१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मधेस सरकारको चार वर्षे उपलब्धिको फेहरिस्त

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मंगलबार चार वर्षका ‘उपलब्धि’ सार्वजनिक गरेका छन्। मुख्यमन्त्रीले सार्वजनिक गरिएको ‘उपलब्धि’मा विकासदेखि विधेयकसम्मको फेहरिस्त उल्लेख गरिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण, ६४ निर्वाचन क्षेत्रमा पाँच किलोमिटर कालोपत्र सडक बनाउन बोलपत्र सूचना प्रकाशन गरिएको, २२५ किलोमिटर माटो सडक निर्माण भएको र सडकको ग्राभेल, कालोपत्र, ढलान, पुल निर्माण, सिँचाइ, झोलुंगे पुल, नहर, सामुदायिक भवन निर्माण, बस्ती संरक्षण, धर्मशाला निर्माण, जनता आवास कार्यक्रमलगायतका उपलब्धि समेटिएको छ।

त्यसैगरी, आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणका महत्वपूर्ण योजनाअन्तर्गत 'बेटी पढाऊ बेटी बचाऊ’, सहिदको सम्मान, किसानको ऋणको ब्याज भुक्तानी प्रयोजनका लागि अनुदान पनि ‘उपलब्धि’मा समेटिएको छ। 

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस प्रदेश सरकारले समाज रूपान्तरणको अभियानमार्फत महत्वपूर्ण काम गरिरहेको बताएका छन्। मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाजमा रहेका विकृति, विसंगतिलाई अन्त्य गर्नका लागि सामाजिक रूपान्तरणको अभियान सञ्चालन गरिरहेको बताए।

यस्तै मधेस प्रदेश सरकार सम्हालेको पहिलो वर्षमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम सफल भ्रमण गराएको कार्यक्रमलाई उपलब्धिको रूपमा प्रस्तुत गरेका छन्। मुख्यमन्त्री राउतले विभिन्न मन्त्रालयमार्फत ल्याइएका नीति, कार्यक्रम र योजनालाई सरकारले क्रमशः कार्यान्वयन गर्दै लगेको बताए। मधेस प्रदेशका जनताको चाहना र आकांक्षालाई सम्बोधन गर्न सरकारले निरन्तर प्रयास गर्दै आएको उनले बताए।

विशेषगरी समाजमा पछि पारिएका महिला, दलितलगायत उत्पीडितहरूलाई मूल प्रवाहमा ल्याउन प्रदेश सरकारले काम गरेको बताए। यस अवधिसम्म 'बेटी पढाऔं, बेटी बचाऔं’ अभियान, छोरी शिक्षा बिमाको कार्यक्रम, साइकल वितरण तथा लोकसेवा कक्षा सञ्चालनलगायत महत्वपूर्ण काम गरिएको उनले बताए।

मुख्यमन्त्री राउतले पत्रकारसँग भने, ‘समाज रूपान्तरण गर्ने किसिमका अभियानको उपलब्धि यहाँहरू छिट्टै देख्नुहुनेछ। समाजमा रहेका कुरीति, आर्थिक, समाजमा रहेका विभिन्न किसिमका विकृतिलाई जबसम्म महिलालाई सशक्त बनाइँदैन, दलितलाई मूलधारमा ल्याइँदैन, उत्पीडनमा रहेका समुदायलाई जबसम्म अगाडि ल्याउँदैनौं। तबसम्म यो समाज रूपान्तरण गर्न सकिँदैन।’

राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणका महत्वपूर्ण योजनासहित तीनवटा विश्वविद्यालयको स्थापनालगायतका कार्यलाई सरकारले आफ्नो उपलब्धिमा दर्ज गरेका छन्।

प्रदेश सरकार स्थापनाको चार वर्षमा ४४ वटा ऐन, कार्यविधि, नियमावली, निर्देशिकाहरू बनाएर अगाडि बढेको, प्रदेशको नाम र राजधानीको टुंगो लगाएको, सीमित कर्मचारीको सहयोगमा विभिन्न मन्त्रालयमा नीति तथा कार्यक्रम, बनाएको योजनाहरूको कार्यान्वयन गरेको उनले उल्लेख गरेका छन्। चार वर्षमा मधेस सरकारले आठ वटै जिल्लाका विभिन्न स्थानमा ६० वटा बर्थिङ सेन्टर, ७६ वटा सामुदायिक भवन, १८ वटा धर्मशाला, ३ वटा योग भवन, २ शिशु सदन, २० खेल मैदान, ५ छात्रावास, २२ विद्यालय भवन, ३ वृद्धाश्रम, ९ रंगशाला, ३ कभर्ड हल, २ अस्पताल, २ पुस्तकालय, ७ मदरसा, ३ मस्जिद, १ बालगृह, २ शौचालय निर्माण गरेको र ३१ वटा विद्यालय भवन र २ वृद्धाश्रम भवनको मर्मत सम्भार तथा स्तरोन्नति गरेको जनाएको छ।

चर वर्षमा करिब २२५ किमि माटो सडक, ९३७ किमि ग्राभेल सडक, २२४ किमि कालोपत्रे सडक र २३७ किमि ढलान सडक निर्माण, २९२ कल्भर्ट र ३२ पुल निर्माण सम्पन्न गरेको, करिब ३५ किमि नाला निर्माण र ३ झुलुंगे पुल, सिंचाइतर्फ ३४ हेडबक्स निर्माण, १७४ किमि कच्ची नहर निर्माण, २९ किमि पक्की नहर निर्माण र ७८ किमि तटबन्ध निर्माण गरेको, ८ हजार ७४ हेक्टर खेतीयोग्य जग्गा संरक्षण, ५३ किमि बस्ती संरक्षण र २६ किमि घाट निर्माण गरेको जनाएको छ। त्यस्तै ९ वटा सरकारी भवन, ९७ वटा सामुदायिक भवन २३ वटा धर्मशाला र जनता आवास कार्यक्रमअन्तर्गत ९ हजार ४५ वटा घर बनाएको प्रदेश सरकारले जनाएको छ।

प्रदेश सरकारले हरित प्रदेश अभियानअन्तर्गत आठ वटै जिल्लामा ३७७.४ हेक्टर वृक्षरोपण गरेको, प्रत्येक जिल्लामा हाइटेक वन नर्सरी स्थापना गरी १ करोड ४० लाख ८८ हजार ८८७ गोटा विरुवा उत्पादन कार्य भई वृक्षारोपण तथा निजी जग्गाधनी वितरण गरेको जनाएको छ।

त्यस्तै सञ्चार क्षेत्रमा सूचना तथा सञ्चार क्षेत्रको विकासका लागी आमसञ्चार प्राधिकरण, चलचित्र तथा लोक सञ्चार प्रवद्र्धन बोर्ड र मिडिया काउन्सिल स्थापना र राससका पत्रकारहरूलाई अभिमुखीकरण तालिम प्रदान तथा सलहेस वृत्तचित्र निर्माण गर्नुलाई उपलब्धिको रूपमा प्रदेश सरकारले जनाएको छ। यस्तै आफूहरूले साइकल वितरण र लोकसेवाका कक्षा पनि सञ्चालन कार्यलाई सरकारले उपलब्धिको फेहरिस्तमा राखेको छ।

प्रकाशित: ४ फाल्गुन २०७८ ०४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App