८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रियसभा निर्वाचनको प्रकृया सुरु, निर्वाचन अधिकृतको कार्यालय स्थापना

दाङमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय। तस्बिरः देवेन्द्र/नागरिक

आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका प्रकृया प्रारम्भ भएको छ। निर्वाचनका लागि बिहीबार सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन्।

पहिलो निर्वाचनबाट चार वर्षे कार्यकाल पूरा गरेका सांसदहरुको पद रिक्त हुने भएकाले ति रिक्त पदका लागि निर्वाचन हुने भएको हो। १२ माघमा १९ सिटका लागि निर्वाचन हुँदैछ। उम्मेदवारी मनोनयन पुस २० गते हुने छ।

लुम्बिनी प्रदेशको निर्वाचन अधिकृतको कार्यालय दाङमा स्थापना गरिएको छ। यसअघि यो प्रदेशको राष्ट्रियसभाको निर्वाचन र उपनिर्वाचन पनि दाङमै भएको थियो।

यो प्रदेशमा ३ जनाका लागि निर्वाचन हुँदैछ।

यो प्रदेशमा ८१ प्रदेशसभा सदस्य र २ सय १५ स्थानीय तह सदस्य गरि कुल २ सय ९६ मतदाता रहेका छन्। ‘राष्ट्रियसभा निर्वाचनका लागि बिहीबार सबै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन्,’ लुम्बिनी प्रदेशका निर्वाचन अधिकृत, दाङ देउखुरी जिल्ला अदालतका मुख्य न्यायाधीश रितेन्द्र थापाले भने, ‘लुम्बिनी प्रदेशको निर्वाचन अधिकृतको कार्यालय पनि आजै दाङमा स्थापना गरिएको छ।’ यो प्रदेशमा एक महिला, एक दलित र एक अन्य गरि तीनजनाका लागि निर्वाचन हुने भएको छ।

यसैगरि प्रदेश १ मा पनि ३ जनाका लागि निर्वाचन हुने छ। यो प्रदेशमा एक महिला, एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र एकजना अन्य गरि ३ सिटका लागि निर्वाचन हुने छ। प्रदेश नम्बर १ मा ९२ प्रदेशसभा सदस्य  र २ सय ७२ स्थानीय तह सदस्य गरि कुल ३ सय ६४ मतदाता रहेको निर्वााच आयोगले जनाएको छ।

यसैगरि प्रदेश नम्बर २ मा एक महिला र एक अन्य गरि २ जनाका लागि निर्वाचन हुने छ। यो प्रदेशमा १ सय ४ प्रदेशसभा सदस्य र २ सय ६८ स्थानीय तह सदस्य गरि कुल ३ सय ७२ मतदाता रहेका छन्।

बागमतीमा १ महिला र १ अन्य गरि २ सिटका लागि निर्वाचन हुने छ। यो प्रदेशमा १ सय ९ प्रदेशसभा सदस्य र २ सय ३७ स्थानीय तह सदस्य गरि कुल ३ सय ४६ मतदाता रहेका छन्।

गण्डकीमा एक महिला, एक अन्य र एक दलित गरि ३ सिटका लागि निर्वाचन हुने छ। यो प्रदेशमा ५९ प्रदेशसभा सदस्य र १ सय ७० स्थानीय तह सदस्य गरि कुल २ सय २९ मतदाता रहेका छन्। 

कर्णालीमा एक महिला, एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र एकजना अन्य गरि ३ सिटका लागि निर्वाचन हुने छ। यो प्रदेशमा ३५ प्रदेशसभा सदस्य र १ सय ५६ स्थानीय तह सदस्य गरि कुल १ सय ९१ जना मतदाता छन्।

यसैगरि सुदूरपश्चिम प्रदेशमा एक महिला, एक दलित र एक अन्य गरि ३ सिटका लागि निर्वाचन हुने छ।  यो प्रदेशमा ५२ जना प्रदेशसभा सदस्य र १ सय ७५ स्थानीय तह सदस्य गरि २ सय २७ मतदाता रहेका छन्।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखले मतदान गर्न पाउँछन्।  पुस १७ गते मतदाता नामावली प्रकाशन, १९ गते अन्तिम नामावली प्रकाशन हुने र २० गते उम्मेदवारी मनोनयन दर्ता हुने निर्वाचन कार्यतालिका रहेको छ।

प्रकाशित: १५ पुस २०७८ ११:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App