७ वैशाख २०८१ शुक्रबार
राजनीति

बेलायतसँंग वार्ता गठन वार्ता टोली गठन गर्न भूपू गोर्खा सैनिकको माग

भूतपूर्व गोरखा संघर्ष समितिले नेपाल सरकारकै लापरवाहीले  बेलायतसँगको वार्ता विफल हुने अवस्था आएको गुनासो गरेको छ। आफ्नो अधिकारका लागि १३ दिनसम्म आमरण अनसन बसेका पुष्पा राणा घले, ज्ञानराज राई र धनबहादुर गुरुङसँग भएको लिखित सहमति अनुसार यही डिसेम्बर २१ देखि वार्ता हुँदैछ। तर, वार्ताको समय आइसक्दा पनि नेपाल सरकारले वार्ता समिति नबनाएपछि आन्दोलनरत समूह आक्रोसित बनेको छ।

संयुक्त संघर्ष समितिकी सचिव पुष्पा राणा घलेले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी सरकारले भुपू गोरखाको माग पूरा गराउन वार्ता समितिसमेत बनाउन नसकेको बताइन्। बेलायती सरकारले वार्ता गर्न खोज्दाखोज्दै पनि वार्ता समिति बनाउन नसकेर सरकारले लाचारी व्यवहार देखाएको आरोप उनले लगाइन्। उनले नेपाल सरकारकै कारण वार्ता असफल बने हात बाँधेर नबस्ने चेतावनीसमेत दिइन्।

उनले सरकारी बेवास्ताका कारण बेलायतले बोलाउँदा पनि वार्ता समिति बनाउन नसक्नुले नेपालको लाचारीपन स्पष्ट भएको बताइन्। ‘बेलायती सरकारले आमरण अनसन तोडेको बेला जसरी पनि भुपु गोरखा सैनिकको माग पूरा गर्ने प्रतिवद्धता जनाएको छ, तर नेपाल सरकारले वार्ताको समय आइसक्दा पनि वार्ता समिति बनाउन सकेन, उनले भनिन्, ‘यो नेपालकै लागि लज्जाको विषय बनिसक्यो।’

पछिल्लोपटक जुलाई ७ देखि १९ तारिखसम्म आफ्नो अधिकारका लागि भएको सत्याग्रह अन्त्यका लागि बेलायतले नेपालसँग वार्ता गरेर भुपु गोरखा सैनिकका परिवारले उठाउँदै आएका मागहरु पूरा गर्ने लिखित प्रतिवद्धता जनाएको थियो।

सम्मेलनमा नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले नेपाल सरकार नेपाली नागरिकप्रति उद्धार नभएको आरोप लगाए। उनले तत्काल वार्ता समिति बनाएर भूपु गोरखा सैनिकका परिवारले उठाउँदै आएका जायजमाग पूरा गराउन नेपाल सरकारले पहल गर्नुपर्नमा जोड दिए।

समाजवादी काँग्रेसले बेलायतमा आमरण अनसन चलिरहेका बेला पत्र लेख्दै बेलायत सरकारको ध्यानाकर्षण गराएको थियो। आमरण अनसन बस्ने राणा समाजवादी कांग्रेसको उपाध्यक्ष भएका कारण पनि पार्टीले गोरखा सैनिकको विषयमा पटकपटक आवाज उठाउँदै आएको सचिव मानबहादुर गुरुङले बताए।

भूपु गोरखा सैनिकका परिवारले लामो समयदेखि उठाउँदै आएका मागहरु पूरा गर्न डिसेम्बर २१ मापहिलो चरणको वार्ता हुँदैछ। तर, नेपाल सरकारले भने राजदूत जनवरी पहिलो सातामात्रै पठाउने बताउँदै आएको छ। सरकारले तत्काल राजदूत नपठाउँदा वार्ता हुने अवस्था न्यून हुँदै गएको छ।

बेलायती सरकारसँग वार्ता गर्न राणा सोमबार बेलायत जाँदैछिन्। बेलायती सरकारले भूपु गोरखा सैनिकका परिवारले उठाउँदै आएका अरु सैनिकका परिवारले पाउँदै आएको सेवा सुविधा समान हुनुपर्ने मागप्रति निक्कै सचेत रहेको उनको भनाइ छ।

प्रकाशित: २६ मंसिर २०७८ १२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App