७ वैशाख २०८१ शुक्रबार
राजनीति

बागमती प्रदेशमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त

बागमती प्रदेशका नवनियुक्त राज्यमन्त्री र मन्त्रीसँगै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे।

बाग्मती प्रदेशमा पाँचजना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन्। प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री तथा राज्यमन्त्री थप गरेका हुन्। उनले मंगलबार तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट मन्त्री र राज्यमन्त्री नियुक्त गरिएको छ। माओवादी केन्द्रबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा एकीकृत समाजवादीबाट दुई मन्त्री नियुक्त भएका हुन्। पाण्डेले मन्त्री र राज्यमन्त्री नियुक्त गरेसँगै मंगलबार नै प्रदेशप्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराएका छन्।

माओवादीका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात, विशाल खड्का  वन तथा वातावरण र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन्। एकीकृत समाजवादीका वसन्तकुमार मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइ, बसुन्धरा हुमागाईं कृषि तथा पशुपन्छीमन्त्री र इन्द्रमाया गुरुङ कृषि तथा पशुपन्छी राज्यमन्त्री बनेकी छिन्। राज्यमन्त्री गुरुङलाई मुख्यमन्त्री पाण्डेले शपथ गराएका हुन्।

योसँगै बाग्मतीमा मुख्यमन्त्रीसहित ११ मन्त्री र एक राज्यमन्त्रीको सरकार बनेको छ। यसअघि पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिला मन्त्री भएका छन्। यस्तै, दोस्रो चरणमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल आर्थिक मामिला र कांग्रेस सांसद निमा लामाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।

बागमतीमा गत १५ मंसिरको मन्त्रिपरिषद्को निर्णयअनुसार आठवटा मन्त्रालय फुटाएर १४ बनाइएको छ। सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्र,  कांग्रेस र एकीकृत समाजवादीमा भागबन्डा मिलाउन दलहरूको सहमतिमा मन्त्रालय फुटाइएको हो।

प्रकाशित: २८ मंसिर २०७८ १५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App