फैसलाले नेपालमा गोरु ब्याएको टिप्पणी गरे। ‘पहिले पहिले गोरु ब्याउँदैन भनिन्थ्यो, तर सर्वोच्चको फैसलापछि नेपालमा गोरु ब्याउँदैन होईन, पाँच–पाँच वटा बाच्छा पायो,’उनले भने। उनले संसारमा कहिँ नभएको परमादेशी सरकार नेपालमा बनेको बताए। सरकार संसदबाट बन्नुपर्ने भएपनि मुद्दा मामिला गरेर अदालतबाट परमादेशी सरकार बनाएको उनको आरोप थियो।

आफू सरकारमा हुँदा गरेका कामलाई सञ्चारमाध्यमले सही तरिकाले नलेखेको पनि उनले बताए। धरहरा र रानीपोखरी बनाएपनि संचारमाध्यमले सहिरुपमा नलेखेको उनको आरोप थियो। 

प्रकाशित: २७ फाल्गुन २०७८ ०९:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App