१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

एमसीसीका कारण गठबन्धन अझ मजबुत बन्याेः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण गठबन्धन अझ मजबूत बनेको बताएका छन्।

प्रचण्डले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दल चुनावी तालमेल गरेर अघि बढ्ने पनि बताए। ‘एमसीसीका कारण गठबन्धन टुट्ने र फेरि देशमा अस्थिरता आउने आशंका थियो,त्यो हामीले तोडेका छौं,’ शुक्रबार वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘एमसीसीका कारण गठबन्धन अझ मजबुत भएको छ,स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल हुन्छ।’  

उनले केहीले एक्लाएक्लै चुनावमा जानुपर्छ भन्ने धारणा राखे पनि पहिलो पुस्ताका नेताहरू गठबन्धन गरेर चुनावमा जाने विषयमा एकमत रहेको बताए। ‘पहिलो पुस्ताकै हातमा पार्टी नेतृत्व छ,’ उनले भने, ‘केहीले एक्लाएक्लै चुनावमा जाने विचार व्यक्त गरेपनि नेतृत्वबीच चुनावी तालमेल गरेर जाने अनौपचारिक निर्णय भइसकेको छ।’

प्रचण्डले एमसीसी पारित गरेर गठबन्धन दलहरुले देशलाई गम्भीर दुर्घटनाबाट जोगाएको पनि बताए। ‘एउटा परियोजनाको कारणले देशको राष्ट्रिय राजनीति र नेपाली समाजनै विभाजित हुने अवस्था थियो,’ उनले भने, ‘व्याख्यात्मक घोषणा गरेर एमसीसीको बैधानिक समाधान गर्‍यौं।’

उनले सरकारकोतर्फबाट केही प्रश्नहरू गरेर एमसीसीको उत्तरहरुमा आधारित रहेर व्याख्यात्मक घोषणा तयार पारिएको बताए। ‘१२ बुँदे घोषणालाई संझौताकै अंगका रुपमा एकै पटक संसदमा पारित गर्‍यौं,’ उनले भने, ‘यसमा अमेरिकी एमसीसी परीयोजनाको समर्थन प्राप्त भएपछि यो घोषणाको महत्व अझ बढेको छ, अब एमसीसी परियोजना औपचारिक रूपमा अघि बढ्यो।’

प्रचण्डले माओवादीभित्र एमसीसीका विषयमा कुनै विवाद नरहेको उनले बताए। ‘केन्द्रीय कमिटी बैठकले एमसीसीका बारेमा देखिएका मदभेदलाई अन्त्य गर्दै निर्वाचन अभियानमा एकतावद्ध ढंगले अघि बढ्ने निर्णय गरिसकेको छ,’ प्रचण्डले भने, ‘त्यहीँ अभियानका क्रममा पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिन कर्णाली प्रदेशमा आएका छौं।‘

प्रचण्डले तत्कालीन नेकपा एमालेसँग गरिएको चुनावी तालमेल र पार्टी एकतालाई गठबन्धन भन्न नमिल्ने बताए। ‘एमालेसँग गरिएको चुनावी तालमेल र पार्टी एकता कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने र देशको राजनीतिलाईनै स्थायित्व दिने उद्देश्यद्वारा गरिएको पहल कदमी थियो,’ उनले भने, ‘त्यो ऐतिहासिक थियो।’ उनले जुन उद्देश्यका लागि पार्टी एकता गरिएको थियो, त्यो उद्देश्य विपरित सरकार र पार्टीको मूल नेतृत्वलेनै संविधान र लोकतन्त्रमाथि घात गरेकाले त्यसका विरुद्ध आफूहरु उभिएको बताए।

उनले माओवादी केन्द्र अहिले पनि देशको राजनीतिलाई कतातिर डोर्‍याउने भन्ने निर्णायक शक्ति भएको बताए। ‘माओवादी पार्टी र त्यसको नेतृत्व देशलाई गति दिने र स्थायित्व दिने काममा छ,’ उनले भने, ‘पार्टीलाई एकतावद्ध गर्दै निर्वाचन अभियानमा सृजनशिल तरिकाले प्रस्तुत हुँदै फेरि पनि अझ निर्णायक भूमिका खेल्छौं।’

प्रकाशित: २७ फाल्गुन २०७८ ०४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App