२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आफ्नैबाट असहयोग र अविश्वास

कांग्रेस नेता रामचन्द्र पौडेल १४औं महाधिवेशनबाट पार्टीको मूल नेतृत्वमा पुग्ने आकांक्षासहित दौडधुपमा जुटेका थिए। १३औं महाधिवेशनमा सभापतिमा पराजित भएपछि पार्टीभित्र प्रतिपक्षी दलका नेताको जस्तै भूमिकामा रहेका पौडेललाई १४औं महाधिवेशनसम्म आइपुग्दा आफ्नै समूहका नेताले सभापतिको उम्मेदवार बनाउन अस्वीकार गरे। संस्थापन इतर समूहबाट १४औं महाधिवेशनमा नेता शेखर कोइराला र प्रकाशमान सिंहले अलगअलग रूपमा सभापतिका लागि उम्मेदवारी दर्ता गराएपछि पौडेल पार्टी नेतृत्वको प्रतिस्पर्धाबाटै ‘रिङ आउट’ भएका छन्। चार वर्षदेखि देउवाको विकल्प खोज्न संस्थापन इतर पक्ष एकठाउँमा उभिनुपर्ने बताउँदै आएका नेताहरूले आ–आफ्नो ‘इगो’ लाई कायमै राख्दै सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्।

संस्थापन इतर समूहमा सहमतिका लागि शनिबार बिहानसम्म गरिएका प्रयास असफल भएपछि सिंह र कोइरालाले सभापतिमा उम्मेदवारी दिएका छन्। पौडेलले सभापतिमा उम्मेदवारी नदिएपछि उनको अबको राजनीतिक यात्रा नै अन्योलपूर्ण देखिएको छ। पार्टी नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहेका पौडेलले १४औं महाधिवेशनसम्म आइपुग्दा आफूले धेरै प्रपञ्च भोगेको बताएका छन्। उनले आफू नेतृत्वको प्रतिस्पर्धामाबाट अलग्गिए पनि कांग्रेसको सुधार र राजनीतिमा भने रहिरहने भन्दै विवेक प्रयोग गरेर मतदान गर्न महाधिवेशन प्रतिनिधिलाई अपिल गरेका छन्। ‘कांग्रेस आज केवल सत्ताको भ¥याङमा मात्र सीमित हुन गएको मलाई महसुस भइरहेको छ,’ उनले भने, ‘त्यो पनि संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको अवस्था छ।’  

तनहुँको सामान्य परिवारमा जन्मेका पौडेल पोखराको संस्कृत पाठशालाबाट विद्यार्थी संगठनमार्फत राजनीतिमा सक्रिय भएका हुन्। बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह हुँदै गिरिजाप्रसाद कोइरालासँग नजिकिएर राष्ट्रिय राजनीतिमा पौडेलले आफ्नो स्थान बनाएका हुन्। तर, तिनै गिरिजाप्रसादसँग होलेरी काण्डपछि पौडेलले दूरी बढाएका थिए। तत्कालीन विद्रोही माओवादीविरुद्धको कारबाहीमा दरबारको असहयोगपछि प्रधानमन्त्रीबाट राजीनामा दिने पक्षमा पुगेका गिरिजाप्रसादले भन्दा पहिला उपप्रधानमन्त्रीसहित गृहमन्त्री रहेका पौडेलले मन्त्रीबाट राजीनामा दिए। त्यो पनि गिरिजाप्रसादमाथि आक्रोश पोख्दै। 

त्यसको केही दिनमा गिरिजाप्रसादले पनि प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए। त्यसपछि संसदीय दलको नेतामा निर्वाचित भएका शेरबहादुर देउवा प्रधानमन्त्री बने। पछि देउवा नेतृत्वको सरकार र पार्टीबीच माओवादीविरुद्ध संकटकाल लगाउने कि नलगाउने भन्ने विवाद भयो।देउवाले संसद् विघटन गरे। पार्टी पनि विभाजित भयो। पार्टी विभाजनको सँघारमा पुग्दा पौडेलले पनि देउवालाई साथ दिने तयारी गरे। तर, नेत्री शैलजा आचार्यले पौडेललाई देउवातिर जान रोकिन्। उनी गिरिजाप्रसाद नेतृत्वको मूल कांग्रेसमै रहे र कोइराला परिवारसँग जोडिइरहे। गिरिजाप्रसादपछि सुशील कोइरालालाई पार्टी सभापति बनाउन पौडेल सहयोगी बने। तर, आफूलाई मुलुकको प्रधानमन्त्री बनाउन भने सुशीलसहित कोइराला परिवारको सहयोग नरहेको गुनासो पौडेलले बेलाबेलामा गर्दै आएका छन्।

