२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस १४औं महाधिवेशन उद्घाटन आजः जनताले भरोसा गर्ने पार्टी बन्ला?

नेपाली कांग्रेसको शुक्रबारदेखि सुरु हुने १४ औँ महाधिवेशन स्थल भृकुटीमण्डप प्रवेशद्वारमा टाँगिएका प्रचारप्रसार सामग्री। तस्बिरः दिपेश श्रेष्ठ÷नागरिक

झन्डै ५७ वर्षअघि प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनमा लाग्दा शेरबहादुर देउवाले मुलुकको कार्यकारी प्रमुखसहित पार्टीको नेतृत्वमा पुग्छु भन्ने सायदै सोचेका थिए।

डडेलधुरामा मध्यमवर्गीय परिवारमा जन्मेका देउवाका लागि त्यतिबेला काठमाडौंमा आलिसान महल र सुखसयलको कुरा त निकै टाढाको कुरा थियो। ज्यानै माया मारेर प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनमा लागेका देउवा ५७ वर्षपछि आइपुग्दा पटकपटक मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) बने भने नेपाली कांग्रेसको मूल नेतृत्वमा पनि पुगे।

देउवा मात्र होइन, उनका समकक्षी नेताहरू रामचन्द्र पौडेलदेखि उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायतले पनि २०४६ सालको राजनीतिक परिवर्तनअघि पद प्रतिष्ठालाई केन्द्रमा राखेका थिएनन्।

उनीहरू मुलुकमा राजनीतिक परिवर्तन, स्वतन्त्रता, देश र जनताको समृद्धिको पक्षमा ज्यानको प्रवाह र परिवारको पनि मतलब नगरी आन्दोलनमा होमिएका थिए। आज त्यही पुस्ता मुलुकको केन्द्रमा छ

सुखसयलको जीवन बिताउने आकांक्षा नराखी राजनीतिमा लागेको त्यही पुस्ताका नेता अहिले आत्मकेन्द्रित र व्यक्तिगत स्वार्थमा रमाउन पुगेका छन्। त्यतिमात्र होइन,उनीहरूको व्यक्तिगत स्वार्थ र टकरावले मुलुकको आर्थिक समृद्धिको जनआकांक्षा पूरा हुन सकेको छैन। लामो संघर्षबाट प्राप्त प्रजातन्त्र नै संकटमा पर्ने अवस्था छ।

अब मुलुक र राजनीतिक दलको नेतृत्व बिस्तारै २०४६ सालको परिवर्तनपछि सक्रिय राजनीतिमा प्रवेश गरेका नेता तथा कार्यकर्ताको हातमा जाँदैछ। जुन पुस्ताले राजनीतिमा लाग्दा नै सांसद, मन्त्री, प्रधानमन्त्री र पार्टी सभापति बन्ने लक्ष्य राखेको छ।

त्यसपछिको पुस्ता राजनीतिलाई समाज परिवर्तन गर्दै जनताको सेवा गर्ने होइन, सहज सत्ता, शक्ति र पैसा आर्जन गर्ने पेसाका रूपमा सक्रिय छ। यसैकारण अहिले राजनीतिक दलहरूमा निष्ठा, त्याग, इमानजमान होइन, ‘मनी र मसल’ हावी हुन थालेको विश्लेषण गर्न थालिएको छ।

यस्तो बेलामा शुक्रबार सुरु हुन लागेको नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट आउने नेतृत्वले नेता कार्यकर्तालाई मात्र होइन, आमजनतालाई भरोसा गर्ने पार्टीका रूपमा आफूलाई रूपान्तरण गर्ला? कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डे कांग्रेसमात्र नभएर अन्य पार्टी पनि पुस्तान्तरणको चरणमा प्रवेश गरेको बताउँछन्।

