१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेशः पौडेलको गढमा देउवा हावी

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका उम्मेद्वारहरु शुक्रराज शर्मा (ढाकाटोपी) र अर्जुन जोशी

गण्डकी प्रदेश कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको गढ मानिन्छ। पौडेलको मात्र होईन महामन्त्री शशांक कोइरालाको पनि उत्तिकै प्रभाव भएको प्रदेश गण्डकी हो। तर, पछिल्लो क्रममा सभापति शेरबहादुर देउवा समूहको प्रभाव गण्डकीमा बढ्दो क्रममा रहेको छ। 

हालै सम्पन्न जिल्ला अधिवेशनलाई हेर्ने हो भने पौडेल समूहको रजगज भनिएको कास्की, तनहुँ, लमजुङ, पर्वत लगायतका जिल्लामा देउवा समूहका उम्मेद्वारहरु सभापतिमा बिजयी भएका छन्। त्यसैले गण्डकी प्रदेशमा देउवा समूहलाई पनि कमजोर मान्न सकिन्न भन्ने पक्षधरको मत बलियो रहेको छ।

कांग्रेसको गण्डकी प्रदेश सभापतिमा देउवा र पौडेल समूहले प्यानल बनाएर चुनाव लड्ने तयारी गरेका छन्। देउवा समूहबाट पर्वतका अर्जुन जोशी र पौडेल समूहबाट कास्कीका शुक्रराज शर्मा सभापतिका उम्मेद्वार हुन् । जोशी देउवा समूहका हुन् भने शुक्रराज पौडेल समूहका हुन्।

जोशीले आफ्नो प्यानलबाट गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री कुमार खड्का र म्याग्दीका नेत्र महतलाई उपसभापति र सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलाई महामन्त्रीको उम्मेद्वार बनाएका छन्। शुक्रराजले भने कास्कीकै कृष्ण केसीलाई महामन्त्रीको उम्मेद्वार बनाएका छन्।

शुक्रराज कास्कीका पुराना नेता हुन्। २०२६ सालमा विपीसँग भेटेपछि कांग्रेस बनेका उनी ३ कार्यकाल गरेर १७ वर्ष कास्कीको सभापति बनेर पार्टी नेतृत्व गरिसकेका छन्। कास्कीमा एकछत्र राज गरेका उनी आफूबिरुद्ध लाग्नेलाई निषेधको राजनीति गर्छन् भन्ने आरोप छ। सोहि कारण प्रदेश सभापतिका लागि उनी उठ्ने जान्दाजान्दै पनि कास्कीकै देवराज चालिसे र यज्ञबहादुर थापा, तनहुँका रघुनाथ पौडेल र नवलपुरका महेन्द्रध्वज जिसीले सभापतिका लागि आकांक्षा देखाएका थिए। बरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला लगायतका नेताहरुले दुईदिन लगाएर अन्तिममा शुक्रराजलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो।

महामन्त्री शशांक कोइरालाले कास्कीका यज्ञबहादुर र पौडेलले तनहुँका रघुनाथलाई सभापतिको उम्मेद्वार बनाउने वचन पनि दिएका थिए। तर, शुक्रराजले आफ्नो राजनीतिक जीवन उत्तराद्र्धतिर रहेको र यसपछि उम्मेद्वार नबन्ने भन्दै अन्तिम पटक भएकाले जसरी पनि चुनाव लड्ने हठ प्रस्तुत गरेपछि उनलाई अन्तिम पटक भन्दै प्रदेश सभापतिको साझा उम्मेद्वार बनाएको श्रोत बताउँछ।

जोशी भने देउवा समूहका साझा उम्मेद्वार हुन्। उनीपनि पर्वतमा ३ पटक जिल्ला सभापति भएका छन्। पछिल्लो क्रममा डाइनामिक पर्सनालिटी भएको प्रभावशाली नेताका रुपमा उनले आफूलाई उभ्याएका छन्। तर उनलाई पौडेल समूहको गढमा जित निकाल्न फलामको च्यूरा चपाउनु सरह हुनेछ।

गण्डकी प्रदेशमा कुल ११ सय प्रतिनिधि रहेका छन। जसमध्ये पौडेल समूहका करिब ५ सय ५० तथा देउवा समूहका ४ सय ५० प्रतिनिधि रहेको अनुमान गरिएको छ। झण्डै एक सय जना भने न्यूट्रल मत रहेको बताइन्छ। जिल्ला सभापतिमा पछिल्लो समय देउवा पक्ष हावी भएपनि प्रतिनिधिका हिसाबले पौडेल अगाडि रहेकोले पौडेल पक्षधरको सम्भावना रहेको नेताहरुको अनुमान छ।

