७ वैशाख २०८१ शुक्रबार
राजनीति

लुम्बिनी प्रदेशः अर्थले बजेट रोक्यो, रोकियो संसद भवन निर्माण

निर्माणाधीन प्रदेशसभा भवन।

प्रदेश सरकारले बजेट रोकिदिएपछि लुम्बिनी प्रदेशको प्रदेशसभा भवन निर्माणको काम रोकिएको छ। स्थायी राजधानी देउखुरीमा प्रदेशसभा भवन निर्माणको काम भैरहेको थियो। तर अर्थ मन्त्रालयले बजेट रोकिदिएपछि भवन निर्माणको काम रोकिएको लुम्बिनी प्रदेश पूर्वाधार बिकास प्राधिकरणले जनाएको छ। यो प्राधिकरण स्थायी राजधानीमा भौतिक संरचना निर्माणका लागि स्थापना भएको छ।

आगामी माघ महिनासम्म प्रदेशसभा भवन निर्माण भैसक्नु पर्ने सम्झौता थियो। यो भवन निर्माणका लागि ६ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो। तर उक्त भवन निर्माणमा केही परिमार्जन गर्ने निर्णय भएपछि प्राधिकरणले थप बजेट माग गरेको थियो। प्राधिकरणका प्रमुख अनन्तराज घिमिरेका अनुसार उक्त भवनको छानो ढुंगाको हाल्न भन्दै प्रदेशसभाको सचिवालय व्यवस्थापन समितिले प्राधिकरणलाई सुझाएको थियो।

पहिले प्रिफ्यावको छानो हाल्ने भनिएको थियो। तर छानो परिवर्तन गर्ने सुझावका आधारमा प्राधिकरणले झण्डै तीन करोड रुपैयाँ माग गरेको थियो। तर अर्थले उक्त रकम नदिएको बताईएको छ। ‘प्रदेशसभाको सचिवालय व्यवस्थापन समितिले भवनको छानो ढुंगाको हाल्ने निर्णय गरेर रकम माग गर्न भनेपछि हामीहरुले अर्थ मन्त्रालयसंग रकम माग गर्यौँ,’ घिमिरेले भने, ‘तर उक्त रकम अर्थबाट पास भएको छैन, भवन निर्माणको काम रोकिएको छ।’

अर्थले रकम नदिएपछि भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले काम बन्द गरेको छ। अब भवन निर्माणको छानो हाल्न बाँकी छ। निर्माण कम्पनीले बजेटको सुनिश्चितता नभएसम्म काम नगर्ने भन्दै १० दिनदेखि निर्माणको काम रोकेको घिमिरेले बताए। ‘बजेटको सुनिश्चितता नभएसम्म काम नगर्ने भनेर निर्माण कम्पनीले १० दिनदेखि काम बन्द गरेको छ,’ घिमिरेले भने।

उनका अनुसार बजेटका सन्दर्भमा छलफल भैरहेको छ। मुख्यमन्त्री कार्यालय, अर्थ मन्त्रालयसंग बजेटका बिषयमा कुराकानी भैरहेको तर अहिलेसम्म निर्क्याैल भने भैसकेको छैन। ‘भवन निर्माणको काम रोकिएको बिषय र बजेटका बारेमा मुख्यमन्त्री कार्यालय, अर्थ मन्त्रालयसंग छलफल भैरहेको छ,’ उनले भने, ‘तर अहिलेसम्म कुनै टुंगो लागिसकेको छैन।’

प्रदेशको स्थायी राजधानी देउखुरीमा तोकिएपछि भेगीय स्वार्थको लडाइ चलिरहेको छ। देउखुरी राजधानी आउन नदिदने नियतका साथ केही ‘शक्ति’ लागिपरेको स्रोतको दाबी छ। त्यहि शक्तिले नै अर्थलाई बजेट रोक्न बाध्य पारेको आशंका गरिएको छ। त्यसोत, केही दिनअघि प्राधिकरणका प्रमुख घिमिरेलाई राजधानी नसार्न भन्दै ज्यान मार्ने धम्की दिइएको थियो। फेसबुक म्यासेन्जरमा म्यासेज पठाउँदै एक व्यक्तिले राजधानी सार्न लागिपरेको भन्दै ज्यान मार्ने धम्की दिएका थिए। साथै ति व्यक्तिले अर्थले बजेट रोक्न मानिसकेको तर घिमिरेले एकलौटी रुपमा राजधानी पूर्वाधार निर्माणको काम गरिरहेको भन्दै त्यसो नगर्न चेतावनी दिइएको थियो।

‘अर्थले बजेट रोक्न मानिसकेको तर मैले नै काम अघि बढाइरहेको भन्दै मलाई आएको धम्कीको सम्बन्ध पनि अहिले बजेट रोकिनुमा छ कि भन्ने आशंका छ,’ घिमिरेले भने, ‘राजधानी आउन र ल्याउन नदिनेहरुले यसमा ठूलो चलखेल गरेका छन् नै।’ त्यसोत, घिमिरेलाई यसअघि पनि अप्रत्यक्ष रुपमा राजधानी सार्ने काम नगर्न सचेत गराइएको थियो। उनीहरुले अख्तियारले समात्ने त्रास दिँदै अप्ठ्यारो काम नगर्न भन्दै आएका थिए।

‘मलाई केही व्यक्तिहरुले भेटमा फोनमा मेरै हितका लागि जसरी राजधानीको काम नगर्न सुझाव दिँदै आएका थिए,’ घिमिरेले भने, ‘अख्तियारले अप्ठ्यारो पार्ला सचेत हुनुस् भन्ने खालका कुराहरु आइरहेका थिए, तर मैले आफ्नो जिम्मेवारी बहन गरिरहेको छु।’

प्रकाशित: २ पुस २०७८ १२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App