१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जनता फकाउँदै विप्लव: वैजनाथ खोलामा ह्युमपाईप

वैजनाथ खोलामा विप्लव कार्यकर्ताले बनाएको कल्भर्ट। तस्बिर: महेश्वर/नागरिक

संसदीय व्यवस्था असफल भएको निश्कर्ष निकाल्दै ‘वैज्ञानिक समाजबाद स्थापनाका लागि जनमत संग्रह’ को नारासहित संगठन बिस्तारमा रहेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले पछिल्लो समय जनताको मन जित्ने प्रयास गरिरहेको छ। केहीदिनअघि उदयपुरका सरकारी कार्यालयदेखि सडकसम्ममा कुचो लगाएर सरसफाई अभियान चलाएको पार्टीले भर्खरै यहाँको एउटा खोलामा ह्युमपाईप बिछयाउँदै कच्ची सडक बनाएको छ।  

पार्टी उदयपुर संगठन कमिटीको अगुवाईमा कटारी नगरपालिका ६ र ७ मा पर्ने सोमबारेस्थित वैजनाथ खोलामा ह्युमपाईप राखेर कल्भर्ट निर्माण गर्दै स्थानीयलाई वारपार गर्न सहज बनाईदिएको हो। वर्षभरी नै पानी बगिरहने उक्त खोलाले स्थानीयलाई वारपार गर्न पुल अभावमा चिसो पानीमा चोपलिनुपर्ने बाध्यता छ। गाउँलेहरुलाई विद्यालय, स्वास्थ्यचौकी, प्रहरी चौकी, बजार आउजाउ गर्न झण्डै १५ मिटर दुरी खोलाको पानीमा चोपलिनुपर्ने बाध्यता थियो।  

सो समस्याको अस्थायी नै समाधानका लागि भए पनि पार्टीले आफ्नै प्रयासमा स्रोत जुटाएर खोलामा दुईवटा ह्युमपाईप बिछ्याएर दायाँबायाँ बालुवा गिटी पुरेर कच्ची सडक निर्माण गरिदिएको पार्टी जिल्ला सेक्रेटरी लक्ष्मण पौड्यालले बताए। उनका अनुसार दुईवटा ह्युमपाईप खरिद गरेर खोलाकै ढुंगा, गिटी र बालुवा पुरेर दुईसय मिटर लम्बाई र ५ मिटर चौडाईको कच्ची सडकसहितको कल्भर्ट निर्माण गरिएको हो।  

त्यसका लागि १५ घण्टा जेसिबीको प्रयोग भएको छ भने पौड्यालसहित २१ जना नेता कार्यकर्ताले श्रमदान गरेका छन्। वडा कार्यालय र नगरपालिकालाई पटक पटक पुल लगाउन आग्रह गर्दा पनि जनप्रतिनिधिले टेरपुच्छर न लगाएपछि पार्टीले सो काम आफैले गर्नेगरी अग्रसरता लिएको उनले बताए।  

ह्युमपाईप लगाइएपछि दुई वडाबासीलाई सोमबारे र रिस्कु आउजाउ गर्न सहज भएको छ। यसअघि खोलामा पुलको अभावमा वडा नं.७ को रिस्कुमा पर्ने एक मात्र जनप्रेमी मावि पढ्न जाने विद्यार्थीलाई विहान बेलुका पानीमा अनिवार्य चोपलिनुपर्ने बाध्यता थियो। दुवै वडाबासीका लागि रिस्कुमै निर्मित प्रहरी चौकी र स्वास्थ्य चौकी धाउन पनि सेवाग्राहीलाई वैजनाथ खोला तर्नैपर्ने बाध्यता छ।  

पार्टीले ह्युम पाईप राखेर कच्ची सडक बनाईदिएपछि हिउद यामका लागि खोला तर्ने बाध्यता हटेको तर, वर्षा लागेपछि पुनः समस्या ज्युँका त्युँग हुने स्थानीय बताउँछन्। त्यसको दीर्घकालीन समाधानका लागि पुल निर्माण नै अन्तिम बिकल्प रहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने वडासचिव कृष्णप्रसाद निरौलाले बताए।

प्रकाशित: ९ माघ २०७८ १०:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App