४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अलि खतरनाक नै हुन्छ निर्वाचनमा देखाइने कार्डः दिनेशकुमार थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई फुटबल खेलाडीलाई जस्तै नियम उलङ्घन भयो भनी रेडकार्ड देखाउने अवस्था सिर्जना नगर्न सुझाव दिएका छन्।

निर्वाचन आयोगद्वारा छैटौँ निर्वाचन दिवसका अवसमा आयोजित कार्यक्रममा उनले फुटबलमा विभिन्न कार्ड देखाउँदा सचेत गराउने अवस्था रहे पनि निर्वाचनमा देखाउने कार्डअलि खतर्नाक रहने भएको हुँदा त्यसलार्ई समयमै महसुस गर्न दल र उम्मेदवारलाई आग्रह गरे।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “निर्वाचन फुटबल खेल जस्तै हो, राजनीति दल र उम्मेदवार खेलाडीका रुपमा मैदानमा आउनुहुन्छ। आयोग रेफ्रिको भूमिकामा हुन्छ, निर्वाचनका समयमा मैदानमा रहेका खेलाडी (दल र खेलाडी)ले नियम उलङ्घन (फल्ट) गरिहाल्छ कि भनेर हेर्नु पर्ने हुन्छ।” 

फल्ट भए/नभएको हेर्ने आयोगसहित निर्वाचनमा खटिने दुई लाख ५० हजारभन्दा बढी जनशक्तिको जिम्मेवारी रहेको बताउँदै उनले भने, “हामी चाहन्छौँ, कसैले कसैलाई फल्ट गर्‍यो भनेर रातो कार्ड देखाउनुपर्ने अवस्था सिर्जना नहोस्।”

प्रमुख आयुक्त थपलियाले आयोग र मातहतका कर्मचारीलाई निर्वाचनको तयारीलाई विशिष्ट अङ्क ल्याएर परीक्षा उत्तीर्ण गर्ने अवसरका रुपमा लिएर काम गर्न सुझाव दिँदै तपाईले दिँदै आएको परीक्षाभन्दा यो पटकको निर्वाचनका जिम्मेवारी फरक छ, यो परीक्षामा असफल हुने छुट तपाई हामी कसैलाई छैन बताए।

उनले भने, “एकै चरणमा सबै स्थानीय तहमा निर्वाचन हुँदा स्वभाविक कामको चटारो हामीलाई छ, अहिले थोरै समयमा धेरै गर्नुपर्ने हुन्छ, निर्वाचन परीक्षा भएकाले उत्कृष्ट अङ्क लिएर सफल हुनैपर्छ।”  

आफैँ निर्देशित भएर काम गर्नुस्,

निर्वाचन आयुक्त डा. जानकी तुलाधरले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले सबैपक्षको सहमति सुनिश्चित गर्दै समन्वय र सहकार्यको खाँचो औँल्याइन्। निर्वाचन आयुक्त सगुन शमशेर राणाले निर्वाचनलाई सहजरुपमा सफल तुल्याउन सामूहिक दायित्वकारुपमा बुझेर काम गर्न आवश्यक रहेको बताइन्।

यस्तै निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले स्वच्छ, निष्पक्ष, भयमुक्त विश्वासिलो र मितव्ययी निर्वाचन गर्ने आयोगको पुनित जिम्मेवारीलाई हामी सबैले अवसरका रुपमा लिएर पूरा गर्नुपर्छ भने। आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले निर्वाचनमा बेरुजु नआउने गरी काम गर्न र जिल्लामा निर्वाचनको वातावरण सिर्जना गर्न सुझाव दिए। निर्वाचन दिवसको मूल नारा ‘निर्वाचनमा सबै, सधैँ सँगै’ भन्ने रहेको छ।

सो अवसरमा प्रमुख आयुक्त थपलियाले आयोगका २० वर्ष सेवा गर्ने तथा उत्कृष्ट कार्यसम्पादन गर्ने १० कर्मचारीलाई पुरस्कार घोषणा गरियो। सो अवसरमा त्यहाँ उपस्थित तीन जनालाई पुरस्कार प्रदान गरियो। कार्यक्रममा निर्वाचन स्मारिकासमेत विमोचन गरियो।रासस

प्रकाशित: ७ फाल्गुन २०७८ ११:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App