१३औं महाधिवेशनको संघारमा तत्कालीन सभापति सुशीलको निधन भएपछि उनको उत्तराधिकारीका रूपमा पौडेल महाधिवेशनमा सभापतिको प्रत्यासी बने। तर, त्यसमा पनि पौडेलले कोइराला परिवारको पूर्ण सहयोग नपाएको उनीनिकट बताउँछन्। सुशील नेतृत्वको सरकारमा प्रकाशमान सिंहलाई उपप्रधानमन्त्री बनाउन पौडेलले नै अग्रसरता लिएको नेताहरू बताउँछन्। तर, १३औं महाधिवेशनमा पनि सिंहले पौडेल नभएर आफैं सभापतिको प्रत्यासी बन्ने अड्डी लिएका थिए। त्यतिबेला अन्तिममा आएर आफ्नो अडानबाट पछि हटेका सिंह १४औं महाधिवेशनमा पौडेललाई नेतृत्व स्वीकार गर्न तयार देखिएनन्। सभापतिमा उम्मेदवारी दर्ता गराएका संस्थापन इतरका अर्का नेता शेखरले १३औं महाधिवेशनपछि पौडेलविरुद्ध असन्तुष्टि पोख्दै नेतृत्वमा पुग्ने तयारी गरिरहेका थिए। अहिले शेखर र सिंह दुवै उम्मेदवार बनेपछि पौडेल पार्टी नेतृत्वको प्रतिस्पर्धाबाटै बाहिरिएका छन्।

देउवाले दोस्रो कार्यकालका लागि सभापतिमा उम्मेदवारी दिएका छन्। देउवासँग झन्डै तीन दशक काम गरेका विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिएका छन्। १३औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका देउवाले निधिलाई उपसभापतिमा मनोनीत गरेका थिए। कांग्रेसमा जसले मनोनीत ग¥यो उसैलाई चुनौती दिने निधि मात्र एक नेता होइनन्। गिरिजाप्रसादले नरहरि आचार्यलाई पार्टी प्रवक्ता मनोनीत गरेका थिए। तर, तिनै आचार्यले ११औं महाधिवेशनमा कोइरालालाई चुनौती दिँदै उम्मेदवारी दर्ता गराएका थिए। सुशीलनिकट भीमबहादुर तामाङ पनि १२औं महाधिवेशनमा उनीविरुद्ध उत्रिएका थिए।

२०४८ सालको आम निर्वाचनपछि गिरिजाप्रसादको विश्वास आर्जन गरेका थिए देउवाले। तर, बिस्तारै गिरिजाप्रसादसँग टाढिएका देउवा १०औं महाधिवेशनमा उनीविरुद्ध सभापतिमा खडा भए। २०५९ सालमा कांग्रेस विभाजन हुँदा देउवाका दुई विश्वासपात्र थिए– निधि र प्रकाशमान सिंह। तर, १४औं महाधिवेशनमा आइपुग्दा देउवाविरुद्ध निधि र सिंह दुवै मैदान खडा भएका छन्।

यसैबीच नेता रामचन्द्र पौडेलले कांग्रेसमा विचलन आउँदा पीडाबोध भइरहेको बताएका छन्। ‘मैले कांग्रेसलाई जुन रूपमा बुझ्दै आइरहेको थिएँ, त्यो कांग्रेसमा विचलन आइरहेको अनुभव गर्नुपरेको छ। पार्टी सत्ताको भ¥याङ नहोस् भनेर बिपी, गणेशमान र किसुनजीले जीवनभर आदर्श र मूल्यका लागि लड्नुभयो, संघर्ष गर्नुभयो, त्यो आज निरर्थक हुन लागेकोमा पीडाबोध भइरहेछ,’ सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएपछि पौडेलद्वारा शनिबार जारी विज्ञप्तिमा छ, ‘संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको छ।’

प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अँगालेर अनेक अथक प्रयत्न गर्दा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छाड्ने अवस्थामा आफू पुगेको उनले जनाएका छन्। ‘तर एउटा इमानदार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध लडिरहनेछु,’ विज्ञप्तिमा उल्लेख छ, ‘राष्ट्रिय राजनीतिमा मेरो भूमिका रहिरहनेछ। प्रतिस्पर्धाबाट म अलग रहे पनि आस्थावान् साथीहरूले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउनुहुनेछ भन्ने शुभेच्छा व्यक्त गर्दछु।’

प्रकाशित: २६ मंसिर २०७८ ०१:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App