३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने माओवादी निर्णय

देशव्यापीरूपमा कार्यकर्ता पङ्क्तिमा छाएको उत्साह तथा जनस्तरबाट प्राप्त सुझावका आधारमा नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा साँझ बसेको स्थायी समितिको बैठकले आइतबारदेखि सुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो। यद्यपि सो निर्णयलाई आइतबार बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्न बाँकी छ।

स्थायी समितिको बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनप्रति जनआकर्षण एवं पार्टी पङ्क्तिमा पनि विशेष चासो बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरिएको जानकारी दिए। माओवादीको विधानमा राष्ट्रिय सम्मेलन वा महाधिवेशन दुवै आयोजना गर्न सकिने व्यवस्था छ। राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय भएसँगै त्यसलाई आठौँ महाविधेशनको नाम दिइने छ।

माओवादीले वडा तहदेखि नै सम्मेलन सम्पन्न गरेकाले पनि महाधिवेशनमा परिणत गर्न कुनै कठिनाइ नभएको तर्क गरेको छ। राष्ट्रिय सम्मेलन सम्पन्न गरेको निश्चित समयपछि महाधिवेशन आयोजना गर्नुपर्ने भएकाले यसलाई नै परिणत गर्दा केही फरक नपर्ने सुझाव आएपछि यस्तो निर्णय गरिएको प्रवक्ता महराले जानकारी दिए।

प्रकाशित: १० पुस २०७८ १४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App