६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को मतदान स्थगित

बाँके क्षेत्र नम्बर २ को मतदान स्थल भेरी प्राविधिक शिक्षालय। तस्बिरः अर्जुन/नागरिक

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा हुँदै गरेको मतदान एक्कासी स्थगित भएको छ। निर्वाचन कर्मचारीले मतदान प्रक्रिया सुरु गर्दैगर्दा दुई पक्षका उम्मेदवारबीच सहमति हुन नसकेपछि मतदान कार्य एक्कासी रोकिएको थियो।

मतदाताले इच्छाएको व्यक्तिलाई मतदान गर्न दिने विषयमा सहमति हुन नसकेपछि मतदान कार्य अगाडि बढ्नै नसकेर स्थगित भएको हो। दिनभर सहमतिको प्रयास गरेपनि दुबै पक्षले मुचुल्कामा हस्ताक्षर गर्न नमानेपछि बिहीबारको मतदान स्थगित नै गर्नु परेको मतदान अधिकृत गोपाल गिरीले जानकारी दिए।

मतदाताले इच्छ्याएको व्यक्तिको तर्फबाट एक जनाले ५ जनासम्मको मतदान गर्न पाउनुपर्ने अडान एउटा पक्षले लिएको थियो भने अर्को पक्षले त्यसलाई नमान्दा सहमति हुन सकेन।

‘हामीले मतदान प्रक्रिया लगभग सुरु गरिसकेका थियौं, दुबै पक्षलाई मुचुल्कामा हस्ताक्षर गराउन मात्र बाँकी थियो, इच्छ्याएको व्यक्तिले मतदान गर्ने विषयमा दुबै पक्षबीच सहमति नभएपछि समय घर्कियो र आजलाई मतदान स्थगित गर्यौं,’ गिरीले भने। बाँके क्षेत्र नम्बर २ को मतदान केन्द्र स्थानीय भेरी प्राविधिक शिक्षालयमा राखिएको थियो।  

स्थगित भएको मतदान जिल्ला निर्वाचन परिचालन समिति बाँकेले अर्को तालिका दिएपछि मात्र शुक्रबार बिहान सुरु गरिने मतदान अधिकृत गिरीले बताए।

‘जिल्ला निर्वाचन परिचालन समितिको निर्देशन अनुसार मतदान स्थगित गरेका हौं, निर्वाचन परिचालन समितिले अर्को तालिका दिएपछि हामी शुक्रबार मतदान गराउँछौं,’ उनले भने। क्षेत्र नम्बर २ को सभापति पदमा रमेश गुप्ता र विरेन्द्र शाह प्रतिस्पर्धामा छन्। दुबै संस्थापन(देउवा) पक्षका हुन्।

शाहलाई संस्थापन इतर र गुप्तालाई संस्थापन पक्षले साथ दिएको छ। बाँकेको क्षेत्र नम्बर १ र ३ मा भने बिहीबार मतदान गराइएको छ।

प्रकाशित: ९ मंसिर २०७८ ११:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App