२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

क्षति रोक्न ओली देश दौडाहामा

दसौं महाधिवेशनपछि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गराउने बहानामा देश दौडाहामा लागेका छन्। दुई दिनअघि कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली दुई दिनपछि वीरगन्ज जाँदैछन्। पार्टीमा नेताभन्दा पनि कार्यकर्ता प्रवेश गराएर संगठन मजबुत बनाउने अभियानमा लागेको एमालेले देशभर नै पार्टी प्रवेशको कार्यक्रम बनाउन थालेको छ। ‘एमालेमा आउनेको लहर चलेको छ। अध्यक्ष कमरेड भोली वीरगन्ज जाँदै हुनुहुन्छ। त्यसपछि १० गते झापा जाने कार्यक्रम छ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने।

विधान महाधिवेशनपछि झापा पुगेर माओवादीसँग आबद्ध दुर्गा प्रसाईंलाई एमालेमा प्रवेश गराई केन्द्रीय सदस्यसमेत बनाएका ओली फेरि झापा जाँदैछन्। पार्टी प्रवेशलगायतका कार्यक्रममा ओली आफैं सहभागी हुन रुचि राख्दै आएका छन्। कांग्रेस महाधिवेशन सुरु भएको दिन प्रज्ञाभवनमा वाग्मती प्रदेशले आयोजना गरेको कार्यक्रममा पनि ओलीले माओवादीबाट आएका केही कार्यकर्तालाई प्रवेश गराएका थिए। त्यस दिन सो कार्यक्रममा ओलीले देशको अभिभारा के हो भनेर कांग्रेसलाई सिकाउनुपर्ने बताएका थिए। ‘कांग्रेस, माओवादी र नेकपा एसको प्रहारमा परेका ओली उनीहरूलाई नै प्रतिप्रश्न गर्दै एमालेमा थप क्षति हुन नदिने रणनीतिमा रहेका छन्’, एमालेका एक स्थायी कमिटी सदस्यले भने। एमाले विभाजनपछि नै ओलीले संगठनलाई चुस्तदुरुस्त राख्न नयाँ कार्यकर्ता भर्ती गर्नुपर्ने आवश्यकता महसुस गरेको एमाले नेताहरूको भनाइ छ।

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकको निर्णय नै देशभर पार्टी प्रवेशको लहर चलाउने रहेको छ। सोही अनुसार ओली आफैं पार्टी प्रवेशजस्ता कार्यक्रम लिएर सम्बोधनका लागि जान थालेका छन्। मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटी बैठकमा ‘प्रवेशको लहर नै चलाउँछौं, अभियान नै चलाउँछौं’ भन्दै उनले यससम्बन्धी कार्यक्रम गर्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका थिए। ‘हाम्रा निम्ति राष्ट्रियसभा निर्वाचन प्रतिकूल हुन सक्छ। हाम्रैबाट जितेर पनि केही मान्छे बिग्रिएकाले पनि त्यो प्रतिकूल हुने भएको हो। पहिले नै जितेका प्रतिनिधिले चुन्ने भएकाले पनि त्यस्तो हो। त्यसकारण आउँदो निर्वाचनलाई ध्यान दिएर पनि नेताभन्दा कार्यकर्तालाई पार्टी प्रवेश गराउनुपर्छ, त्यसपछि मात्रै पार्टी मजबुत हुन्छ’, ओलीले भनेका थिए। पार्टी विभाजनपछि भएको क्षति न्यूनीकरण गर्न पनि एमालेले पार्टी प्रवेश कार्यक्रम अघि बढाएको हो।

गत वर्षको पुस ५ गते संसद् विघटन गरेर चुनावमा होमिन खोजेका ओलीले अहिले पनि संसद् भंग गरेर ताजा जनादेशमा जानुपर्ने मत राखिरहेका छन्। एमालेले अहिले पनि संसद् अवरोध जारी राखेको छ। यति बेला एमालेका धेरैजसो पदाधिकारी र केन्द्रीय सदस्य आआफ्नो जिल्लामा छन्। एमाले विभाजन भएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले र ओलीविरुद्ध भाषण गरिरहेका बेला त्यसबाट हुने क्षति रोक्न ओली र पदाधिकारीको टिम देश दौडाहामा लागेको हो।  

कपिलवस्तु पुगेर ओलीले जसपामा प्रभावशाली नेताहरूलाई पार्टीमा प्रवेश गराए। एमालेमा प्रवेश गरेका मंगलप्रसाद गुप्ता त्यस क्षेत्रमा प्रभावशाली नेता मानिन्छन्। ‘एमालेमाथि एस पार्टीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवैको प्रहार रहेको छ। उनीहरू ओलीलाई गाली गरेर एमालेलाई क्षति पुर्‍याउन चाहन्छन्। त्यसकारण अबका दिनमा एमालेमाथि चौतर्फी प्रहार हुनेछ। यही कुरालाई ध्यान दिई एमाले चुस्तदुरुस्त संगठन निर्माण र पार्टी प्रवेश कार्यक्रमलाई देशव्यापी बनाउन चाहन्छ र यो मुलुकमा कांग्रेससँगको मुख्य प्रतिस्पर्धी दल एमाले नै हो भन्ने देखाउन चाहन्छ’, सो पार्टीका एक नेताले भने। 

