२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमसीसी संसदबाट पारित गर्न दिएर सभामुखले अर्को गल्ती गरे: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसदबाट पारित भईसकेकाले यसलाई कार्यान्वयन गरेर लैजानुको विकल्प नरहेको बताएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले देशको हित हुनेगरी सो सम्झौंता पारित नगरे आफ्नो पार्टीलाई सैह्य नहुने चेतावनी समेत दिए। सो सम्झौंताबारे मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले देशको विकासको पक्षमा, सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधिनताको पक्षमा अलिकति पनि कुनै पनि प्रावधानले तलमाथि नपर्ने गरी त्यसलाई कार्यान्वयन गरेर अघि बढाउन सरकारलाई सचेत गराए। यदि कुनै हिसावले देशको सार्वभौमसत्तामा, स्वाधिनतामा, स्वतन्त्रतामा वा हाम्रो राष्ट्रिय हितमा, राष्ट्रिय स्वाभिमानमा कहीँ पनि तलमाथि पार्न खोजियो भने नेकपा एमालेलाई त्यो मान्य हुन नसक्ने अध्यक्ष ओलीको भनाई थियो। 

अध्यक्ष ओलीले सभामुख अग्नीप्रसाद सापकोटाले संवैधानिक रुपमानै मृत भईसकेको एमसीसी सम्झौंतालाई संसदबाट पारित गर्न दिएर अर्को गम्भिर गल्ती गरेको आरोप लगाए। ३ वर्ष अगाडि, ६ वटा जति अधिवेशन अगाडि अधिवेशनमा पेश गरिएको भनिएको प्रस्तावलाई अहिले पेश नै नगरी गैरकानुनी ढंगले मृत्य प्रस्ताव, अस्तित्वमा नरहेको प्रस्ताव अस्तित्वमा छ भनेर तथाकथित छलफल गर्ने र निर्णय गर्ने असंवैधानिक र गैरकानुनी काम फेरी पनि सभामुख सापकोटाले सरकारलाई गर्न लगाएको अध्यक्ष ओलीको दावी थियो।  

उनले सरकारले पनि सो सम्बन्धमा संसदमा नयाँ प्रस्ताव नल्याएर गल्ती गरेको बताए। संसदबाट पारित गरिएको व्याख्यात्मक घोषणाको एमसीसीसँग कुनै सम्बन्ध नरहेको अध्यक्ष ओलीले स्पष्ट पारे। उनले सत्तारुढ दलहरुले आफ्नो लाज छोप्न, नेपाली जनतालाई अल्मल्याउन व्याख्यात्मक घोषणा संसदबाट पारित गरेर ठगी धन्दा चलाएको तर्क समेत गरे।

अध्यक्ष ओलीले आफ्नो पार्टीले सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा पर्खेर बसेको बताए। उनले सभामुख सापकोटाले राजीनामा नदिए संसदमा महाअभियोग लगाउन सक्ने पनि बताए। तर, सभामुख सापकोटाकोे ससम्मान बर्हिगमन आफ्नो पार्टीले चाहेको अध्यक्ष ओलीको भनाई थियो।अध्यक्ष ओलीले संशोधनका कुरा गर्नेहरुले पनि यथास्थितिमा एमसीसी पास गरेको भन्दै आपत्ति जनाए।

प्रकाशित: १७ फाल्गुन २०७८ १०:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App