१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेश सभापतिमा शर्मा, विभागीय मन्त्री पराजित

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कांग्रेस गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट संस्थापन इतरका शुक्रराज शर्माको प्यानलले एउटा उपसभापति बाहेक अन्य पदाधिकारीमा क्लिनस्वीप गरेको छ। संस्थापन पक्षका उपसभापतिमा स्याङजाका मेखलाल श्रेष्ठ बाहेक अन्य पदाधिकारीमा संस्थापन पक्षका उम्मेदवार विजयी भए।  

गण्डकी प्रदेश नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको पकड क्षेत्र हो। यद्यपी जिल्लास्तरीय अधिवेशनबाट भने अधिकांश सभापतिमा भने देउवा पक्षले बाजी मारेका थिए। प्रतिनिधिमा भने पौडेलकै पकड रहेको थियो। शनिबार भएको मतदानमा संस्थापन इतरका शुक्रराज शर्मा सभापतिमा निर्वाचित हुदैं उमेरको उत्तराद्र्धमा गण्डकी प्रदेशको जिम्मेवारी सम्हालेका छन्। मतपरिणाम अनुसार उनले संस्थापन पक्षका अर्जुन जोशीलाई पराजित गरे। शर्माले ६१२ मत पाउँदा जोशीले ५२८ मत प्राप्त गरेका थिए।  

गण्डकी प्रदेशका दुई विभागिय मन्त्री मध्ये शिक्षामन्त्री मेखलाल श्रेष्ठ उपसभापतिमा विजयी हुँदा अर्का भौतिक योजना तथा पूर्वाधार मन्त्री कुमार खड्का(कास्की) भने महामन्त्रीमा पराजित हुन पुगे। उपसभापतिमा शर्मा प्यानलबाट चुनावी मैदानमा देखिएका कल्पना तिवारी(स्याङजा)ले ६२४ मत ल्याउँदै विजयी हुदाँ मेखलाल श्रेष्ठ पनि उपसभापतिमै ५५६ मत प्राप्त गरेर विजयी भएका हुन्। उपसभापतिमा विजेता दुवै स्याङजाका हुन्। महामन्त्रीमा शर्मा प्यानलका किरणबावु श्रेष्ठ(गोरखा) ५७३ मत र विष्णुप्रसाद लामिछाने (नवलपुर– महामन्त्री)ले  ५६७ मत ल्याउँदै विजयी भएका थिए। जोशी प्यानलका ईश्वर पाण्डे(गोरखा–महामन्त्री), कुमार खड्का(कास्की–महामन्त्री)ले क्रमश ४७३ र ५५६ मत प्राप्त गरेका थिए।  

सह महामन्त्रीमा संस्थापन इतरका रामचन्द्र जोशी(पर्वत–सहमहामन्त्री), र रमेशकुमार पाण्डे(लमजुङ–सह महामन्त्री)ले क्रमश ५६९ र ६१८ मत ल्याउँदै जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरे।  जोशी प्यानलका राजनराज पन्तले ४६१ मत र झुलबहादुर आलेले ४८८ मत प्राप्त गरेका थिए। सह महमन्त्री महिला तर्फ भने कोपिला रानाभाट(कास्की–सह महामन्त्री)ले ५५२ मत ल्याउँदै विजयी भएकी हुन्। प्रदेशको अधिवेशनमा ११४६ मत खसेको थियो। ११६५ प्रतिनिधि रहेपनि १९ प्रतिनिधि मतदानमा संलग्न भएनन्। सभापति, उपसभापति, महामन्त्री, सह महामन्त्रीसहित विभिन्न ६८ पदमा १५० जनाको उम्मेदवारी परेको थियो।  

प्रदेश कार्यसमितिमा भुगोल अन्तर्गत मनाङबाट पुरुष तर्फ विनोद गुरुङ र महिला तर्फ चिउडे लामा निर्विरोध भईसकेका छन्। विधान अनुसार प्रदेश कार्यसमितिमा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लाबाट दुई सदस्य रहने व्यवस्था छ। सोही विधान अनुसार मनाङबाट गुरुङ र लामा निर्विरोध भएका हुन्। त्यसैगरी मुस्ताङबाट भुगोल अन्तर्गत पुष्पा भट्टचन र सुवर्णकुमार विष्ट र्निविरोध भएका हुन्। तनहुँबाट मायादेवी राना आले र लक्ष्मीप्रसाद आचार्य चयन भएका छन्। भूगोल तर्फबाट उम्मेदवारी दिएकी पर्वतबाट मिनाकुमारी केसी निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ।  

प्रकाशित: १९ मंसिर २०७८ ०७:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App