ओली कपिलवस्तु जानुअघि लुम्बिनी प्रदेशको बाँकेका केही प्रभावशाली नेतालाई नेपालगन्ज पुगेर पार्टी प्रवेश गराएका थिए। स्वतन्त्र समूहका नेता पशुपति दयाल मिश्र, साबिकको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य अब्दुल करिम खान, साबिक तमलोपाका जिल्ला अध्यक्ष गिरिजाप्रसाद पाठक, नेता चिन्तु बर्मालगायतका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए। ‘पार्टी प्रवेश वा जनसंगठनले आयोजना गरेका जुनसुकै कार्यक्रमको उद्देश्य एमाले विभाजनको क्षति न्यूनीकरण गर्नु नै हो’, एमालेका एक स्थायी कमिटी सदस्यको दाबी छ।

एमालेका महासचिव शंकर पोखरेलले गरेको पहिलो पत्रकार सम्मेलनमा एमालेविरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण भएको भन्दै त्यसलाई तोड्नु पहिलो दायित्व भएको बताएका थिए। सो पत्रकार सम्मेलनपछि नै कपिलवस्तुमा ओलीले पार्टी प्रवेशको कार्यक्रम तय गराएका हुन्।

त्यस्तै प्रदेश २ मा एमाले तुलनात्मक रुपमा कमजोर भएकाले पनि वीरगन्जमा माओवादीसहित अन्य पार्टीबाट धेरैभन्दा धेरै नेता कार्यकर्ता पार्टीमा ल्याउने उद्देश्य उनको छ। ‘वीरगन्जमा यहाँको भन्दा धेरै कार्यकर्ता र नेता पार्टी प्रवेश गराउने योजना छ। त्यहाँका साथीहरूले यहाँको भन्दा बढी हुन्छन् भनेका छन्’, ओलीले कपिलवस्तुको सभामा भनेका थिए।

नेकपा एसका अध्यक्ष नेपालले संसदमा आफ्नो उपस्थितिले ओलीको सातो गएको बताइसकेका छन् भने माओवादी अध्यक्ष दाहालले राष्ट्रिय सम्मेलनमा पेस गर्ने दस्तावेजमा एमाले र ओलीलाई गाली गरेका छन्। उनले एमालेको दसौं महाधिवेशनबाट कुनै पनि नयाँ विचार र नेतृत्व स्थापित गर्न नसकेको भन्दै गाली गरेका छन्। ‘एमालेको अधिवेशन त विधि पद्धतिमाथि छलफल नै नभएको निरंकुश, विचारशून्य अधिवेशन हो,’ प्रचण्डको विश्लेषण छ, ‘त्यहाँ माक्र्सवादको होइन व्यक्तिपूजा भयो। एमाले समाजवाद केन्द्रित छैन, जनतालाई अधिकार दिने कुरामा केन्द्रित छैन, यो संविधानलाई सुधार गर्ने दृष्टिकोण राख्दैन’, दाहालको राजनीतिक प्रतिवेदनमा उल्लेख छ। एमालेले कुनै नयाँ विचार दिन नसकेको भनी दाहालले टिप्पणी गरिरहँदा ओलीले उनकै दलका कार्यकर्तालाई पार्टीमा प्रवेश गराउने रणनीति अघि सारेका छन्।

एमालेमाथि चौतर्फी प्रहार भएको भन्दै भर्खरै निर्वाचित भएका केन्द्रीय सदस्य आआफ्नो जिल्लामा केन्द्रित हुन थालेका छन्। उपाध्यक्ष विष्णु पौडेल गृहजिल्ला रुपन्देहीको तीनदिने कार्यक्रम सकेर काठमाडौं आइपुगेका छन्। उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि चितवनमा कार्यक्रम सकेर काठमाडौं आएका छन्। त्यस्तै उपसचिव पृथ्वी सुब्बा गुरुङ पनि गण्डकी प्रदेशका विभिन्न कार्यक्रममा सहभागी भएका थिए। सचिव योगेश भट्टराई गृहजिल्ला ताप्लेजुङमा क्रियाशील छन्। पोलिटब्युरो सदस्य ठाकुर गैरे पनि पाल्पास्थित विभिन्न कार्यक्रममा सहभागी भैरहेका छन्।

प्रचार विभाग उपप्रमुख रिजालका अनुसार देशव्यापी रुपमा पार्टी प्रवेश र संगठनलाई चुस्तदुरुस्त राख्न जिल्ला, प्रदेश र जनसंगठनहरूको सम्मेलनको तयारी भएको छ। एमालेले पुस २३ र माघ ८ गते जिल्ला र प्रदेश सम्मेलनको मिति निर्धारण गरिसकेको छ। बुधबार एमाले जनसंगठन संयन्त्रको बैठकले फागुन मसान्तभित्र जनसंगठनका राष्ट्रिय सम्मेलन गरिसक्ने निर्णय गरेको छ। ‘जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू सहभागी बैठकले केन्द्रीय कमिटीको दोस्रो बैठकको निर्णयअनुसार फागुन मसान्तभित्र सबै जनसंगठनका राष्ट्रिय अधिवेशन/सम्मेलन आयोजना गर्न आआफ्नो कार्यक्षेत्रमा लाग्ने निर्णय गरेको छ’, रिजालले भने।

प्रकाशित: ८ पुस २०७८ ०१:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App