७ वैशाख २०८१ शुक्रबार
राजनीति

नियमित अनुगमनमा कर्णालीका मुख्यमन्त्री

प्रदेश रंगशालाको अनुगमन गर्दै मुख्यमन्त्री शाही। यातायात व्यवस्था कार्यालय सुर्खेतको अनुगमन गर्दै मुख्यमन्त्री शाही। तस्बिरः नगेन्द्र/नागरिक

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही कात्तिक २३ गते यातायात व्यवस्था कार्यालय सुर्खेतको अनुगमनका पुगेका थिए। कार्यालय अगाडिको सडक अव्यवस्थित पार्किङले अस्तव्यस्त थियो। राजस्व तिर्नेहरुको गेटसम्मै लामो लाइन थियो। दुई घण्टादेखि लाइनमा उभिएका सेवाग्राही बुद्धिमान वलीले मुख्यमन्त्रीलाई प्रश्न गरे, ‘मुख्यमन्त्रीज्यू! राजस्व तिर्नका लागि घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता कहिले हट्छ?’

यातायातमा विचौलियाको हालीमुहाली थियो। निःशुल्क पाउनुपर्ने अनुसूची फारम ३० रुपैयाँमा किन्नुपर्ने बाध्यता सेवाग्राहीलाई थियो। सेवाग्राही आफैले भरेको अनुसूची फारम कार्यालयले स्वीकृत नगरेर विचौलियामार्फत जानुपर्ने बाध्यता थियो। यिनै गुनासो सुनेपछि मुख्यमन्त्री शाहीले दुई–तीन दिनमै देखिने गरेर यातायात कार्यालयमा सुधारको अनुभूति गराउने वाचा गरेका थिए।  

अहिले यातायात कार्यालयमा देखिने गरेर सुधार भएको छ। कार्यालयको बाहिरतिर लाइनै पसल थापेर बसेका विचौलिया विस्थापित भएका छन्। आफैले अनुसूची फारम भरेर सेवाग्राहीले काम गर्न पाएका छन्। कार्यालयको गेटमा नागरिक वडापत्र राखिएको छ। ‘सरकारले चाहेमा सुधार हुँदो रहेछ भन्ने यो एक गतिलो उदाहरण हो,’ सेवाग्राही रेशम शाहीले भने, ‘जनतासँग प्रत्यक्ष जोडिएका सेवाक्षेत्रका कार्यालयमा सुधार भइदिएको भए सहज हुन्थ्यो।’  

शाही कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भए। लगत्तै उनी वीरेन्द्रनगर–४ मा रहेको सहिदपार्कको अनुगमनमा निस्किए। भैरव सामुदायिक वनले सञ्चालन गरेको पार्क महिला तथा बालबालिकाका लागि असुरक्षित थियो। पार्क मदिरा र लागूऔषध प्रयोगकर्ताको अखडा बन्दै गएको थियो।  

‘हामीले दुई वर्षदेखि प्रहरी बीटको माग गर्दै जिल्ला प्रहरी कार्यालयदेखि तत्कालीन मुख्यमन्त्रीलाई भेट्यौं, हाम्रो माग सुनुवाई भएको थिएन,’ पार्कका अध्यक्ष अमर कार्कीले भने, ‘मुख्यमन्त्री शाहीले दुई–तीन दिनभित्रै प्रहरी बीट स्थापना गर्ने बाचा गर्नुभएको थियो, दुई घण्टामै पार्कमा प्रहरी बीट स्थापना भयो।’ मुख्यमन्त्री शाहीको आग्रहमा जिल्ला प्रहरी कार्यालयले प्रहरी हवल्दार देवेन्द्र मल्लको नेतृत्वमा पाँच जनाको टोली पार्कमा खटाएको छ। सामुदायिक वनले प्रहरीलाई बस्नका लागि भवन उपलब्ध गराएको छ।

