१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा निर्वाचनमा बाँकेबाट कांग्रेसका चार सिफारिस

राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले बाँकेबाट चार जनाको नाम सिफारिस गरेको छ। उक्त निर्वाचनका लागि नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले बाँकेसँग नाम मागेको थियो।  

कांग्रेस बाँकेको पदाधिकारी बैठकले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउन पार्टीका पूर्व जिल्ला सभापति युवराज शर्मा, वर्तमान सभापति किरण कोइराला, संविधान सभा सदस्य अब्दुल हमिद सिद्धिकी ‘भोला’ र महाधिवेशन प्रतिनिधि लुटबहादुर खत्रीको नाम सिफारिस गरेको कार्यालय सचिव उमेश शर्माले जानकारी दिए।  

केसीलाई नेपाली कांग्रेसले यसअघि पनि २०७४ सालको राष्ट्रिय सभा निर्वाचनमा उम्मेवार बनाएको थियो। अपांगताबाट उम्मेदवार बनेका उनी तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गठबन्धनसँग पराजित भएका थिए। निर्णय पश्चात चारै जनाको नाम कांग्रेस लुम्बिनी प्रदेश समितिमा सिफारिस गरेर पठाइसकिएको उनले बताए।  

उक्त निर्वाचनका लागि बाँकेबाट पुरुष र महिला एक एक जनाको नाम मागेपनि जिल्लामा आकांक्षीको संख्या बढेपछि चारै जनाको नाम पठाइएको शर्माले प्रष्ट्याए। ‘चार जनाको नाम वरियता क्रम अनुसार सिफारिस गरेर पठाइसकेका छौं, अब प्रदेश समिति हुँदै केन्द्रले निर्णय गर्ने होला,’ कार्यालय सचिव शर्माले भने।  

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ १२ गते हुँदैछ। यसका लागि निर्वाचन आयोगले दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ। निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार निर्वाचन कार्यक्रम अन्तरगत शनिबार प्रथम मतदाता नामावली प्रकाशन हुँदैछ।

यस्तै सोमबार अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ। यसैगरी पुस २० गते मंगलबार उम्मेदवार मनोनयन दर्ता हुनेछ। निर्वाचनका लागि लुम्बिनी प्रदेशका २ सय ९६ मतदाता रहेका छन्। लुम्बिनी प्रदेशका सांसद र स्थानीय तहका प्रमुख तथा उप–प्रमुखले भोट हाल्न पाउने छन्।

प्रकाशित: १७ पुस २०७८ ०७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App