७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

सरकारकै कारण बजारमा तरलता अभाव रहेको अर्थमन्त्री शर्माको स्वीकारोक्ती

अर्थमन्त्री जनार्दन शर्माले सरकारको पूँजीगत बजेट खर्च हुन नसक्दा बजारमा तरलता अभाव भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा अन्तर्गत अर्थसमितिको बैठकमा समग्र अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी दिँदै अर्थमन्त्री शर्माले सरकारले बनाएको योजना अनुसार पूँजीगत खर्च गर्न नसक्दा तरलता अभाव भएको बताएका हुन्।

अर्थमन्त्री शर्माले तरलता व्यस्थापनको लागि निरन्तर रुपमा राष्ट्र बैंकसँग छलफल भइरहेको जानकारी दिए। मन्त्री शर्माले आफू अर्थमन्त्री भएपछि पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका प्रत्येक महिनामा १०/१० प्रतिशतका दरले पूँजीगत खर्च गर्ने योजना बनाएको तर, योजना अनुसार खर्च गर्न नसकेको स्वीकार गरे। उनले राष्ट्र बैंकसँग अहिले १६ अर्ब तरलता रहेको भन्दै ९० अर्ब रुपैयाँसम्म बैंकहरुलाई दिन सक्ने राष्ट्र बैंकको क्षमता रहेको बताए।

अहिले सरकारले वैदेशिक ऋण लिन नसक्दा पनि तरलता बन्दै गएको कुरा आएको भन्दै अर्थमन्त्री शर्माले सरकारले आवश्यक परे मात्रै ऋण लिने बताए। सरकारले अहिलेसम्म ४ खर्ब १६ अर्ब रुपैयाँ अर्थात् गत आवको तुलनामा ४० प्रतिशतले राजश्व उठेकाले खासै पैसाको अभाव नभएको बताए। चालू आर्थिक वर्षमा मात्रै २३ खर्ब ८६ अर्ब राष्ट्र बैंकले तरलता प्रवाह गरेको भए पनि समस्या समाधान भइ नसकेको उल्लेख गरे।

अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल गर्न सकिने बताए। उनले विभिन्न समस्याका कारण आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल रहेको भने पनि त्यस्तो समस्या नहुने स्पष्ट पारे। अर्थमन्त्री शर्माले ‘क्लाइमेट चेञ्ज’ ले धेरै चुनौति दिए पनि चुनौतिका बावजुद आर्थिक वृद्धिदरको लक्ष्य भेटिने दाबी गरे। अर्थमन्त्री शर्माले विदेशबाट अवैधरुपमा भित्रिने सुन नियन्त्रणको लागि अर्थमन्त्रालयले विशेष ‘टास्क फोर्स’ बनाएर विमानस्थल भन्सारमा राखेको बताए।  

त्यस्तै, अर्थसचिव मधुकुमार मरासीनीले सरकार पूँजिगत खर्च बढाउनको लागि निरन्तर विकास बजेट खर्च गर्न मन्त्रालयहरुसँग छलफल भइरहेको बताए। सचिव मरासिनीले चालू आर्थिक वर्षको पूँजीगत खर्च पछिल्लो पटक राजनीतिक परिर्वतन, अध्यादेश बजेट, सरकार परिर्वतन, नयाँ सरकारको प्रतिस्थापन बजेटका कारण कम भएको बताए।

प्रकाशित: २३ मंसिर २०७८ १२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App