५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

देश चलाउन, बनाउन र जोगाउन काँग्रेसले मात्रै सक्छः गृहमन्त्री खाँण

गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले नेपाल चलाउन, बनाउन र जोगाउन नेपाली काँग्रेसले मात्रै सक्ने बताएका छन्। काँग्रेसको लुम्बिनी प्रदेश अधिवेशनको बिहीबार भैरहवामा उद्घाटन गर्दै गृहमन्त्री खाँणले नेपाली जनताको विश्वास र भरोसालाई कायम राख्दै मुलुकको समृद्धिका लागि पार्टीलाई अझ बलियो बनाउनु पर्ने बताए।

‘नेपाली जनताको विश्वास र भरोसालाई डगमगाउन नदिन काँग्रेसले आफनो दायित्व जिम्मेबारीमा सधैं खरो उत्रनु छ। पार्टीलाइ बलियो र सुदृढा बनाउन अधिवेशनमार्फत् महत्वपूर्ण भुमिका खेल्नु छ’ नेता खाँणले भने। आपसी सहमति र सहकार्यबाटै पार्टीलाई बलियो बनाउन सकिने भन्दै उनले प्रदेश नेतृत्व पनि सहमतिबाटै चयन गर्न आफू प्रयत्नशील रहेको बताए।

लोकतान्त्रिक मूल्य र मान्यताविरुद्ध गएर काँगेसले कसैसँग घुँडा नटेकेको र अरुलाई पनि घुँडा नटेकाउने उनको भनाइ छ।

लुम्बिनी प्रदेशका लागि पार्टीबाट निर्वाचन संयोजक तोकिएका खाँणले संस्थापन पक्षबाट प्रदेश सभापतिमा आकाँक्षी नेता भरत शाहलाई सर्वसम्मत बनाउन आग्रह समेत गरे।

सार्वजनिक लेखा समिति सभापतिसमेत रहेका नेता शाह रुपन्देहीका हुन्। संस्थापन पक्षबाट शाह र संस्थापन इतर समूहबाट रुकुमका पूर्व जिल्ला सभापति अमर पुनले आ–आफ्नो प्यानल बनाएर चुनावी प्रचारमा लागिसकेका छन्।

सबैपक्षको चित्त बुझाएर सर्वसम्मत प्रदेश नेतृत्व चयन गर्ने भन्दै खाँणले संस्थापन इतर समुहका नेताहरुलाइ सहमतिमा आउन आह्वान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले पुराना पुस्ताबाट पार्टी नचल्ने बताए। अब पुराना पुस्ताबाट पार्टी नचल्ने भन्दै उनले चालू महाधिवेशनले नयाँ सन्देश दिनुपर्ने बताएका हुन्।

बिहीबारदेखि शुरु प्रदेश महाअधिवेशन भैरहवाको महेन्द्र सभागृहमा चल्ने छ। शुक्रबार बिहान ८ बजेदेखि उम्मेदवारको मनोनयनसँगै निर्वाचन प्रक्रिया सुरु हुनेछ।

लुम्बिनी प्रदेशमा महाधिवेशन र प्रदेश प्रतिनिधि गरी १ हजार ५८५ मतदाता छन्। अधिवेशनका लागि ३ हजार बढी प्रतिनिधिमूलक सहभागीता रहने काँग्रेसले जनाएको छ।

अधिवेशनले प्रदेश सभापतिसहित उपसभापति २, महामन्त्री २, सहमहामन्त्रीमा महिला एकसहित ३ जना चुन्ने छ। १२ जिल्लाबाट एक महिलासहित २४ जना, खुलामा ५ महिलासहित १७, खस आर्य महिला ४ जनासहित ८ जना, आदिवासी जनजातीमा महिला २ सहित ५ जना, मधेशी तर्फ २ महिलासहित ४ जना, दलितमा २ महिलासहित ४ जना, थारु २ महिलासहित ४जना, मुस्लिम महिला एकसहित २ जना, अल्पसंख्यक र अपाङ्गबाट एक÷एक गरी ७७ जनाको प्रदेश कमिटी चुनिने छ।

प्रकाशित: १६ मंसिर २०७८ १४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App