३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

एमसीसीको विषयमा अनावश्यक भ्रम फैलाइयो: रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिलाई सँगै लैजानुपर्ने बताएका छन्। तनहुँको भानु नगरपालिका–११ रुपाकोटमा आज आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले विकासलाई केवल नारामा सीमित नगरी राजनीतिसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिए।

'राजनीति र विकाससँगै लैजान सके मात्र जनताको समस्या समाधान गर्न सकिन्छ, जनताको सेवा गर्नका लागि नै हामीले राजनीति गरेका हौँ', पौडेलले भने। उनले जनताको हरेक समस्या समाधानका लागि जनप्रतिनिधि सदैव प्रतिबद्ध हुनुपर्ने बताए। चौतर्फी विकास अहिलेको आवश्यकता रहेको बताउँदै पौडेलले विकासका लागि इच्छाशक्ति र समर्पण आवश्यक रहेको औल्याए।

'जनप्रतिनिधिमा विकास दृष्टि चाहिन्छ, म पनि पहिल्यैदेखि विकासका लागि परेको छु र सदैव लागिरहनेछु', उनले भने। सो अवसरमा वरिष्ठ नेता पौडेलले नेपालको विकासका लागि एमसिसी आवश्यक रहेकाले यसलाई पारित गर्नुपर्ने बताए।

एमसीसी अमेरिकी जनताको उपहार भएको बताउँदै वरिष्ठ नेता पौडेलले एमसीसीको विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप लगाए। वरिष्ठ नेता पौडेलले आज नै व्यास नगरपालिकास्थित कालिकामार्गसमेतको अवलोकन गरेका छन्।

बुधबार गृहजिल्ला आइपुगेका वरिष्ठ नेता पौडेलले बिहीबार व्यास नगरपालिका–७ कलेस्ती, गजौडे, वृता, भानुको टुहुरेपसल र रम्घाटार, महन्ते हटिया, देउरालीटारमा कार्यकर्ता भेटघाट गरेका छन्। रासस 

प्रकाशित: १३ फाल्गुन २०७८ १३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App