२३ असार २०७९ बिहीबार
राजनीति

एमालेमा ओलीको देवत्वकरण गर्नेबाहेक अरु रहदैनन्ः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेमा केपी ओलीको देवत्वकरण गर्ने व्यक्तिमात्र टिक्ने अरु सबै पाखा लाग्ने दाबी गरेका छन्। उनले ओलीले एमाले अध्यक्ष भएपछि पूरै पार्टी कब्जा गरी गुट चलाएर देउताको अवतारको रुपमा आफूलाई प्रस्तुत गरेपछि समस्या भएर अलग्निुपरेको प्रस्ट्याए।

‘ओलीले १५ वर्ष पार्टी चलाएको मलाई र एमाले तथा माओवादी मिलेर पार्टी एक हुँदा अध्यक्ष भएका प्रचण्डलाई नटेरेका व्यक्ति अरु कसैलाई टेर्नेवाला छैनन्,’ अध्यक्ष नेपालले आइतबार इटहरीमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको प्रदेश नं. १ स्तरीय प्रथम अधिवेशनलाई उद्घाटन गर्ने क्रममा भने, ‘ओलीको पार्टीमा आलोचक र स्वतन्त्र व्यक्ति कोही रहने वाला छैनन्।’ उनले एमालेमा नेता(कार्यकर्ताको कुनै मूल्य मान्यता नभएको र ओलीको मूर्तिलाई समेत देउताको अवतार ठान्ने मात्र टिक्ने अरु सबै विस्तारै पाखा लाग्ने जिकिर गरे।

नेता नेपालले ओलीले नेपालको संविधान र कानूनलाई समेत अटेर गरेकाले गर्दा एमाले पार्टी बिस्तारै जनतामाझबाट बढारिदै जाने जिकिर गरे।  ‘ओलीकै कारण एमाले सुदूर पश्चिमबाट बढारिदै पूर्वको मेचीमा आएर पखालिएर जानेछ,’ उनले भने।

उनले ओली एकदमै अटेरी, निरङ्कुश र दम्भी चरित्रको व्यक्ति भएको टिप्पणी गरे। ‘ओली अध्यक्ष र प्रधानमन्त्री हुँदा पुरै निरङ्कुश शासक भएर शासन चलाए,’ नेपालले भने, ‘ओलीले राणाकाल, पञ्चायतजतिकै कठोर र पछिल्लो समय राजतन्त्रजतिकै निरङ्कुश भएर अघि बढ्ेकैकाले गर्दा असल कम्यनिष्ट पार्टी बनाउन छुटिनुपरेको हो।’

कार्यक्रममा प्रदेश नं. १ का  मुख्यमन्त्री राजेन्द्रकुमार राईले केपी ओलीको पार्टी एमाले कम्यूनिष्ट पार्टी नरहेको बताए। उनले वास्तविक कम्यूनिष्ट पार्टी एकीकृत समाजवादी भएको बताए। कार्यक्रममा एमालेका निवर्तमान केन्द्रीय सदस्य धर्मराज निरौलाको नेतृत्व टोली एकीकृत समाजवादीमा प्रवेश गरेको थियो।

प्रकाशित: १८ पुस २०७८ १७:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App