४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विगतको जस्तो गतिहीन र निस्क्रिय बनाउने छुट हामीलाई छैनः राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीलाई विगतको जस्तो गतिहीन र निस्क्रिय बनाउने छुट आफूलाई नरहेको बताएका छन्। आइतबार पार्टीको अध्यक्षमा विजयी भएपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले आफ्नो कार्यकालमा पार्टीलाई फरक तरिकाबाट नेतृत्व गर्ने दाबी गरेका छन्।  

उनले पार्टीलाई सही दिशा दिन र नेता, कार्यकर्ताको शिर झुक्न नदिने बताउँदै अरु नेतृत्व जस्तै रहेछ भन्ने मौका नदिने बताए। नवनिर्वाचित अध्यक्ष लिङदेनले पार्टीको महाधिवेशन आन्तरिक चुनाव भएकाले विजय जुलुस निकाल्न, माला र खादा लगाइदिन र मुर्दावाद र जिन्दावादको नारा लगाउन आवश्यक नरहेको बताए।

‘आज राप्रपाका तमाम देशभरका महाधिवेशन प्रतिनिधि साथीहरुलाई, नेता, कार्यकर्ता साथीहरुलाई पनि चन्न चाहन्छु, यो पनि उस्तै रहेछ भन्ने मौका म दिन्न। तपाईहरुको शिर झुक्ने काम गर्दिन।’ उनले भने, ‘यो आन्तरिक चुनाव हो, कुनै पनि प्रकारको हामीले विजय जुलुस निकाल्नु पर्दैन। कुनै जिन्दवाद, मुर्दावादको नारा लगाउनु पर्दैन। सकियो आजबाट । कसैले फूलमाला लिएर पनि आउनु पर्दैन।’

बाध्यकारी कदमको रुपमा नेतृत्व परिवर्तन गर्नुपरेको भन्दै अब राप्रपामा गुटहरु नहुने समेत दाबी गरे। नवनिर्वाचित अध्यक्ष लिङदेनले अब पार्टीका नेता, कार्यकर्ताले कोही एक व्यक्तिको नामबाट नभइ राप्रपाको कार्यकर्ता भएर भोट माग्न जान पाउने बताए।

‘हामीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हिजोको दिनको जस्तै गतिहीन र निस्क्रिय, बनाएर लैजाने छुट हामीलाई छैन। त्यसकारण राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मात्र होइन, त्यो भन्दा बढी यसको मुद्दालाई समाप्त हुन नदिनको लागि हामीले बाध्यकारी कदमको रुपमा नेतृत्व परिवर्तनलाई लिएका हौँ।’ लिङदेनले भने।

नवनिर्वाचित अध्यक्ष लिङदेनले नेपालको राजनीतिमा स्थापित नेतृत्वसँग प्रतिष्पर्धा गरेर राप्रपाको नेतृत्व परिवर्तन गर्नु सानो कुरा नभएको बताए। उनले नेतृत्व परिवर्तन नगरी देश विकास हुँदैन भन्ने कुरामा मात्रै सिमित रहेका देशका ठूला राजनीतिक पार्टी नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेका पुस्तान्तरणका कुरा गर्नेहरुलाई अब राप्रपाले नेतृत्व गर्ने बताए।  

आईतबार बिहान सम्पन्न मतपरिणाममा पार्टीका निःवर्तमान अध्यक्ष कमल थापालाई २२७ मतान्तरले पराजित गर्दै लिङदेन पार्टीको अध्यक्षमा निर्वाचित भएका थिए। निःवर्तमान अध्यक्ष थापाले १ हजार ६ सय १७ र लिङदेनले १ हजार ८ सय ४४ मत प्राप्त गरेका थिए।

प्रकाशित: १९ मंसिर २०७८ ०७:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App