१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश: स्थायी राजधानीमा सर्‍याे स्वास्थ्य मन्त्रालय

लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय प्रदेशको अस्थायी मुकामबाट स्थायी राजधानीमा सारिएको छ। अस्थायी मुकाम बुटवलबाट देउखुरी सिसहनीयाँस्थित एक सरकारी भवनमा मन्त्रालय सारिएको स्वास्थ्यमन्त्री ईन्द्रजीत चौधरीले जानकारी दिए।

उनका अनुसार राप्ती गाउँपालिकाले मन्त्रालयको प्रयोजनका लागि सरकारी भवन उपलब्ध गराएको हो। ‘राप्ती गाउँपालिकाले भवन उपलब्ध गराएपछि हामीहरुले त्यही भवनमा मन्त्रालय सार्ने निर्णय लियौँ,’ मन्त्री चौधरीले भने, ‘उक्त भवन मन्त्रालयको प्रयोजनका लागि उपयुक्त छ।’ तत्कालीन वडा कार्यालय रहेको उक्त भवनमा १२ वटा कोठा रहेका छन्।

भवन उपलब्ध भएपछि उक्त भवनमा मन्त्रालयको बोर्ड टाँगिएको छ। भवनमा रंग रोगनसंगै भौतिक संरचना सुधार गरेर मन्त्रालयको काम सुरुवात गरिने उनले जानकारी दिए। ‘भवनमा रंगरोगनसंगै केही मर्मत गर्नुपर्ने पनि देखिएको छ, फलतः हामीले अहिले बोर्ड मात्रै टाँगेका छौँ,’ मन्त्री चौधरीले भने, ‘यो काम सकिएपछि हामीहरुले देउखुरीबाटै मन्त्रालयको सबै काम गर्ने छौँ।’ उनका अनुसार भवन मर्मतका लागि १५ दिन जति लाग्ने छ।

यो काम पूरा भएपछि सबै कर्मचारीहरु मन्त्रालयमै हाजिर हुने छन्। तर बुटवलमा सम्पर्क कार्यालय भने रहने छ। ‘मन्त्रालय रहने भौतिक पूर्वाधार सुधारको काम पूरा भयो भने सबै कर्मचारीहरु मन्त्रालयमै हाजिर हुनुहुनेछ,’ उनले भने, ‘बुटवलमा सम्पर्क कार्यालय मात्रै रहने र त्यहाँ दुईजना जति कर्मचारीहरु मात्रै व्यवस्थापन गरिनेछ।’ अस्थायी मुकाम बुटवलमा रहेको यो मन्त्रालय अहिले भाडामा छ।

यसअघि स्थायी राजधानीको लालमटियामा शहरी तथा ग्रामीण बिकास मन्त्रालय पनि सारिएको छ। तर यो मन्त्रालयको काम भने बुटवलबाटै हुँदै आएको छ। राप्ती प्राविधिक शिक्षालयको भवनमा यो मन्त्रालयको बोर्ड मात्रै टाँगिएको छ। यो मन्त्रालयमा डिल्ली चौधरी मन्त्री नियुक्त भएपछि उनले स्थायी राजधानीमा रहेकै मन्त्रालयमा आएर पदभार ग्रहण गरेका थिए। तर कामकाजमा असहज भएको भन्दै यो मन्त्रायको कामकाज अस्थायी मुकाम बुटवलबाटै गर्न थालिएको हो।

स्वास्थ्य मन्त्रालयको स्थानान्तरणसंगै प्रदेशसभा सञ्चालनको अन्तिम तयारी पनि भैरहेको छ। हाल निर्माणाधीन प्रदेशसभा भवनको काम आगामी माघ महिनासम्म सम्पन्न भैसक्ने भनिएको छ। यो भवन निर्माण भए लगत्तै प्रदेशसभा पनि स्थायी राजधानीमै सञ्चालन हुने मन्त्री चौधरीले बताए। ‘प्रदेशसभा भवन निर्माणको काम आगामी माघ महिनासम्म पूरा हुनेछ,’ मन्त्री चौधरीले भने, ‘त्यसपछि प्रदेशसभा सञ्चालन पनि स्थायी राधजानीमै सुरु हुनेछ।’

प्रदेशसभा भवन सञ्चालन भएपछि सबै मन्त्रालयसंगै अन्य सरकारी निकायहरु पनि स्थायी राजधानीमै सर्ने मन्त्री चौधरीले जानकारी दिए।

प्रकाशित: १७ मंसिर २०७८ ०९:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App