८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रियसभा सदस्य निर्वाचनः सुदूरपश्चिममा ३ पदका लागि ६ जनाकाे उम्मेदवारी

सुदूरपश्चिममा एमाले एक्लै गठबन्धनसँग भिड्ने

सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यको रिक्त ३ पदका लागि ६ जनाले मनोनयन दर्ता गराउने तयारी गरेका छन्। आगामी माघ १२ गते हुने निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय धनगढीमा आज मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको छ।

सहायक निर्वाचन अधिकृत प्रेम भट्टले मनोनयको लागि तयारी अवस्थामा रहेको बताएका छन्। नेकपा एमाले एक्लै नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीको गठबन्धनका उम्मेदवारसँग भिड्ने भएको छ। नेकपा एमालेले खुल्लातर्फ डोटीका डिल्लीराज भट्ट, महिला तर्फ सन्तोषकुमारी थापा शर्मा र दलिततर्फ बैतडीका नरेश बि.क.लाई उम्मेदवार बनाएको छ।

गठबन्धनका तर्फबाट खुलामा नेपाली कांग्रेसका नारायण दत्त मिश्र, महिला कोटामा नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम ईन्चार्ज गरिमा शाह र दलित कोटामा माओवादी केन्द्रका डडेल्धुराका जगत पार्कीलाई उम्मेदवार बनाइएको छ। प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख, उप प्रमुख, अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने छन्।

सुदूरपश्चिममा स्थानीय तहका १ सय ७५ र प्रदेशसभा सदस्य ५२ गरेर २ सय २७ मतदाता रहेका छन्। मतभार स्थानीय तहका १८ र प्रदेश सभा सदस्यको ४८ रहेको छ।

राष्ट्रियसभाका २० सासंद चार वर्षे कार्यकाल पूरा गरेर अगामी फागुन २० गते बिदाई हुँदै छन्। १ जना राष्ट्रपतिले मनोनयन गर्ने छन् भने १९ पदका लागि माघ १२ गते ७ वटै प्रदेशमा निर्वाचन हुने छ।

प्रकाशित: २० पुस २०७८ ०६:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App