१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले जिल्ला अधिवेशनः कर्णालीमा कतै चुनाव, कतै सर्वसम्मत

नेकपा (एमाले) को जिल्ला अधिवेशनले यतिखेर कर्णालीमा रौनक बढेको छ। धेरै जिल्लामा सर्वसम्मत भए पनि कतिपय जिल्लामा चुनावी प्रकृयामा गएका छन्। प्रतिनिधिहरुमाझ पुगेर जिल्लामा नेताहरु चुनावी मैदानमा आफू योग्य भए, नभएको परीक्षण गरिरहेका छन्।

सुर्खेत, जाजरकोट, दैलेखमा अध्यक्ष लगायत अन्य पदमा चुनाव भयो। सल्यान, रुकुम (पश्चिम), जुम्ला र डोल्पामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ। कालिकोटमा भने सर्वसम्मत प्रयास गरिएपनि टुंगिएको छैन्। हुम्लामा आन्तरिक कारण देखाउँदै माघ २३ गते अधिवेशनको मिति तय गरिएको छ। मुगुमा मंगलबार अधिवेशन उद्घाटन गरिएको छ। मुगुमा बुधबार पनि बन्दसत्र चलिरहेकोले सर्वसम्मतको सम्भव नभए चुनावमा पनि जानसक्ने नेताहरु बताउँछन्।

नेकपा एमाले सुर्खेतको मंगलबार राती सकिएको मतगणनामा अमृत विसी अध्यक्षमा निर्वाचित भएका छन्। बुधबार सार्वजनिक भएको मतपरिणामअनुसार विसी ३ सय ६८ मत ल्याएर विजयी भएका हुन्। विसीका प्रतिद्वन्द्वी डण्डीप्रसाद शर्मा २ सय ६७ मत ल्याएका थिए।

उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली विजयी भएका छन्। विजयी पदाधिकारी सवै विसी प्यानलका हुन्।

त्यस्तै जाजरकोटमा एमाले अध्यक्षमा खिमबहादुर शाही विजयी भएका छन्। उनी प्रतिद्वन्द्वी करवीर शाहीसँग १७ मतान्तरले विजयी भएका हुन्। छैटौं जिल्ला अधिवेशनमा सहमति हुन नसकेपछि सोमबार भएको मतदान भएको थियो।

अध्यक्षमा विजयीले २ सय १७ र प्रतिद्वन्द्वीले २ सय १० मत ल्याएका थिए। उपाध्यक्षमा गोपाल बटाला, सचिवमा वीरबहादुर गिरी, उपसचिवमा गोपाल नेपाली र नरबहादुर बस्नेत विजयी भए। जाजरकोटमा ९० सदस्यीय जिल्ला कमिटीमा चयन भएको छ।

जिल्लाभरबाट ४ सय ३३ जना प्रतिनिधिले मतदानमा सहभागी भएका थिए। रुकुम (पश्चिम) मा मंगलबार पत्रकार सम्मेलन गर्दै नन्दराम देवकोटाको अध्यक्षतामा ८४ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत गठन भएको घोषणा गरेका छन्।

सल्यानमा २४ गते गोविन्द पुन अध्यक्षतामा ९९ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत गरिएको थियो। जुम्लामा सोमबार शान्तिलाल महतको अध्यक्षतामा ९० जिल्ला कमिटी सर्वसम्मत भएको छ। त्यस्तै डोल्पामा २४ गते शेरबहादुर बुढाको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत गठन गरिएको छ।

कालिकोटमा एमालेको अधिवेशन शनिबार उद्घाटन भएको थियो। निर्वाचन प्रकृयाअघि बढेपनि सर्वसम्मत गर्ने प्रयास भईरहेको छ। सुरुमा अध्यक्षका लागि चार जनाको नाम आएपछि अहिले तिन जनाबीच सर्वसम्मत गर्ने प्रयास भईरहेको एमालेका नेताहरुले बताएका छन्। जसमा जर्सी प्रसाद पाण्डे, रमेशकुमार शाही र हिराबहादुर बम अध्यक्षका दावेदारका रुपमा रहेका छन्। बुधबार सर्वसम्मत नभए बिहीबार चुनाव हुनसक्ने सम्भावना रहेको जनाईएको छ।

विवाद भएपछि मतगणना स्थगित

नेकपा एमाले दैलेखको जिल्ला अधिवेशनमा सहमति हुन नसकेपछि जिल्ला नेतृत्वसहित पदाधिकारी र सदस्यका लागि मंगलवार मतदान भएको थियो। मतदान सकिएसँगै राती मत गणना गर्दा खसेको मतभन्दा बढी मतपत्र देखिएपछि मत गणना रोकिएको छ। मंगलवार रातीबाट मत गणनाको तयारी गरेपछि मतपत्रगन्दा बढी देखीएपछि विवाद हुँदा मतगणना रोकिएको हो।

बुधबार विहानैदेखि मतगणना हुन नसकेपछि सहमतिका लागि छलफल भईरहेको छ। फेरि चुनाव हुने सम्भावना बढी रहेको एमाले दैलेखका एक नेताले बताएका छन्। मंगलबार भएको चुनावमा कुल मत ७ सय २१ रहेको थियो । जसमा ७ सय १७ मत खसेको थियो। मत गणनाको तयारी गर्दा ७ सय ४८ मतपत्र देखिएपछि विवाद बढेको हो।

प्रकाशित: २९ पुस २०७८ ०९:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App