२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसको ध्यान अब निर्वाचनमाः परियार

नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले पार्टीको ध्यान अब हुने स्थानीय तहको निर्वाचनमा रहने बताएका छन्।  

नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा परियारले पार्टी महाधिवेशन अन्तिम चरणमा पुगेकोले समितिले पूर्णता पाएपछि चुनाव केन्द्रित गतिविधि गर्ने बताए।  

महाधिवेशनपछि पार्टीमा निकै उत्साह आएको र त्यही उत्साहमार्फत आगामी निर्वाचनमा कांग्रेसलाई सबैभन्दा ठुलो पार्टी बनाउने उनले बताए। ‘कांग्रेसलाई ठुलो र बलियो दल बनाउनुपर्ने जरुरी छ,’ उनले भने।  

महाधिवेशनमार्फत आएका परिवर्तनका कुराहरुलाई संस्थागत गरेर पार्टी अघि बढ्ने भन्दै परियारले पार्टीभित्र विचारको सैद्धान्तिक बहस गर्न आवश्यक रहेको बताए।  

उनले सत्ता समीकरणका लागि बनेको कांग्रेस सहितको गठबन्धन आगामी चुनावसम्म नजाने पनि बताए। ‘विगतमा एमाले र माओवादी झैं मिलेर कांग्रेस निर्वाचनमा जान सक्दैन। एकदुई ठाउँमा केही नेताका लागि सहकार्य हुन सक्ला, तर अहिलेजस्तो गठबन्धन निर्वाचनमा हुँदैन,’ उनले भने।  

पार्टी एकढिक्का बनाउने जिम्मा कांग्रेस सभापति शेरबहादुर देउवाको भएको हुँदा विगतमा जस्तो भागबण्डा अब नहुने उनको भनाइ थियो। उनले पार्टी एक बनाउन अब गुटको राजनीति छोडेर सबै कार्यकर्तालाई समेटेर अगाडि बढ्नुपर्ने बताए।  

प्रकाशित: ४ पुस २०७८ ०७:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App