४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमसीसीबारे कम्युनिष्टले जनतामा भ्रम सिर्जना गरे: कांग्रेस सह-महामन्त्री

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठौंर। तस्बिर: अर्जुन/नागरिक

नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौंरले एमसीसीबारे कम्युनिष्टले जनतामा भ्रम सिर्जना गरेको बताएका छन्। नेपाली कांग्रेस राप्ती सोनारीको कार्यालय उद्घाटन तथा कार्यकर्ता भेटघाटलाई बिहीबार सम्बोधन गर्दै उनले एमसीसीलाई कम्युनिष्ट पार्टीको सरकारले संसदमा दर्ता गरेको र त्यसलाई अहिले कांग्रेस नेतृत्वको सरकारले संसदमा छलफल गराउन खोजेको बताए।  

‘छलफल गरेर एउटा निकास दिउँ, जनताको निर्वाचित संस्था भनेको संसद हो,’ उनले भने ‘संसदमा छलफल गरेर त्यसमा के कुरा गर्नुपर्ने हो, परिमार्जन गर्नुपर्ने भए गरौं, के गर्न सकिन्छ गरौं।’ कम्युनिष्ट पार्टीले एकपछि अर्को गल्ती गर्दै जाने र सम्पूर्ण दोष नेपाली कांग्रेसलाई दिन नपाइने प्रतिनिधी सभाका सांसद समेत रहेका राठौंरले बताए। ‘हामी जिम्मेवारी लिन तयार छौं,’ उनले भने। एमसीसी आउँदाखेरी यो देशमा अमेरिकी सेना आउने र देश नै कब्जा गर्ने भनेर कम्युनिष्टहरुले निराधार रुपले हल्ला फिजाएको बताए।

अर्को प्रसंगमा सह–महामन्त्री राठौंरले स्थानीय तहको निर्वाचन नजिक आइसकेको अवस्थामा नेपाली कांग्रेसलाई वडादेखी पालिकासम्म जिताउन कार्यकर्ताहरु अहिलेदेखी नै सक्रिय हुनुपर्ने बताए। ‘यो देशको जिम्मेवार पार्टी भनेको नेपाली कांग्रेस हो, जनताप्रति उत्तरदायी पार्टी नेपाली कांग्रेस हो, जहिले जहिले हामीले जिम्मेवारी पाएका छौं, त्यो जिम्मेवारी हामीले पुरा गरेका छौं,’ उनले भने।  

अहिलेसम्म जति विकास भएको छ, त्यो नेपाली कांग्रेसले गरेको दाबी गरे। भोलीका दिनमा पनि बाँकी रहेका भौतिक संरचना र जनताका समस्यालाई कांग्रेसले सम्बोधन गर्ने प्रतिवद्धता जनाए। पार्टीलाई विचलित गर्ने खालका अभिब्यक्ति आउँदा दिनमा नदिन र त्यस्ता गतिविधी नगर्न चेतावनी दिए। ‘पार्टीमा न्याय हुनुपर्छ, नेताले न्याय गर्नुपर्छ, म कुन तहमा छु, कुन जिम्मेवारीमा छु भन्ने महसुस गर्नुपर्छ,’ उनले थपे।  

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले स्थानीय तहको आसन्न निर्वाचनमा कांग्रेस नै देशको पहिलो शक्ती हुने दाबी गरे। नेपाली कांग्रेसप्रति जनताको लहर नै चलेको भन्दै कांग्रेसलाई जिताउने अभियानमा सबै लाग्न कार्यकर्तालाई आग्रह गरे। कांग्रेसले जितेपछि मात्र देशमा विकास र समृद्धि सम्भव रहेको बताए। लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले आगामी निर्वाचनमा स्थानीयदेखी केन्द्रसम्म कांग्रेसले जित्ने र कांग्रेसकै नेतृत्वमा सरकार बन्ने विश्वास गरे।

प्रकाशित: ५ फाल्गुन २०७८ १४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App