तर संघर्षबाट आएका नेताहरूको अहिलेको गतिविधि हेर्दा संशय पैदा भएको उनी स्वीकार गर्छन्। नेतामात्र होइन,नेतृत्वको आचरण बदल्नुपर्ने बताउँदै पाण्डेले भने, ‘नेताको आचरण समाज र देशका लागि अनुकरणीय हुनुपर्छ,मितव्ययी हुनुपर्छ। तर अहिले यी कुरा गर्दा व्यंग्य गरेजस्तो हुन्छ। जसले गर्दा राजनीति र राजनीतिकर्मीप्रति जनताको भरोसा र विश्वास टुट्छ कि भन्ने अवस्था आएको छ।’

राजनीतिमा सुधार नभई मुलुकको सुधार नहुने बताउँदै पाण्डे त्यसका लागि नेतृत्वलाई नै सुधार गर्नुपर्ने तर्क गर्छन्। राजनीति केहीले गर्ने र केही समय गर्ने हुनुपर्ने भन्दै उनले थपे, ‘जीवनभरि त्यही गर्ने र सबै कुरा त्यसैबाट प्राप्त गर्ने पेसा राजनीतिलाई बनाइनु हुँदैन।’

कांग्रेसका अर्का केन्द्रीय सदस्य प्रदीप पौडेल राजनीतिलाई कसरी हुन्छ पद प्राप्ति गर्ने भर्‍याङ बनाउनेतिर सबैको ध्यान केन्द्रित हुन पुगेको बताउँछन्। सत्ता, शक्ति र पदका लागि गुट निर्माण गर्नेक्रम कांग्रेसमा बढेको बताउँदै पौडेल भन्छन्, ‘स्वार्थ जोडिएकाले पार्टी र समाजलाई केही दिन सक्दैनन्। हाम्रो पुस्ता पनि त्यसमा गम्भीर देखिएको छैन।’

अस्वस्थ प्रतिस्पर्धाले कांग्रेसमा नयाँ विचारको उत्खनन गर्न नसक्ने बताउँदै उनले भने, ‘विचारको बहस पनि नहुने, पदलाई मात्र केन्द्रमा राख्ने, व्यक्तिमात्र पदमा पुग्दा समाज र देशको आवश्यकता पूरा हुन सक्दैन।’

राणा शासन अन्त्यदेखि संविधान निर्माणसम्मको नेतृत्व लिएको कांग्रेसलाई अहिले पनि आमजनताले भरोसाको दृष्टिकोणले हेरिरहेको बताउँदै उनले थपे, ‘तर, हामीले जनताको भरोसाअनुसार काम गर्न सकेका छैनौं।’ तर कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जनताको सुखदुःखको पार्टी कांग्रेस नै भएको बताए।

 मुलुक र जनतालाई आर्थिक विकास र समुन्नतिको बाटोमा कांग्रेसले नै हिँडाएको दाबी गर्दै महतले भने, ‘अब चिनेका आधारमा होइन,कामका आधारमा नेता कार्यकर्तालाई जिम्मेवारी दिनेगरी कांग्रेसलाई अघि बढाउँछौं। महाधिवेशनबाट नेता तथा कार्यकर्तामा मात्र होइन जनतामा पनि उत्साह र भरोसा दिनेछौं।

उद्घाटन आज

उत्साह, एकता र रूपान्तरणको मूल नारासहित नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। पार्टीको नीति र नेतृत्व चयनका लागि महाधिवेशन सर्वोच्च निकाय हो। त्यसले पार्टीको नीति र नेता कार्यकर्तामा ऊर्जा भर्नुपर्छ।

तर शुक्रबारबाट हुने महाधिवेशन पार्टीको वैधता जोगाउन नेतृत्व चयनमा मात्र सीमित हुनेछ। राजधानीको भृकुटीमण्डपमा दिउँसो १ बजे सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। त्यसको सम्पूर्ण तयारी पूरा भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर उद्घाटन सत्रमा शक्ति प्रदर्शन नगर्ने निर्णय पार्टीले गरेको छ। पार्टी विधानको नयाँ व्यवस्थाअनुसार वडा हुँदै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट चयन भएका महाधिवेशन प्रतिनिधि काठमाडौं आइसकेका छन्।

