६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले र माओवादीको राष्ट्रिय महाधिवेशन लघु पुराणजस्तैः आङ्देम्बे

नेपाली काँग्रेसका सहमहान्त्री भीष्मराज आङ्देम्बेले एमाले र माओवादीको राष्ट्रिय महाधिवेशन लघु पुराणजस्तै भएको टिप्पणी गरेका छन्। उनले ती दुई पार्टीको महाधिवेशन लोकतान्त्रिक हुन नसकेको टिप्पणी गर्दै भने, ‘ती त नेताका खल्तिबाट नाम पढेर सुनाइएको एउटा लघु पुराण जस्तै हो।’

गृह जिल्ला ताप्लेजुङमा सोमबार आयोजित पत्रकार भेटघाटमा आङ्देम्बेले सो बताएका हुन्।  उनले काँग्रेसको राष्ट्रिय महाधिवेशनले नयाँ र पुराना पुस्ता बीचको मिश्रणको आधार दिएको दाबी गरे।

सो क्रममा संसद विघटनको तात्पर्य पुष्टि गर्ने गलत मनशायले एमालेले संसदमा अवरोध गरिरहेको बताए। उनले ६ महिनाको बीचमा दुई–दुई पटक संसद विघटन गरी अलोकतान्त्रिक अभ्यासलाई सत्य सिद्ध गर्ने गलत अभ्यासमा एमाले उभिएको आरोप समेत लगाए।

एमालेलाई संसद अवरोध हटाएर जनताका साझा मुद्धामा छलफल केन्द्रित गर्न आग्रह समेत गरे। संसदमा देखिएको गतिरोधले जनताका आधारभूत आवश्यकताको छलफल गर्ने थलो बन्धक बनेको उनको भनाइ थियो।

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा स्वयं विपक्षी दल एमाले अध्यक्षको निवासमै गएर संसदको गतिरोध हटाउन आग्रह गर्नुले सरकार संसद खुलाउने अधिकतम् प्रयासमा जुटेको देखिइरहेको उनले बताए।  

केन्द्रीय महाधिवेशनले काँग्रेसमा शुद्धिकरण अभियान थालनी भएको बताएका उनले अब त्यो अभियान वडा तहसम्म पुर्याउनुपर्नेमा जोड दिए। नेता डाक्टर शेखर कोइराला पक्षले पार्टी सभापति देउवाले केन्द्रीय समितिमा गरेको मनोनयन मनोमानी भएको भनिरहेका बेला आङ्देम्बेले पनि देउवाको निर्णयको बचाउ गरेका छन्।

प्रकाशित: २६ पुस २०७८ ०८:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App