१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

दासत्व स्वीकारेर विदेशी सहयोग लिइँदैनः नेकां महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सैन्य र अरु कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर विदेशी सहयोग नलिइने बताएका छन्। आज गृह जिल्ला झापाको मेचीनगरमा पार्टीको १ नं क्षेत्रीय समितिले अयोजना गरेको स्वागत सम्मान तथा पद हस्तान्तरण कार्यक्रममा उनले विवादित अमेरिकी सहयोग परियोजना एमसिसीका बारेमा उक्त धारणा व्यक्त गरेका हुन्।

‘कुनै पनि विदेशी सहयोग लिँदा राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई धितो राखेर लिइँदैन’, उनले एमसिसी संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा राजनीतिक दलबीच विवाद भइरहेको सन्दर्भमा भने, ‘कसैको सैन्य र अरु कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर सहयोग ग्रहण गर्न सकिँदैन। एमसिसीको विषयमा छलफल र परामर्श गरेर मात्र निष्कर्षमा पुगिनेछ।’

देश विकासका लागि अन्तर्राष्ट्रिय सहयोग सदैव स्वागतयोग्य रहने उल्लेख गर्दै उनले राष्ट्रवादको मनोविज्ञानले कहिलेकाहीँ विकासमा अवरोध पुर्याउने गरेकोसमेत चर्चा गरे। विगतमा अरुण तेस्रो जलविद्युत् परियोजनामा विदेशी लगानी अस्वीकार गरिँदा मुलुक विद्युत्भार कटौतीको चपेटाबाट गुज्रिएको दृष्टान्त प्रस्तुत गर्दै उनले भने, ‘राष्ट्रवादको मनोविज्ञानले समाजको प्रगतिमा अवरोध सिर्जना गर्दो रहेछ। विसं २०५१ मा अरुण तेस्रो बनाउन दिएको भए २०६१ मा विद्युत्भार कटौती मुर्दावादको नारा लगाउनैपर्ने थिएन।’

पार्टीभित्रका विभिन्न पदमा मनोनीत गर्ने र विभाग गठनका विषयमा कुनै ढिलासुस्ती नहुने महामन्त्री शर्माले बताए। महामन्त्री शर्मा विगत दुई दिनदेखि गृह जिल्लाका पार्टी कार्यक्रममा व्यस्त रहँदै आएका छन्।

प्रकाशित: २१ पुस २०७८ १४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App