भ्रातृ तथा शुभेच्छुक संगठन, विदेशस्थित जनसम्पर्क समितिसहित झण्डै ४७ सय महाधिवेशन प्रतिनिधि महाधिवेशमा सहभागी हुनेछन्। उनीहरूलाई खाने र बस्ने व्यवस्था पार्टीले मिलाएको छ।

सभापतिमा शेरबहादुर देउवा, शशांक कोइराला, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइराला, कल्याण गुरुङसहितले दाबी गर्दै आएका छन्। विधानको नयाँ व्यवस्थाअनुसार महाधिवेशनबाट दुईदुई उपसभापति र महामन्त्री, समावेशी आठ सहमहामन्त्रीसहित १ सय ३४ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित गर्ने विधानको नयाँ व्यवस्थाअनुसार हुन लागेको यो महाधिवेशनपछि आउने नयाँ नेतृत्वले ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नसक्ने छ। नयाँ नेतृत्वका लागि शनिबार मनोनयन दर्ता र सोमबार निर्वाचन तय गरिएको छ। 

राष्ट्रिय सभागृहमा हुने निर्वाचनमा एकजना महाधिवेशन प्रतिनिधिले २९ थरी मतपत्रमा मतदान गर्नुपर्नेछ। सभापति, पदाधिकारी, प्रदेश र समावेशी क्लस्टरअनुसार छुट्टाछुट्टै मतपत्रमा मत दिन एकजना महाधिवेशन प्रतिनिधिलाई झण्डै १ घण्टा लाग्नेछ। विधानमा केन्द्रीय समितिको आकार १ सय ६७ सदस्यीय हुने व्यवस्था छ। जसमध्ये ३३ जना केन्द्रीय सदस्य महाधिवेशनबाट चुनिने सभापतिले मनोनीत गर्नेछन्।

बाँकी पदाधिकारीसहित महाधिवेशनबाट निर्वाचित हुनेछन्। १ सभापति, २ उपसभापति, २ महामन्त्री, समावेशी क्लस्टरका आधारमा ८ जना सहमहामन्त्री निर्वाचित हुनेछन्। खुलातर्फ ३५ जना केन्द्रीय सदस्य, खुला महिलातर्फ ९ जना केन्द्रीय सदस्य, प्रदेशगत रूपमा कम्तीमा १ महिलासहित ३ जनाका दरले २१ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

प्रदेशगत रूपमा कम्तीमा १ महिलासहित ३ जनाका दरले २१ जना केन्द्रीय सदस्य छन्। ४ महिलासहित ९ दलित, ७ महिलासहित १५ आदिवासी जनजाति, ६ महिलासहित १३ खसआर्य, ४ महिलासहित ९ मधेसी, २ महिलासहित ४ थारु, १ महिलासहित ३ मुस्लिम र पिछडिएको क्षेत्रबाट १ गरी ५४ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

अल्पसंख्यक र अपांगता मध्येबाट १–१ जना केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन्। केन्द्रीय नेतृत्वमा पुग्न पाँच सयजना भन्दा बढीले आकांक्षा राखेका छन्।

पार्टीलाई पहिलो बनाउन लाग्नुहोस्ः देउवा

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनेगरी लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। 

कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतद्वारा लिखित ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ नामक पुस्तक बिहीबार विमोचन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले भने, ‘नेपाली कांग्रेस र प्रजातान्त्रिक भविष्यका लागि यो १४ औं महाधिवेशन अत्यन्तै महत्वपूर्ण छ। पार्टीलाई एकताबद्ध र निर्वाचनमा पहिलो बनाउनेगरी नेता कार्यकर्ता सबै लाग्नुहोला।

प्रकाशित: २४ मंसिर २०७८ ००:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App