गण्डकी प्रदेशको जिल्ला अधिवेशनमा देउवा समूहको बर्चस्व छ। पौडेल समूहको दबदबा रहेको गण्डकी प्रदेशका ११ जिल्ला मध्ये ७ जिल्लाका सभापति जोशीको पक्षमा उभिएका छन् भने २ जिल्लाका सभापति शुक्रराजको पक्षमा उभिएका छन्। बागलुङ जिल्ला सभापति सिटौला पक्ष भएकाले उनी खुल्न बाँकी छ भने नवलपुरमा चुनाव हुन बाँकी छ। म्याग्दी, मनाङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा र लमजुङमा देउवा पक्षका सभापतिमा बिजयी भएका छन्। कास्कीमा देउवा समूहका किशोरदत्त बराल, तनहुँमा जितप्रकाश आले, पर्वतमा युवराज श्रेष्ठ, स्याङ्जामा राजु थापा, लमजुङमा डा.टकबहादुर गुरुङ, मनाङमा शंकर गुरुङ र म्याग्दीमा खमबहादुर गर्बुजा देउवा समुहका हुन्। उनीहरु सबै अर्जुन जोशीको पक्षमा उभिएका छन्।

पौडेल पक्षले गोरखा र मुस्ताङमा मात्र जित हात पारेको छ। कोइराला समूहको गढ मानिने नवलपुरमा भने चुनाव हुन बाँकी छ। जिल्ला सभापतिहरु मध्ये गोरखाका नन्दप्रसाद न्यौपाने र मुस्ताङका रोमी गौचन शुक्रराजको पक्षमा खुलेका छन्। बागलुङ भने सिटौला पक्षले जितेको छ। सिटौला पक्षका जित शेरचनले जिल्ला सभापतिमा जितेकाले उनले कसलाई सहयोग गर्छन् भन्ने खुलेको छैन। सिटौला पक्ष देउवा निकटमै रहेकाले शेरचनको समर्थनपनि जोशीलाई हुने सम्भावना रहेको श्रोत बताउँछ।

प्रदेशका अधिकांश सभापति जोशीको पक्षमा उभिएपनि प्रतिनिधि भने पौडेल पक्षका बढी छन्। पौडेल पक्षका उम्मेद्वार बढी हुँदा अस्वस्थ प्रतिष्पर्धा भएको र घात–अन्र्तघात चलेकाले सभापतिमा पौडेल समूह बिजयी नभएपनि प्रतिनिधिमा भने पौडेल समूहकै बहुमत रहेको श्रोत बताउँछ।

शुक्रराजको जित हारमा यसअघी सभापतिमा आकांक्षा देखाएका चालिसे, थापा, पौडेल र जिसीको भूमिका रहन्छ। कांग्रेस नेता गंगाधर पराजुली भन्छन्, ‘सबैले दिल खोलेर सहयोग गरे भने शुक्रराजले जित्छन्, होइन उम्मेद्वार नबनाएको रिस, कुण्ठा वा प्रतिशोध राखेमा त्यसको असर परिणाममा देखिन्छ।’ कांग्रेसमा घात÷अन्र्तघातको श्रृंखला लामो भएको बताउँदै उनी थप्छन्,‘घात÷अन्र्तघात भएन भने शुक्रराजको जित सुनिश्चित छ, भयो भने त्यसको फाईदा जोशीलाई हुन्छ।’ अर्का एक नेता भने कास्कीका प्रतिनिधिको भोटले जित हारको टुंगो लगाउने बताउँछन्। भन्छन्,‘कास्कीका प्रतिनिधिले शुक्रराजलाई स्थानिय भनेर एकछापे हाले भने जित निश्चित छ, होइन भने नतिजा उल्टिन्छ।’

जोशीलाई भने कास्की र तनहुँको मत तान्न कठीन हुनेछ। यी दुई जिल्लाको मत तान्न सके जोशी जित नजिक पुग्नेछन। उनलाई कास्कीका प्रभावशाली नेताहरु मध्येका गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री कुमार खड्का, न्याय, कानून, सूचना तथा सञ्चार र प्रदेश मामिला मन्त्री विन्दुकुमार थापा। स्याङ्जाका नेता तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको पनि समर्थन रहेकाले केहि सहज हुने अनुमान गरिएको छ। उसो त जोशीलाई कास्की कांग्रेस सभापति किशोरदत्त बरालको पनि समर्थन रहेको छ। पौडेल समूहको गढ मानिएको कास्कीमा देउवा समूहका बरालले सभापतिमा बाजी मारेका थिए।

प्रकाशित: १७ मंसिर २०७८ ०८:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App