१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले अधिवेशनः केही जिल्लामा सर्वसम्मत, केहीमा निर्वाचन

एमाले धादिङको अध्यक्षमा निर्वाचित समितिहरु।

नेपाल कम्युनिष्ट पार्टी एमालेको जिल्ला अधिवेशन अन्र्तगत बागमती प्रदेशका केही जिल्लामा सर्वसम्मत नेतृत्व भएको छ भने केही जिल्लामा भने निर्वाचन भएको छ।

नेकपा एमाले धादिङले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ। एमाले धादिङको ८औं जिल्ला अधिवेशनले भुमी त्रिपाठीको नेतृत्वमा नयाँ जिल्ला कमिटी चयन गरेको हो। अध्यक्षमा त्रिपाठीको मात्रै उम्मेदवारी परेको थियो। पुस २३ गतेदेखि धादिङबेसीमा जारी अधिवेशनले उपाध्यक्षमा धनबहादुर घलेलाई चयन गरेको छ। अर्का उम्मेदवार उमेश कुमार थापा र गंगादेवी श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि घले सर्वसम्मत निर्वाचित भएका हुन्।

त्यस्तै सचिवमा अर्जुन कुमार श्रेष्ठ (गोर्खाली) सर्वसम्मत चयन भएका छन्। प्रत्यासी उम्मेदवार हरिराम लोहनीलाई ब्याक गराएर एमालेले गोर्खालीलाई सर्वसम्मत गराएको हो। सचिवका दावेदार लोहनीलाई उपसचिवमा एड्जस्ट गराइएको छ। २ जना उपसचिव मध्य राधिका सापकोटा पनि सर्वसम्मत निर्वाचित भएकी छन्। उपसचिवमा निर्वाचित लोहनी र सापकोटा दुबै जना निवर्तमान जिल्ला कमिटी सदस्य हुन्।

काभ्रेपलान्चोक जिल्लाको अध्यक्ष सहित उपसचिव रीता ढकाल, मजदुर क्षेत्रतर्फका मोहन गजुरेल, विदुर खत्री र शान्ति कार्की गरी तीन जना, त्यस्तै माओवादी केन्द्र र राप्रपाबाट एमालेमा समाहित भएका २५ जना निर्विरोध निर्वाचित भएका छन्। अन्य पदहरुमा भने निर्वाचन हुने बताइएको छ। भएको छ।

मकवानपुर जिल्ला अध्यक्षमा एकालाल श्रेष्ठ, उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नविन सिग्देल, उपसचिवमा हिदम लामा र सीता बिष्ट सर्वसम्मत निर्वाचित भएका छन्।

नुवाकोट अध्यक्षमा बद्री मैनाली सर्वसम्मत निर्वाचित भएका छन्। उपाध्यक्षमा बुद्धिबहादुर प्रधान, सचिवमा सुदर्शन नेपाल, उपसचिवमा काशिराज अधिकारी र नीलकण्ठ आचार्य निर्वाचित भएका छन्। रसुवा अध्यक्षमा कर्णेल लामा, उपाध्यक्षमा डिल्ली सुवेदी, सचिवमा जनार्दन ढकाल, उपसचिवमा कैसाङ नुर्पु तामाङ र बेली बुलुन सर्वसम्मत निर्वाचित भएका छन्।

दोलखा जिल्लाको नेतृत्वका लागि आइतबार दिउँसोदेखि मतदान गरिएको छ। अध्यक्षमा नरबहादुर श्रेष्ठ र भरतप्रसाद दुलाल चुनावी मैदानमा छन्।  उपाध्यक्षमा राजेन्द्र मानन्धर, रामबहादुर श्रेष्ठ, जानुका न्यौपाने, कृष्ण बस्नेत, प्रेम कुमारी चौलागाई गरी ५ जना, सचिवमा हिराकुमार थोकर र होम पाठक छन् भने उपसचिवमा १३ जनाले उम्मेदवारी दिएका छन्। आइतबार भएको मतदानको नतिजा सोमबारसम्म आउने निर्वाचन समितिले जानकारी दिएको छ।

रामेछाप अध्यक्षमा आनन्द कुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । सर्वसम्मतीका प्रयास भएपनि अध्यक्ष र महिला सदस्य बाहेक अन्य पदहरुमा भने चुनाव भएको छ। उपाध्यक्षमा इन्द्रबहादुर तामाङ, रमेश वाग्ले, धुब्रकुमार कार्की, सचिवमा पुरुषोत्तर कडरिया, गोपाल श्रेष्ठ, दुर्गाबहादुर श्रेष्ठ, उपसचिवमा प्रताप कुमार कार्की, चन्द्रबहादुर मानन्धर, केशव कुमार प्रधान, होतराज ढकालबीच प्रतिस्पर्धा छ।

एमाले सिन्धुलीमा पनि मतदान भएको छ। जिल्ला अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन्। एमालेको ७ औँ सिन्धुली जिल्ला अधिवेशनमा प्रदिप कटुवाल र रामकुमार कार्कीले उम्मेदवारी दिएका हुन्। उपाध्यक्षमा विनोद कुमार खड्का, जगदीश्वर तोलाङगी र कर्णबहादुर घिसिङ सहित ३ जना, उपसचिव पदको लागि खड्का रजन, रन्जु देवकोटा, नवराज थिङ र रस्मीला देवकोटासहित ४ जनाले उम्मेदवारी दिएका छन्। सचिव पदको लागि नारायण बराललको मात्रै उम्मेदवारी परेकाले निर्विरोध भएका छन्।

यता चितवन जिल्लाको १० औं जिल्ला अधिवेशन पुस २६ गतेसम्मका लागि स्थगित भएको छ। सहमतिको प्रयासका लागि भन्दै अधिवेशनको बन्दसत्रलाई स्थगित गर्दै २६ गते बिहानबाट पुनः सुरु गर्ने निर्णय गरिएको एमाले चितवनले जनाएको छ। चितवन जिल्ला अध्यक्ष बन्नका लागि एमाले नेताहरु रामप्रसाद न्यौपाने, कमल पाठक, तेजेन्द्र खड्का र कृष्ण भुर्तेलले आकांक्षा देखाएका छन्।

अधिवेशनले प्रत्येक जिल्लामा १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव, २ उपसचिव र एक तिहाई महिला र समावेशीलाई समेटेर बन्ने १०५ सदस्यीय जिल्ला कमिटि चयन गर्नेछ।

प्रकाशित: २५ पुस २०७८ १३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App