१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेश १ बाट एमालेका शेर्पा निर्वाचित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विरुद्ध गरिएको घेराबन्दी कमजोर देखिएको छ। राष्ट्रियसभाका १९ सदस्यका लागि भएको निर्वाचनमा पाँचदलीय गठबन्धनले एमालेविरुद्ध घेराबन्दी गरेको थियो। एमालेले एक सिटमा विजय र अर्को एक सिटमा गोलाप्रथाबाट पराजय भोग्दा गठबन्धन कमजोर देखिएको हो।

सातवटै प्रदेशमा गठबन्धन दलको स्पष्ट बहुमत देखिएको भए पनि त्यो बहुमत १ नम्बर प्रदेशमा एकत्रित हुन सकेन। विगतमा एमालेबाटै निर्वाचित भएका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले मतदान गरेका कारण पनि एमालेले अपेक्षा गरेको भन्दा बढी मत पाएको छ।

यसबाट एमालेविरुद्धको घेराबन्दीलाई स्वयं जनप्रतिनिधिले नरुचाएको एमाले नेताहरूको दाबी छ। एमालेविरुद्ध क्लिन स्विपको नीति लिएका गठबन्धन दलका नेताहरूलाई असफल बनाउन एमाले सोलुखुम्बुका नेता सोनाम ग्याल्जेन सफल भए। एमालेले यसलाई अन्तिम गठजोड मानेको छ र यो चुनावले जनमतको प्रतिनिधित्व नहुने बताएको छ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले देशभर आएको मत हेर्दा मतदाता एमालेका पक्षमा रहेको देखिएको बताएका छन्। ‘तमाम घेराबन्दीबीच एमालेले राष्ट्रियसभा सदस्यमा सिट जोडेको छ, सबै स्थानमा हामीले अपेक्षा गरेको भन्दा बढी मत आएको छ। यो गठबन्धन लामो समयसम्म नरहने संकेत हो। यद्यपि यो निर्वाचनले जनमतको प्रतिनिधित्व भने गर्दैन’, उनले भने।

प्रदेश १ मा एमालेका ४० प्रदेश सांसद रहेकामा ग्याल्जेनले ४२ जनाको मत पाएका थिए। त्यस्तै स्थानीय तहका गठबन्धनका ११ जनाको १९८ मतभारसमेत गरी कुल २९४ मतभार पाएपछि उनी विजयी भएका थिए। रिजालका अनुसार गठबन्धन दलहरूले घेराबन्दीको अन्तिम किस्ता प्रयोग गर्दा पनि शेर्पा विजयी हुनु र अर्का उम्मेदवार गुरु बरालले प्राप्त गरेको मतभार हेर्दा तथा सातै प्रदेशमा आएको मतले गठबन्धन सोचेअनुसार सफल हुन सकेन। ‘यो उहाँहरूको अन्तिम किस्ता हो, सभामुख, सरकार, अदालत, निर्वाचन आयोग सबै अंगहरू प्रयोग भएका छन्।

अब कुनै पनि कार्ड बाँकी छैन। प्रदेशसभा सदस्य खाली भएको लामो समय भइसक्यो। सरकारले उपनिर्वाचन गर्न डराएर संवैधानिक व्यवस्थालाई पनि चुनौती दिएका छ। त्यसकारण अहिलेको घेराबन्दीको कुनै अर्थ छैन’, रिजालले भने ।

गठबन्धनले प्रदेश १ बाहेक सबै प्रदेशमा एमालेलाई एक्लो बनाएको छ। विगतमा एमालेबाट निर्वाचित भएकै जनप्रतिनिधि प्रयोग गरेर एमालेलाई एक्लो बनाइएको हो। ‘एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर भएको टिकट पाएर जनप्रतिनिधि बनेकालाई प्रयोग गरेर एमालेलाई घेराबन्दी गरिएको हो, यसको अर्थ छैन’, रिजालले भने।

राष्ट्रियसभाका १९ सांसदको चार वर्षे कार्यकाल सकिएपछि बुधबार भएको मतदानमा एमालेले प्रदेश १ बाहेक अन्य ६ प्रदेशमा भने ७ सिट गुमाएको छ। राष्ट्रियसभामा अहिले एमालेको २४ सिट छ। एमालेपछि राष्ट्रियसभामा माओवादीको १४, कांग्रेसको ७, एकीकृत समाजवादीको ७, जनता समाजवादीको २, लोकतान्त्रिक समाजवादी पार्टीको १ सिट रहेको छ। बाँकी ३ जना राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ।

प्रकाशित: १३ माघ २०७८ ०१:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App