नेपालमा पूर्वाधार निर्माणका कामहरु तोकिएको समयमा विरलै सम्पन्न हुन्छन्। अझ तोकिएको समयभन्दा अगाडि निर्माण सकिएका उदाहरणहरु कमै छन्। सुर्खेत नागरिक उड्डयन प्राधिकरणले धावनमार्ग विस्तार, मर्मत र ओभरले गर्नका लागि मंसिर १० गतेदेखि पुस ५ गतेसम्मका लागि विमानस्थल बन्द गर्‍यो। प्रदेश राजधानीलाई संघीय राजधानीसँग हवाईमार्गबाट जोड्ने एक मात्रै विमानस्थललाई चाँडो सञ्चालन गर्नका लागि मुख्यमन्त्री शाही पाँच पटकसम्म अनुगमनमा पुगे। ‘मुख्यमन्त्रीज्यूको निरन्तरको अनुगमनका कारण रातदिन नभनेर काम गर्‍यौं, मुख्यमन्त्री नियमित अनुगमनमा आउँदा निर्माण व्यवसायीलाई पनि नैतिक दवाव पर्‍यो,’ प्राधिकरणका वरिष्ठ अधिकृत ध्रुव पाण्डेले भने, ‘तोकिएको समय भन्दा पाँच दिनअघिनै हामीले धावनमार्ग विस्तार, मर्मत र ओभर–लेको काम सम्पन्न गर्‍यौं।’

अहिले कर्णाली सरकारले प्रदेश रंगशालालाई ‘प्रदेश गौरवको योजना’का रुपमा समावेश गरेको छ। मंसिर २२ गते शिलान्यास गरिएको रंगशालाको निर्माणकार्य भर्खरै सुरु भएको छ। १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँको यो योजना २४ महिनामा सम्पन्न गर्ने लक्ष्य छ। शिलान्यास कार्यक्रममै मुख्यमन्त्री शाहीले प्रदेशको पहिलो गौरवको योजनालाई समयमै सम्पन्न गर्नका लागि आफू नियमित अनुगमनमा आउने बताएका थिए। २२ दिनको अवधिमै मुख्यमन्त्री शाही रंगशाला निर्माणस्थलमा दुई पटक अनुगमनका लागि पुगिसकेका छन्।

‘प्रदेशको पहिलो गौरवको योजना भएकाले रंगशाला निर्माणको दैनिक अपडेट लिने गरेको छु,’ मुख्यमन्त्री शाहीले भने, ‘सातामा एक पटक आफै उपस्थित भएर जानकारी लिने योजना बनाएको छु।’ सोमबार रंगशालाको अनुगमनका लागि पुगेका मुख्यमन्त्री शाहीले तोकिएकै समयमा आयोजना सम्पन्न गर्न सरकारकोतर्फबाट पूर्ण सहयोग हुने बताए।  

‘सरकारकातर्फबाट आयोजना समयमै सम्पन्न गर्नका लागि पूर्ण सहयोग रहन्छ,’ उनले भने, ‘द्रुतगतिमा निर्माण कार्यलाई अघि बढाउनुहोस्।’ उनले २०८१ मा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्नका लागि पनि रंगशाला निर्माण समयमै सम्पन्न गर्नुपर्ने आवश्यकता औल्याए। मुख्यमन्त्री नियमित अनुगमनमा आउँदा आफूहरुलाई काम समयमै सम्पन्न गर्नका लागि उर्जा र हौसला मिलेको निर्माण व्यवसायीका प्रतिनिधि प्रकाश पोखरेलले बताए। ‘२०७८ कात्तिक २७ गते संझौता भएको योजना २०८१ वैशाख ११ गतेभित्र निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ,’ निर्माण कम्पनी एमएसीजीएसएल जोइन्टभेन्चरका प्रतिनिधि पोखरेलले भने, ‘सरकार प्रमुखलेनै नियमित अनुगमन र चासो राख्दा हामीलाई समयभित्रै निर्माण सम्पन्न गर्नका लागि दवावसँगै सकारात्मक उर्जा प्राप्त भएको छ।’

प्रकाशित: १३ पुस २०७८ १४:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App